रूस र युक्रेन युद्धबन्दी साटासाट गर्न सहमत भएका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा दुई दिनसम्म चलेको शान्ति वार्तामा दुवै देश युद्धबन्दी साटासाट गर्न सैद्धान्तिक रूपमा सहमत भएका हुन्।
तर युद्ध अन्त्य गर्ने मुख्य विषयमा भने सहमति जुट्न सकेको छैन।
विशेषगरी भूभागको स्वामित्वसम्बन्धी विवादले शान्ति वार्तालाई जटिल बनाएको छ।
९ महिनापछि पहिलोपटक भएको प्रत्यक्ष वार्तामा युद्धबन्दी साटासाट गर्ने सहमति भएको हो। त्यसको संख्या बिहीबार टुङ्गो लगाइनेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुश्नरले यो युद्ध सुरू भएयताकै सबैभन्दा ठूलो मानवीय आधारको युद्धबन्दी रिहाइ हुने बताएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यसको दायरा उल्लेखनीय हुने बताएका छन्।
रोयटर्सका अनुसार वार्तामा सहभागी दुवै देशले प्रगति भएको बताएका छन्। तर युद्ध अन्त्य गर्ने ठोस सहमति भने सार्वजनिक भएको छैन।
कुश्नरले दोस्रो विश्वयुद्धपछि युरोपकै ठूलो द्वन्द्व अन्त्य गर्न अमेरिकी मध्यस्थकर्ताले दुवै पक्षको हितलाई ध्यानमा राखेर छलफल गरिरहेको बताए। तर अहिले दुवै देशबीच विश्वासको वातावरण नरहेको उनको भनाइ छ।
‘यति लामो द्वन्द्वपछि दुई पक्षबीच अहिले विश्वास छैन। यस्तो हुनु स्वाभाविक हो,’ उनले भने, ‘यो राम्रो सुरूवात हो।’
उनका अनुसार वार्तामा भूभागसम्बन्धी विषय पनि उठेको थियो। तर त्यसमा सहमति जुटाउनु सबैभन्दा कठिन हुने उनले बताए।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति सम्झौताका लागि युक्रेनले पूर्वी क्षेत्र डोनबासको पूरै भूभाग छाड्नुपर्ने माग गर्दै आएका छन्।
युक्रेनले भने उक्त माग अस्वीकार गर्दै आएको छ।
भूभागको विषयमा वार्ता अड्किएपछि अमेरिकी मध्यस्थकर्ताले युद्धपछिको सुरक्षा प्रत्याभूति र पुनर्निर्माणका विषयमा छलफल अघि बढाउन खोजेका छन्।
कुश्नर र अर्का अमेरिकी विशेष दूत स्टिभ विटकफ बिहीबार रूसी राष्ट्रपति पुटिनसँग वार्ता गर्न मस्को जाने कार्यक्रम छ। उक्त भेटमा युरोपेली देशलाई पनि शान्ति वार्तामा सहभागी गराउने विषय उठाउने कुश्नरले बताएका छन्।
त्यसपछि अमेरिकी प्रतिनिधिमण्डल आयरल्यान्ड जानेछ।
त्यहाँ युरोपेली नेताहरूको बैठकमा सहभागी हुन पुगेका युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग उनीहरूले भेट गर्नेछन्।
जेलेन्स्कीले यसै वर्ष युद्ध अन्त्य गर्ने सम्झौतामा प्रगति हासिल गर्न युक्रेन केन्द्रित रहेको बताएका छन्। अमेरिकी र रूसी पक्षबीच हुने बिहीबारको वार्ताले त्यसमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
अबुधाबीमा वार्ता चलिरहेकै बेला रूस र युक्रेनले एकअर्कामाथि आक्रमण गरेको आरोप पनि लगाएका छन्।
युक्रेनी अधिकारीका अनुसार रूसले मध्य युक्रेनका ६ वटा विद्युत् सबस्टेसनमा आक्रमण गरेको छ। ओडेसा क्षेत्रमा बजारमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ।
यस्तै, रूसको बेलगोरोद क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा एक जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
युक्रेनी वार्ता टोलीका सदस्य डेभिड अराखामियाले छलफल कठिन भए पनि वर्षको अन्त्यसम्म समाधान खोज्ने दिशामा सकारात्मक गति मिलेको बताएका छन्। उनका अनुसार रूसी टोली कडा निर्देशनसहित वार्तामा आएको थियो।
युरोपेली अधिकारी र नेटोका प्रतिनिधिले पनि अबुधाबीमा अमेरिकी तथा युक्रेनी प्रतिनिधिसँग भेट गरेका थिए। तर रूसी प्रतिनिधिमण्डलले उनीहरूसँग भेट्न अस्वीकार गरेको थियो। आगामी वार्तामा युरोपलाई पनि सहभागी गराउनुपर्ने अराखामियाको भनाइ छ।
रूसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेडिन्स्कीले भने वार्तापछि शान्ति सम्झौता नजिकिएको बताएका छन्। तर त्यसको धेरै कुरा युक्रेन, अमेरिका र युरोपको भूमिकामा निर्भर रहने उनको भनाइ छ।
रूसले युक्रेनको करिब पाँच भागको एक भाग भूभाग नियन्त्रणमा राखेको छ। सन् २०२२ को फेब्रूअरीमा पूर्णस्तरको आक्रमण सुरू गरेपछि कब्जा गरेको ठूलो भूभागमध्ये केही सन् २०२२ अघिकै हो। यस वर्ष युद्धमैदानमा रूसी सेनाको अग्रगति सुस्त भएको छ।
युद्धमैदानमा अग्रपंक्ति खासै परिवर्तन नभए पनि रूसले युक्रेनी सहर र ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखेको छ। युक्रेनले पनि रूसी तेल प्रशोधन केन्द्र तथा अन्य पूर्वाधारलाई निशाना बनाउँदै आएको छ।
रूसले युद्धका विषयमा छलफल गर्नुअघि युरोपको समग्र सुरक्षा संरचनाबारे सम्झौता हुनुपर्ने माग गर्दै आएको छ। सन् २०२२ मा युक्रेनमाथि पूर्णस्तरको आक्रमण गर्नुअघि पनि रूसले सन् १९९७ पछि नेटोमा आबद्ध भएका देशबाट नेटोका सेना फिर्ता गर्नुपर्ने माग गरेको थियो। नेटोले उक्त माग अस्वीकार गरेको थियो।
युरोपेली अधिकारीहरूले भने युद्धविरामपछि मात्रै व्यापक सुरक्षा व्यवस्थाबारे छलफल हुनुपर्ने बताउँदै आएका छन्। युद्ध सुरू गरेको रूसलाई युरोपको सुरक्षा व्यवस्थामा हस्तक्षेप गर्ने अधिकार दिन नहुने उनीहरूको धारणा छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गत साता युक्रेन युद्ध ‘ठूलो र सुन्दर सम्झौता’ मार्फत अन्त्य हुने नजिक पुगेको बताएका थिए। तर यसअघि पनि उनले युद्ध अन्त्यका लागि पटकपटक सहमति नजिक पुगेको दाबी गरे पनि त्यसले ठोस परिणाम दिन सकेको छैन।