आप्रवासी पक्रिने कर्मचारीमाथि हात हालेको भन्दै डोनाल्ड ट्रम्पको सरकारले संघीय सांसदमाथि मुद्दा हालेको छ।
अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेन्ट (आइसिई) कार्यालय अगाडि दुई हप्ताअघि आइसिई अधिकारीमाथि हात हालेको अभियोगमा न्यु जर्सीबाट निर्वाचित विपक्षी डेमोक्र्याटिक पार्टीकी प्रतिनिधि सभा सदस्य लामोनिका मेकआइभरलाई ट्रम्पको कानून मन्त्रालयले सोमबार मुद्दा चलाएको हो।
अवैध आप्रवासीलाई देश निकाला गर्ने क्रममा बाधा हाल्नेलाई पक्राउ गरिरहेको ट्रम्प सरकारले सो मामलामा संघीय सांसदलाई नै मुद्दा चलाएको हो।
न्यु जर्सीको नेवार्कमा रहेको निजी कारागारमा ट्रम्प सरकारले आप्रवासीलाई थुन्न थालेपछि मेकआइभर सहित न्यु जर्सीबाट निर्वाचित डेमोक्र्याटिक सांसद बन्नी वाट्सन र रब मेनेन्डेज मे ९ मा सो कारागारको निरीक्षणमा गएका थिए। उनीहरू त्यहाँबाट निस्कँदै गर्दा संघीय गृह मन्त्रालयका कर्मचारीले नेवार्कका मेयर रास बराकालाई गिरफ्तार गरेर लैजाँदै थिए।
त्यसक्रममा डेमोक्र्याटिक सांसद र आइसिई कर्मचारीहरूबीच धक्काधक्की भएको थियो। सांसदहरूले आफूमाथि आइसिई कर्मचारीले हात हालेको आरोप लगाएका थिए भने ट्रम्प प्रशासनले भने डेमोक्र्याटिक सांसदले आइसिई कर्मचारीमाथि हमला गरेको दाबी गरेको थियो।
त्यही मामलामा ट्रम्प सरकारले संघीय सांसद मेकआइभरमाथि मुद्दा चलाउने भएको हो भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ। भिडिओ फुटेज हेर्दा मेकआइभरले आइसिई कर्मचारीलाई कुहिनोले हानेको देखिने दाबी ट्रम्प सरकारले गरेको छ।
मेकआइभरमाथि मुद्दा चलाउने निर्णयबारे प्रतिक्रिया दिँदै न्यू जर्सी जिल्लाका लागि कार्यवाहक सरकारी वकिल अलिना हब्बाले कानूनभन्दा माथि राजनीतिज्ञ वा अरू कोही पनि नहुने जिकिर गरेकी छन्।
'यो कार्यालयको काम न्याय कायम राख्नु हो। तपाईं जो भए पनि फरक पर्दैन। अब हामी न्याय प्रणालीलाई काम गर्न दिनेछौं,' उनले विज्ञप्ति निकालेर भनेकी छन्।
सांसद मेकआइभरले भने आफूमाथि लगाइएको मुद्दा विशुद्ध राजनीतिक भएको भन्दै संसदको निगरानी रोक्ने प्रपन्च भएको दाबी गरेकी छन्।
मेयर बाराका विरूद्धको अभियोग भने ट्रम्प सरकारले खारेज गरेको छ। तर विपक्षी दलको संघीय सांसदमाथि नै मुद्दा चलाएको छ।
यसअघि ट्रम्प सरकारले अवैध आप्रवासीलाई भगाएको आरोपमा न्यायाधीशलाई समेत पक्राउ गरेको थियो। अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआइ) ले विस्कन्सिनस्थित मिल्वाकी काउन्टी सर्किट अदालतकी न्यायाधीश हन्ना डुग्यानलाई पक्राउ गरेको थियो।
गत अप्रिल १८ मा मेक्सिकोका अवैध आप्रवासी भनिएका एडवार्डो फ्लोरेस रूइजलाई पक्राउ गर्न एफबिआइका अधिकारीहरू अदालत पुगेका थिए।
तर न्यायाधीश डुग्यानले पक्राउका लागि एफबिआइका अधिकारीहरूसँग भएको कागजात पर्याप्त नहुने र छुट्टै वारेन्ट चाहिने भनेर फर्काएर रूइजलाई भगाएको आरोप एफबिआइले लगाएको थियो। सोही अभियोगमा न्यायाधीश डुग्यानलाई अप्रिल २५ मा सोही अदालत बाहिर पक्राउ गरिएको थियो।
अवैध आप्रवासीलाई देश निकाला गर्ने काममा वाधा गर्ने जो सुकैलाई पनि मुद्दा चलाउने नीति अनुसार ट्रम्प सरकारले संघीय सांसदमाथि पनि मुद्दा चलाएको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)