राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधि सभाको मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनलाई खोजे, भेटेनन्।
बजेटमाथिको छलफलमा भाग लिएर बोल्न रोस्टम पुगेका राप्रपा संसदीय दल नेतासमेत रहेका लिङ्देनले अर्थमन्त्री पुनलाई बैठकमा खोजेका हुन्।
तर अर्थमन्त्री पुन भने राष्ट्रिय सभा बैठकमा गएका थिए।
बजेटमाथि छलफल भएको र अर्थमन्त्रीलाई आफ्ना कुरा सुनाउनुपर्ने लिङ्देनको भनाइ थियो। उपसभामुख इन्दिरा राना मगरले बैठक सञ्चालन गरेकी थिइन्।
उपसभामुख रानाले लिङ्देनलाई कुरा राख्दै गर्न र अर्थमन्त्री पुनलाई बैठकमा आउन खबर पठाइएको जानकारी गराएकी थिइन्। तर लिङ्देन मानेनन्, अर्थमन्त्री वा सरकारका कुनै मन्त्रीले जिम्मेवारी लिने भए आफू बोल्ने अडान राख्दै रोस्टममै उभिइरहे।
यसबीचमा नेकपा (एमाले) का सांसद दयालबहादुर शाहीले बोल्न समय माग गरे। उनले सभामुखबाट बोल्न समय पाएपछि सांसदहरूले आफ्ना कुरा राख्नुपर्नेमा सभामुखसँग दोहोरी खेलेर बस्ने गरिएको बताए।
यसपछि राप्रपाका सांसदहरू बसेको ठाउँबाट उठेका थिए। बजेटमाथि छलफल हुँदा अर्थमन्त्री बैठकमा हुनुपर्ने भए पनि नभएकोमा आवाज उठाउँदा 'दोहोरी खेलेको' एमाले सांसदले बताएपछि राप्रपाले आपत्ति जनाएको थियो।
यसबीचमा सभामुख देवराज घिमिरे बैठकमा आए। सभामुख घिमिरेले राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई बोल्न समय दिए।
‘राष्ट्रिय पार्टीको संसदीय दल नेताले अर्थमन्त्रीलाई खोजी गर्नुभएको छ, अर्थमन्त्री खोजेका कुरालाई दोहोरी हुन्छ?,’ उनले भने, ‘साथीहरूले नियमावली पढेर आउनुपर्यो, बजेटमाथि छलफल गर्दा बैठकमा अर्थमन्त्री हुनुपर्छ। यो कुराको मर्यादा राखियोस्।’
यसपछि सभामुख घिमिरेले सांसद लिङ्देनलाई आसनग्रहणका लागि आग्रह गरेका थिए।
‘राष्ट्रिय सभा र प्रतिनिधि सभा एकै समयमा चल्दा पहिला पनि यस्ता समस्या आउने गरेको थियो। अर्थमन्त्री राष्ट्रिय सभामा हुनुहुन्छ, उहाँ आएपछि पुन: बैठक सुचारू गर्छौं, १५ मिनेटलाई यो बैठक स्थगित हुन्छ।’
अर्थमन्त्री पुन आएपछि प्रतिनिधि सभा बैठक फेरि सुरू भएको छ।
राप्रपा सांसद लिङ्देनले आफ्ना भनाइ राखेका छन्। सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेटले छलाङ मार्न भने नसक्ने उनको टिप्पणी छ।
भिडिओ: