प्रतिनिधि सभा बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०८१ पारित गरेको छ।
बिहीबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पेस गरेको सुरक्षण मुद्रणसम्बन्धी विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो।
विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले नेपालभित्रै सुरक्षण मुद्रणको काम गर्न भने समय लाग्ने बताएकी थिइन्।
‘विधेयक पारित भइसके पछि यसको संरचनाहरु बन्ने, समिति बन्ने र कामको प्रक्रिया सुरु गर्छ। प्राविधिक कुरा पनि छन्। सार्वजनिक खरिद ऐनको पालना गर्नुपर्छ। कयौँ सामग्रीहरु खरिद गर्नुपर्नेछ। कयौँ सामग्रीहरु विद्यमान अवस्थामा पनि छपाइ गर्नसक्ने स्थितिमा छौँ,’ उनले भनिन्, ‘अहिले छपाइ गर्ने स्थितिमा रहेका मेसिनलाई प्रयोग गरेर छपाइ गर्ने। बैंक नोट लगायतका कुरालाई व्यवस्थित गरेर अगाडि बढाउने कुरा छ।’
साथै प्रतिनिधि सभाको अर्को बैठक जेठ २७ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ।
(न्युज एजेन्सी नेपाल)