राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिहीबार चितवन पुगेका छन्।
सो क्रममा भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफू चितवन ढिला आए पनि यहाँ नीतिगत काम भइरहेको बताए।
‘जिम्मेवारी धेरै छ तर व्यक्तिभन्दा सिस्टम आउनुपर्छ भन्ने सोचका कारण व्यक्तिका रुपमा म ढिला आए पनि सरकारको रुपमा, पार्टीको रुपमा पार्टीको संरचना, सरकारका नीतिहरु देशभरी पुगिरहेका छन्’, उनले भने, ‘हाम्रो उद्देश्य पनि त्यही हो। व्यक्ति आउनुभन्दा पनि नीति आउनु पर्यो। राज्यको नीति आउने क्रम जारी छ।’
सभापति लामिछाने विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आएका हुन्।
रास्वपा चितवनका सभापति मिनिमाधव खनालका अनुसार चितवन आएलगत्तै सभापति लामिछाने आज पार्टी कार्यालयमा जिल्ला, क्षेत्र र स्थानीय तहका पदाधिकारीहरुसँग सङ्गठनात्मक छलफलमा सहभागी हुनेछन्।
सभापति लामिछानेले शुक्रबार बिहान नारायणी नदी किनारको कटान क्षेत्रको अवलोकन तथा सम्बन्धित पक्षसँग छलफल गर्ने कार्यक्रम पनि छ।