नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा विजयी भएका छन्।
बुधबारदेखी सुरु भएको १२ औं जिल्ला अधिवेशनबाट काउछा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।
सर्वसम्मत नेतृत्व चयन गर्न शीर्ष नेतृत्वले गरेको प्रयास असफल भएपछि बिहीबार मतदान भएको थियो।
पार्टीका केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवाली, केन्द्रीय सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य गोकर्ण विष्ट, केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल र पोलिटब्युरो सदस्य एवं गुल्मी इन्चार्ज सूर्य थापा लगायतका नेताहरुले सहमतिका लागि तीन दिनदेखि जोडबल गरेका थिए।
बिहीबार अबेर सम्पन्न मतगणना अनुसार अध्यक्षमा विजयी भएका काउछाले ३८४ मत पाउँदा उनका प्रतिस्पर्धी हिरा एसीले २०२ मत प्राप्त गरे।
उपाध्यक्षमा जीवन खरेलले ३४८ मत लिएर विजयी भए भने गणेश श्रीपालीले २१२ मत प्राप्त गरे।
त्यस्तै सचिवमा धर्म विश्वकर्माले ३७१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पदम अर्यालले १९० मत प्राप्त गरे।
उपसचिवमा खुल्ला तर्फ चक्रबन्धु भुसालले ३४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ओम कार्कीले २१६ मत प्राप्त गरे। समावेशी उपसचिवमा भने लक्ष्मी पन्थ सर्वसम्मत निर्वाचित भएकी थिइन्।
जिल्लाबाट ६१३ जना अधिवेशनमा प्रतिनिधि चयन भएकोमा निर्वाचनमा भने ५९५ जनाले मात्र मतदान गरेका थिए।
अधिवेशनबाट पदाधिकारीसहित अधिकांश पदमा निर्वाचन गरेर नयाँ नेतृत्व चयन भएको एमाले गुल्मी इन्चार्ज एवं पोलिटब्युरो सदस्य सूर्य थापाले जानकारी दिए।