भारतका लागि नेपाली राजदूत शंकर शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भारत भ्रमण तय भएकै दिन आफूलाई फिर्ता बोलाउँदा राम्रो सन्देश नगएको बताएका छन्।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तारतम्य मिलाइरहेका शर्माले एकदिन पनि नपर्खिएर आफूलाई फिर्ता बोलाउँदा यसले सरकारको कूटनीतिक कमजोरी देखिएको बताए।
आइतबार हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दिल्ली जाँदैछन्।
प्रधानमन्त्री प्रचण्ड भारत जाने र भारतका राजदूत शर्मासहित ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको थियो।
‘फिर्ता बोलाउन एकदिन पनि पर्खिन सक्नुभएन। भारतीय साथीहरूले आज थाहा पाएछन्, फोन गरेर सोधिरहेका छन्,’ राजदूत शर्माले भने, ‘फिर्ता बोलाउने निर्णय राजनीतिक भए पनि भ्रमणको व्यवस्थापन गर्नुपर्ने बेलामा मोरल डाउन गर्ने काम भयो। यसले पक्कै पनि राम्रो मेसेज भने दिएन।’
बिहीबार मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को ठाडो प्रस्तावमा राजदूतहरू फिर्ता बोलाउने निर्णय भएको थियो।
यद्यपि आफूले फिर्ता बोलाइएको पत्र भने पाइनसकेको राजदूत शर्माले बताए।