सोमबार अमेरिकी युद्धपोत एक्कासि मोडिँदा त्यसमा रहेको एक लडाकु विमान समुद्रमा खसेको छ।
रेड सीमा रहेको युएसएस हेरी ट्रुमेन विमानवाहक जहाज अचानक मोडिँदा त्यसमा रहेको लडाकु जेट पानीमा खसेर हराएको रक्षा अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी मिडियाहरूले लेखेका छन्।
द वासिङटन पोस्टका अनुसार सो युद्धपोत यमनमा रहेको इरान-परिचालित हुथी समूहले गरेको हमलाबाट जोगिन अचानक तीव्र गतिमा मोडिएको थियो। सो घटनामा एक नौसैनिक घाइते भएका छन्।
त्यस्तै द वाल स्ट्रिट जर्नलका अनुसार एफ/ए १८ ई सुपर हर्नेट लडाकु विमान खसेको हो। यो एउटा विमानको मूल्य करिब साढे ९ अर्ब रूपैयाँ (७ करोड डलर) पर्छ।
सो विमानवाहक जहाज एक महिनाभन्दा बढी समयदेखि दैनिक जसो हुथीले शासन गर्ने यमनमा भइरहेको अमेरिकी हमलामा संलग्न छ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको हमलाको जबाफमा इसराइलले गाजामा गरिरहेको आक्रमणको विरोधमा रेड सी प्रयोग गर्ने व्यापारिक जहाजहरूमा हुथी समूहले लगातार हमला गरिरहेको छ। त्यसको जबाफमा अमेरिकाले गत वर्षदेखि नै हुथीमाथि हमला गरिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो केही हप्तामा त्यसलाई झन् तीव्र बनाएका छन्।
गत शरद ऋतुदेखि मध्यपूर्वमा रहेको ट्रुमेन विमानवाहक जहाजका लागि सोमबारको घटना पछिल्लो केही महिनामा तेस्रो दुर्घटना हो भनेर जर्नलले जनाएको छ।
फेब्रुअरीमा सो विमानवाहक जहाज इजिप्टको सइद बन्दरगाह नजिकै एक व्यापारिक जहाजसँग ठोक्किएको थियो। सो ठक्करका कारण ट्रुमेन विमानवाहक जहाज र पनामाको झण्डा रहेको सो व्यापारिक जहाज दुवै क्षति भएका थिए। त्यसको केही दिनपछि ट्रुमेन सहितको स्ट्राइक समूहको कमान्डरलाई बर्खास्त गरिएको थियो।
त्यस्तै गत डिसेम्बरमा ट्रुमनसँगै रहेको एक मिसाइल बोक्ने जहाजले ट्रुमनबाट उडेको एक एफ/ए १८ एफ सुपर हर्नेट लडाकु विमानलाई भूलवश प्रहार गरेर रेड सीमा खसालेको थियो। सो लडाकु विमानका दुई पाइलटको भने उद्धार गरिएको थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)