जीवनमा कठिनाइ भन्ने कुरा सबैलाई हुन्छ, चाहे त्यो मानसिक कठिनाइ होस् वा शारीरिक। प्रायजसो मानिसले सफलता हासिल गर्न विभिन्न कठिनाइहरू झेल्नुपर्ने हुन्छ नै। एकैपटक जोखिम मोलेर सफलता हासिल गर्न खोज्दा कतिपयको जीवन सङ्कटमा परेको हुन्छ।
मान्छेमा महत्त्वाकाङ्क्षा बढ्न थाल्यो भने साविक वा भइरहेको जीवनको आधार गुम्न पनि सक्छ। तसर्थ सफलताका लागि मान्छेमा धैर्य र संयम हुनैपर्छ। आफूले सामना गर्दै आएका जीवनका कठिनाइहरूमध्ये चाडबाड सकिएपछि गाउँघरबाट कर्मथलो फर्किँदाका समस्याका संस्मरणहरू यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु।
सुरुको दसैँमा काठमाडौँबाट जन्मथलो जाँदा
२०४० सालमा काठमाडौँ आएर मेरो उच्चशिक्षा अध्ययनको प्रारम्भ र जागिरको सुरुआत एकैदिन भएको थियो। २०४२ को बडादसैँका लागि घर जाने क्रममा एकजना काका साथमा रहनुभएकोले सहज भयो। किनकि लामो दूरीको त्यो यात्रा मेरा लागि पहिलो थियो। भर्खरै किशोरावस्था पार गरेर युवावस्थामा प्रवेश गरेको मजस्ता मान्छेलाई एक्लै लामो दूरीमा यात्रा गर्न अलमल हुन्छ नै।
काठमाडौँबाट रोल्पाका लागि सिधा बससेवा सुरु भइनसकेका कारण दाङसम्म बसमा र दाङबाट रोल्पा पैदल जानुपर्दथ्यो। कर्मथलो काठमाडौँबाट दाङतर्फ जाँदा बुटवलको तिनाउ वारिपट्टि हामी चढेको बस रोकियो। बाढीका कारण बुटवलस्थित तिनाउको मोटरेबल पुल बगेका कारण झोला-पोका बोकेर पैदल हिँडेर वैकल्पिक पुल भएर पारिपट्टि गयौँ। दाङका लागि अर्को बस चढ्यौँ र बिहान भएपछि दाङको नारायणपुरमा ओर्लियौँ।
त्यहाँबाट हिँड्दै काका आफ्नो घर बुधौरातिर लाग्नुभयो भने म चैनपुरस्थित माहिलाबाको घरमा पुगेँ। दसैँका दिन चैनपुरमा टीका थापेर भाइ विमलसँग पैदल यात्रा गर्दै राति जन्मथलो रोल्पाको खुंग्रीस्थित घरमा पुगेँ। घरमा सबैजना सुतिसकेको अवस्था थियो। आमाले ढोका खोलिदिनुभयो र एकछिनपछि टीका थापेँ। थकाइले ज्यान थिलथिलो भएको थियो दाङदेखिको चौध घण्टाको हिँडाइले।
लचक्क लच्किएर ढल्किने अवस्थाका बसहरू
बाटो पिच हुनुअघि प्यूठानको देवीस्थानदेखि किमिचौरसम्म विभिन्न ठाउँहरूमा सिँचाइका लागि खनिएका कुलो-नालाहरूका कारण र बाटो कच्ची भएकोले त्यतिबेलाका बसहरू ढलक्क ढल्किँदा र लचक्क लच्किँदा यात्रुहरूको मुटु ढुकढुक हुन्थ्यो, कोही त चिच्याउँथे पनि।
साँघुरा सिट र अग्ला यात्रु
उहिलेका बसहरूमा अघिल्लो-पछिल्लो सिटबीचको खासै दूरी नहुने हुँदा अग्लो कदका यात्रुहरू सही आसनमा नबसेर छड्के भएरै सिटमा बस्दथे। होचा कदका यात्रुहरूका लागि भने फरक पर्दैनथ्यो।
छतमा सुतेर यात्रा
दसैँ-तिहार सकेर आउने यात्रुहरूमध्ये कतिपयले बसमा सिट नपाउँदा बाध्य भएर छतमा बसेर वा सुतेर पनि यात्रा गर्दथे। रोल्पा-काठमाडौँ चल्ने बसमा कतिपय भारततर्फ जानका लागि भालुबाङमा र कोही कृष्णनगर नजिक पर्ने स्थानमा झर्दथे।
डिकीमा मरेको भेँडा
एकपटक कलंकीमा गाडीको डिकीबाट बोरा-झोला-कार्टुन झिक्ने क्रममा एउटा भाले भेँडो (थुमा) मरेको अवस्थामा झिकिएको थियो। सायद श्वासप्रश्वासमा समस्या भएर वा अत्तालिएर मरेको हुनसक्छ। १६ देखि १८ घण्टाको बसको लगातारको गुडाइका कारण बाधा सहन नसकेर मरेको हुनसक्छ।
बोरा-थैला साटिने समस्या
एकपटक साथीकी भतिजी कलंकीमा ओर्लिँदा उनले मेरो सामान रहेको बोरा लिएर हिँडिछन्, म माछापोखरीमा ओर्लिँदा आफ्नो बोरा नदेखेपछि सुलिचौरमा रहेका उनका बुवाबाट दाइमार्फत मोबाइल नम्बर लिन लगाएर सम्पर्क गरेर सो बोरा लिनलाई निकै दुःख भोग्नुपरेको थियो।
बीचमा मान्छे सुत्दा बाहिर निस्कन कठिन
शौचका लागि चालकले कुनै ठाउँमा बस रोकेमा पछाडिका सिटका यात्रुहरूलाई बाहिर निस्कन कठिन पर्दथ्यो। ‘ए’ र ‘बी’ का सिटहरूको पङ्क्तिबीचमा रहेको खाली ठाउँमा मान्छेहरू सुतेका हुन्थे, कोही त घुर्दै निदाएका पनि हुन्थे। बाहिर निस्कँदा सिटका बाहुहरूमा टेक्नुपर्दथ्यो। सुतेकामध्ये कसैको निधारमा त कसैको गालामा टेकिने अवस्था पनि आउँथ्यो। रोल्पा-काठमाडौँ चल्ने बसहरूमा यस्तो अवस्था कहिलेकाहीँ हालका दिनहरूमा पनि देख्न सकिन्छ।
ठेगाना उल्लेख नभएका साइनबोर्ड
यात्रा गर्ने क्रममा बस कहाँ आइपुग्यो भनेर सानातिना बजार भएको ठाउँमा हेर्दा साइनबोर्डमा ठेगाना उल्लेख भएको नदेखिँदा यात्रुहरू अलमलमा पर्ने गरेको पाइन्छ।
सिट एक टिकट अनेक
विशेषगरी चाडबाडको बेलामा काउन्टरबाट जथाभावी टिकट काटिँदा यात्रुहरूबीच झैझगडा चालक-सहचालकले सम्झाइबुझाइ गर्नुपर्ने हुन्छ। एउटा सिटका लागि एकभन्दा बढी टिकट काट्दा यात्रुहरूलाई समस्या आउँछ।
मदिरा-चुरोट-सुर्ती सेवन गर्ने यात्रुहरू
सुरुसुरुमा रोल्पा-काठमाडौँ बसमा यात्रा गर्ने कोहीकोही यात्रुहरूको नजिक पर्दा मदिराको गन्ध ह्वास्सै आउने, कोही चुरोट पिएर बसभित्र छिर्दाबित्तिकै अप्रिय गन्ध आउने र सँगैको सिटमा बसेका यात्रुले सुर्ती-गुट्खाको प्याकेट खस्र्याकखस्र्याक पार्दा निद्रा नै भङ्ग हुनुका साथै नमिठो गन्ध आउनाले दिक्क लाग्नु स्वाभाविकै हो। त्यस्तो लतमा नपरेको म समेतको हकमा यात्रा गर्दा मजा लाग्दैन।
कताकतै खुला ठाउँमा शौचका लागि बस रोकेको स्थानमा सुर्ती-गुट्खाका तमाम खाली प्याकेटहरू र मदिराका खाली बोतलहरू बाटो छेउछाउ देखिनु सामान्य ठानिन्छ। मदिरा/सुर्तीजन्य वस्तुहरूमा बन्देज लगाउने सम्भावना पनि छैन, किनकि सरकारलाई राजस्व त्यस्तै पदार्थ/वस्तुबाट बढी उठ्ने गर्दछ। चुरोट वा गुट्खा/सुर्तीको खोलको बाहिर बकाइदा लेखिएको हुन्छ—‘धूमपान-सुर्तीसेवन स्वास्थ्यका लागि हानिकारक छ।’ हानिकारक छ भन्ने थाहा पाउँदापाउँदै सेवन गर्नेलाई कसैले रोक्न/छेक्न सक्दैन।
चल्ती गाडीको ढोकाबाट एक यात्री हाम फाल्दा
सायद डेढ दशकअघिको कुरा हो, काठमाडौँबाट रोल्पाका लागि छुटेको रात्रिबस कपिलवस्तुको सालझण्डी पुगेको अवस्थामा एक-दुई बजेतिर गुडिरहेको बसको ढोकाबाट एक यात्री हाम फाल्दा धन्न कुनै नराम्रो भएन। चालक र सहचालकले भने उनीप्रति एकछिन आक्रोश पोखे। बस तीव्र गतिमा भइदिएको भए सायद त्यहाँ सबै यात्रुहरूको यात्रा रातभर अवरुद्ध हुनसक्थ्यो।
यात्रामा देखिने झैँझगडा सामान्य भइदिन्छ
भाडाको विषयमा होस् वा अन्य कुनै मामिलामा चालक-यात्रु वा सहचालक-यात्रुबीच झगडा हुनुलाई सामान्य ठानिन्छ। नेपालीहरूमा धैर्य र संयमको अभाव टड्कारो देखिन्छ। शान्त भएर समस्या समाधानतर्फ लाग्नुभन्दा भिड्न खोज्ने गर्छन्।
बसभित्र सिन्की-गुन्द्रुक-टिमुरको गन्ध
गाउँबाट सहरतिर फर्किँदा गाउँमा उपलब्ध हुने रैथाने अनाज आफ्नो साथमा ल्याएर आफन्त छरछिमेकमा कोसेली बाँड्नुको मजा बेग्लै हुन्छ। तथापि यसो भन्दैमा ल्याएको सबै बाँडेर सक्नुपर्छ भन्ने होइन। साथै राजमार्गका होटलहरूमा खान रुचि नराख्ने र व्यक्तिगत नियममा रहनेहरूले बेलुकीको खानाका लागि रोटी वर्गका स्थानीय परिकारहरू ल्याउने गरेको देखिन्छ।
होटलको अगाडि बस पार्किङ गरेपछि अरू होटलभित्र खाना खान छिर्छन् भने थोरैतिना यात्रुहरू आफैँले घरबाट ल्याएको खानेकुरा सिटमा बसेर वा होटल बाहिर राखिएको कुर्सी-बेन्चमा बसेर खाने गरेको पाइन्छ। सुकासाग वा मार्यासाग (तोरी/सर्स्युँ उसिनेर सुकाएको), बरी (मस्यौरा), सिन्की, अन्य ताजा तरकारी-सागहरू तथा अचारमा छोपका लागि प्रयोग गरिने कच्चापदार्थहरू, टिमुर आदि गाउँबाट सहरमा लैजाने चलनलाई अनौठो मानिँदैन। यदाकदा बसभित्र सिन्की-गुन्द्रुक-टिमुरको गन्ध पनि फैलिन्छ।
लिबाङदेखिको भाडा तिर्नेगरी सुलिचौरदेखिको यात्रा
एकपटक म सुलिचौरमा रहेको बखत सुलिचौरको सिटको कोटा सकिएपछि लिबाङदेखिको भाडा तिरेर पनि यात्रा गरेको छु। पैसालाई नै ठूलो ठान्ने व्यवसायीहरूले यस्ता कुराहरूतर्फ पनि ध्यान दिनुपर्दछ। यात्रा नगरेको दूरीको पैसा तिर्नुपर्दा सरासर अन्याय भएको मान्नुपर्दछ। भनिन्छ—‘धन भन्ने कुरा जसरी आएको हो त्यसरी नै जान्छ।’ म जन्मथलो खुंग्रीमा रहँदा कोटा खुंग्रीका लागि भए पनि सुलिचौरबाट चढ्ने अवस्था हुन्छ, किनकि लिबाङ वा सुलिचौरबाट चढेका यात्रुहरूलाई सिटबाट उठाउन समस्या आइपर्न सक्ने हुन्छ।
सुलिचौर/खुंग्रीको सिटमा लिबाङबाट बस्नेहरू
कहिलेकाहीँ सुलिचौर र खुंग्रीको कोटा छुट्याइएको सिटमा कोही यात्रुहरू भनसुनका आधारमा लिबाङबाटै चढ्नेहरूबाट खुंग्री/सुलिचौरका केही यात्रुहरू पीडामा रहेका हुन्छन्। गाउँघर छोड्ने समय तय भइसकेका यात्रुहरूलाई मर्का पर्ने गरी काम गर्नु राम्रो भने होइन। कोही अकस्मात् अर्थात् इमर्जेन्सी यात्रा गर्नेहरूका लागि भने त्यो ठीकै मानिन्छ।
दुई जनाको सिटमा तीन जना खाँदिएर बस्नुपर्ने अवस्था
कुनै समयसम्मको बसको यात्रामा दुई जनाको सिटमा तीन जना खाँदिएर बस्नुपर्दाको अवस्था सम्झिने हो भने त्यो असम्भव यात्रा कसरी गर्न सकिएको रहेछ भनेर अहिले मनमा कुरा खेल्ने गर्छ। यस विषयमा पछिल्ला दिनहरूमा सम्बन्धित निकायबाट कडाइ भएको देखिन्छ।
दुई सय दस रुपैयाँ हवाइजहाज भाडा
अहिले रोल्पा-काठमाडौँ-रोल्पा चल्ने बसको भाडा यो लेख प्रकाशन हुँदाका बखतसम्म दुई हजारभन्दा माथि छ। जबकि म २०४३ सालमा रोल्पाको बडाचौर विमानस्थलबाट भैरहवासम्मको हवाई यात्रा गर्दा हवाइजहाज भाडा दुई सय दस रुपैयाँ मात्र तिरेको सम्झना छ। हुन त समयअनुसार भाडा बढिरहने हो, घट्ने त सम्भावना पनि छैन।
उहिल्यैदेखि यातायात व्यवस्था गञ्जागोल
नेपालमा यातायात व्यवस्था खास गरेर भन्नुपर्दा उहिल्यैदेखि नै गञ्जागोल अर्थात् भद्रगोल नै छ। ट्राफिक नियमहरू छलेर सवारीसाधनहरू सञ्चालन गरेको धेरै कुरा देखिन्छन्।
व्याप्त यातायात समस्या र मेरो सन्देशमूलक यातायात गीत
२०८३ मा मेरो एउटा गीत सार्वजनिक भएको छ—‘बसमा सरर।’ जुन गीतमा धेरैजसो ट्राफिक नियमहरू समेटिएका कुराहरू समावेश छन्। होटल सोल्टीको सभाहलबाट मेरो शून्य खर्चमा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका पदाधिकारीहरूको पदस्थापन तथा शपथग्रहण कार्यक्रममा सार्वजनिक भएको सो गीत तीन महिनामै उल्लेख्य सङ्ख्यामा भ्युज प्राप्त भएको र केही समयपछि गीतको भिडियोका लागि छायाङ्कन हुने योजना रहेको छ। गीत देशभर चल्ने लामो दूरीका यात्रुवाहक सवारीसाधनहरूमा बज्ने विश्वास गरिएको छ, जुन मेरो साहित्यिक पाटोको एउटा सफलता पनि हुनेछ। यद्यपि यो विषय भने समयले बताउने कुरा हो।