नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको विद्यमान संकट समाधान र जनआकांक्षा सम्बोधनका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न जरूरी रहेको बताएका छन्।
नेकपा एमाले रूपन्देहीको दसौं जिल्ला अधिवेशनको बुधबार भैरहवामा उद्घाटन गर्दै नेता पौडेलले एमालेले नेतृत्व गर्न पाए एक दशकमै मुलुकको कायापलट गर्ने दाबी गरे।
‘संविधानले प्रदान गरेको अधिकार नागरिकले कहिले उपभोग गर्न पाउँछन्? आजको अहम् प्रश्न यही हो। जिम्मेवारी पनि यही हो,’ पौडेलले भने।
एमालेले नेतृत्व गर्न नपाएका कारणले मुलुक पछि परेको र नागरिकहरूमा तमाम समस्या उत्पन्न भएको नेता पौडेलले बताए।
संविधानले प्रदान गरेको अधिकारलाई व्यावहारिक बनाउन राष्ट्रिय शक्तिको मियोका रूपमा र निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई स्थापित गर्न जरूरी रहेको बताए।
पूर्वअर्थमन्त्री समेत रहेका नेता पौडेलले समाज बदल्ने र उत्पादनका क्षेत्रलाई सक्रिय बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताए।
विभेद र असमानतालाई अन्त्य गरेर समतामूलक समाज निर्माणका लागि एमालेको अगुवाइ जरूरी रहेको बताउँदै नेता पौडेलले सोही अनुसारको भूमिका निर्वाह गर्न आग्रह गरे।
संविधानको कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी जनताको राष्ट्रिय आकांक्षा र लक्ष्यलाई साकार पार्नेगरी अगाडि बढ्नु नै आजको आवश्यकता रहेको नेता पौडेलको भनाइ थियो।
अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले कार्यकर्ताले एमालेको जिल्ला अधिवेशनलाई उत्सवको रूपमा लिनुपर्ने भन्दै नेतृत्व चयनमा खिचातानी नगर्न आग्रह गरे।
उनले स्वार्थभन्दा माथि उठेर पार्टी संगठन निर्माण र मुलुक रूपान्तरणको अभियानमा लाग्न पनि कार्यकर्तालाई आग्रह गरे।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमाले नै देशको भरपर्दो पार्टी रहेको बताइन्।
'गएका उपनिर्वाचनको परिणामले पनि एमाले नै देशको बलियो र भरपर्दो पार्टी भएको पुष्टि भएको छ,' उनले भनिन्।
एमाले रूपन्देहीले विगतमा राष्ट्रलाई नै सन्देश दिने काम गरेको भन्दै उनले अब पनि नेतृत्व चयनका माध्यमबाट राष्ट्रव्यापी सही सन्देश पुर्याउने बताइन्।
एमाले पोलिटब्यूरो सदस्य लिला गिरी, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल लगायतले पार्टी संगठनलाई बलियो बनाएर मात्र देश निर्माणमा जुट्न सकिने बताएका थिए। एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीका अनुसार अधिवेशनका लागि जिल्लाका १६ वटै पालिका, २३ जनसंगठन र आयोजक कमिटीबाट चयन भएका कुल ८५३ जना प्रतिनिधि सहभागी छन्।
अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ। रूपन्देहीमा एमालेका १७ हजार ९८ पार्टी सदस्य संगठित रहेको र उत्तिकै संख्यामा शुभेच्छुक रहेको अध्यक्ष तेजेन्द्र केसीले बताए।