मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पाँचौं पटक विश्वासको मत लिँदैछन्।
मुख्यमन्त्री यादवले विश्वासका मत लिने प्रयोजनका लागि बुधबार दिउँसो तीन बजे प्रदेश सभा बैठक बोलाएको संसद् सचिवालयले जानकारी दिएको छ।
मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावन भने न्यून छ।
सत्ता साझेदावर एकीकृत समाजवादी पार्टी मंगलबार सरकारबाट बाहिरिइसकेको छ। उसले समर्थन पनि फिर्ता लिइसकेको छ।
अब मुख्यमन्त्री यादवको पक्षमा नेपाली कांग्रेसका २२ र जनता समाजवादी पार्टी, नेपालका १९ सांसद छन्।
१०७ सदस्यीय प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ५४ सांसद आवश्यक हुन्छ।
सभामुखसहित २५ सांसद रहेको नेकपा (एमाले), १३ सांसद जनमत पार्टी, ९ सांसद रहेको माओवादी केन्द्र र सात सांसद रहेको एकीकृत समाजवादीले नयाँ सरकार बनाउने सहमति गरिसकेका छन्।
उनीहरूले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेका हुन्।
सत्ता गठबन्धनसँग पनि अहिले ५३ सांसदमात्रै छन्। यद्यपि एक–एक सांसद रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टीले पनि समर्थन गर्ने बताएका छन्।
यादव २०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनले २०७९ माघ ४ गते पहिलो पटक विश्वासको मत लिएका थिए।
सत्ता साझेदार दल नेकपा (एमाले) समर्थन फिर्ता लिएपछि २०८० जेठ ३० गते विश्वासको मत लिएका थिए।
त्यस्तै उनले २०८० फागुन ६ गते तेस्रो पटक विश्वासको मत लिएका थिए।
उनले २०८१ वैशाख ४ गते चौथोपटक विश्वासको मत लिएका थिए।
यो पनि:
मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी
प्याकेजमै सहमति चाहन्छन् माधव नेपाल