नेकपा (एमाले) रूपन्देहीको अध्यक्षमा यज्ञ गैरे निर्वाचित भएका छन्। निवर्तमान कार्यसमितीका सचिव गैरेलाई समर्थन गर्दै अन्य उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध अध्यक्ष चुनिएका हुन्।
बुधबार सुरू भएको नेकपा एमाले रूपन्देहीको १० औं जिल्ला अधिवेशनमा नेतृत्वका लागि निवर्तमान अध्यक्ष तेजेन्द्र केसी सँगै उपसचिव चित्र बहादुर कार्की र हितराज पन्थीले प्रतिस्पर्धा गर्न खोजेका थिए।
अन्तिम समयमा आएर केसीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए भने हितराज पन्थी उपाध्यक्ष र चित्र बहादुर कार्कीले सचिवको जिम्मेवारी लिन सहमत भएपछि नेतृत्व सर्वसम्मत भएको हो।
त्यसैगरी उपसचिवमा बावुराम पन्थी र सुनिता ठटेर निर्विरोध निर्वाचित भएका छन्। बिहीबार बिहानैदेखि सुरू भएको बन्द सत्रमा ८५७ जना प्रतिनिधि र पर्यवेक्षक गरी १ हजारभन्दा बढी सहभागी थिए।
अध्यक्ष पदमा निर्वाचित गैरे विद्यार्थी राजनिती र किसान आन्दोलनमा सहभागी हुँदै यसअघि जिल्ला कमिटी सचिव थिए। निर्वाचन समितिले घोषणा गर्न भने बाँकी छ।
अधिवेशनबाट चयन हुने १३२ जना सदस्यहरूका लागि विभिन्न निर्वाचन क्षेत्र र भूगोलमा विभाजन गरी सहमती गराउने प्रयास भइरहेको एमाले श्रोतले बताएको छ।
एमालेको संशोधित विद्यानअनुसार अध्यक्ष १, उपाध्यक्ष १, सचिव १ र उपसचिव २ (खुल्ला र महिला) २ गरी ५ जना पदाधिकारी र १३२ जना सदस्य रहने व्यवस्था छ।
एमालेले सदस्यहरू भूगोल र समावेशितालाई ध्यान दिँदै विभिन्न क्लस्टरहरूमा सदस्य संख्या विभाजन गरेको छ। जसअनुसार सबैभन्दा धेरै सदस्य बुटवल उपमहानगरले र सबैभन्दा कम संख्या कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाबाट प्रतिनिधित्व हुनेछ।