सत्तारूढ रास्वपा सभापति रवि लामिछाने बिहीबार चितवन पुगेका छन्।
सो क्रममा भरतपुर विमानस्थलमा उनले पत्रकारहरूका केही प्रश्नमा जबाफसमेत दिए।
सभापति लामिछानेलाई पत्रकारहरूले आइजिपी प्रकरणमा पार्टी र सरकारको धारणा बाझिएकोबारे सोधेका थिए।
जबाफमा सभापति लामिछानेले भने, ‘कहिलेकाहीँ सरकारले गरेका कुराहरूमा थप स्पष्टता चाहियो, प्रश्न भयो भने पार्टीले त्यसलाई सोध्ने र अझ बढी स्पष्ट पार्ने गर्नैपर्छ, सरकारले गरेका सबै चिजलाई हो मा हो मिलाउँदैन पार्टीले, पार्टीले गरेका हरेक चिजमा सरकारले पनि हो मा हो मिलाउँदैन, त्यसैले सरकारका निर्णयमा कहिलेकाहीँ पार्टीले फरक किसिमका धारणा र आवश्यक पर्दा निर्देशन दिने कुरा यहाँहरूले थाहा पाइरहनुभएको छ।’
यसपछि सभापति लामिछानेलाई पत्रकारले आइजिपी प्रकरणमा पार्टी सन्तुष्ट होइन? भनेर सोधेका थिए।
जबाफमा सभापति लामिछानेले भने, ‘पार्टी सन्तुष्ट वा असन्तुष्ट होइन कि, पार्टीले के धारणा राखेको छ भने सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ, त्यो औचित्य अवश्य पनि सरकारले पुष्टि गर्ला।’
सुरक्षा निकायसँग सम्बन्धित संवेदनशील विषयहरू समावेश भएका कारणले सरकारले यस विषयमा कुनै समयमा औचित्य पुष्टि गर्ने विश्वास पनि उनको छ।
‘सरकारले गरेका निर्णयबारे सरकार प्रवक्ताले स्पष्ट पार्नुभएको छ, पार्टीले आइजिपी फेर, डिआइजी फेर, सिडिओ फेर भनेर भन्दैन,’ सभापति लामिछानेले भने।
फरक प्रसंगमा उनले 'सञ्चार माध्यमहरूको समाचार कक्षमा प्रहरी गएका दिन पार्टीले स्पष्टता दिनुस् भनेर सरकारलाई भनेको' पनि बताए। ‘त्यसको परिणाम आइजिपीको फेरबदल हो कि होइन भन्ने समय आएपछि सरकारले भनिहाल्ला, यसको नाता छ वा छैन सरकारले भन्छ, त्यसमा चिन्ता गर्नुपर्दैन,’ उनले भने।