दसैँ आउन केही दिन बाँकी थियो। काठमाडौँको बिहान अझै राम्ररी उज्यालिएको थिएन। कलङ्की चोक भने काठमाडौँ छाड्नेहरूको भीडले चाडपर्व आइसकेको सङ्केत दिइसकेको थियो।
कसैका हातमा झोला थिए, कसैले बच्चा बोकेका थिए, कोही गाडीवालाहरूसँग चर्काचर्की गर्दै थिए। चारैतिर हतार थियो, तर सबैको आँखामा एउटै कुरा थियो—घर फर्कने उत्सुकता।
म पनि त्यही भीडको एउटा अनुहार थिएँ। काठमाडौँको कोलाहलबाट टाढा केही दिन दसैँ मनाउन घर फर्किँदै थिएँ।
करिब २० मिनेट कलङ्कीको माहोलमा समेटिँदा म जाने गाडी पनि आयो—रकेट एसी, अब रकेटको सवार बुटवलसम्म।
एक्लै लामो यात्रा गर्दा छेउको सिटमा कस्तो मान्छे पर्छ भन्ने पनि विचार आउँछ। कोही बस्नेबित्तिकै वाकवाकी गर्न थाल्ने, कोही पसिनाको गन्धले नजिक बस्नै गाह्रो हुने। मनमनै यस्तै कुरा सोच्दै, यसपालि चाहिँ राम्रै सहयात्री परून् भन्दै म भीड छिचोल्दै आफ्नो सिट खोज्न थालेँ।
अलि पछाडि १४–१५ लेखेको सिट थियो। कालो कपाल अनि गुलाबी कलरको विन्डचिटर लगाएकी युवती सिटको झ्यालतर्फ बसेर बाहिर हेर्दै थिइन्। खाली सिटमा चकलेटी लेडिज ब्याग।
‘एक्सक्युज मी! झ्यालतिरको सिट मेरो हो कि जस्तो लाग्छ, १५ नम्बर?’ नम्र भएर मैले भनेँ।
ब्याग काखमा राख्दै मतिर फर्किइन् र भनिन्, ‘झ्यालतिर म बस्छु है, हुन्न र? कहिलेकाहीँ बमिट हुन्छ के।’
निधारको सानो टीका र मिलाएर बाँधेको कपालबाहेक उनको शृङ्गारमा खासै केही थिएन। झट्ट देख्दा सिम्पल र धेरै तामझाम नगर्ने देखिन्थिन् उनी।
म पनि झ्यालै चाहिन्छ भन्ने हठी स्वभावको नभएको अनि साथै मधुर बोली र मीठो मुस्कानसँगै अनुरोध गरेकी हुँदा नाइँ भन्न पनि नसक्ने भएँ।
बस बिस्तारै अगाडि बढ्यो। काठमाडौँका सडक, पसलका सटर र निद्रालु बस्तीहरू पछाडि छुट्दै गए। केही बेरपछि बस नागढुङ्गा सुरुङ मार्गभित्र छिर्यो। बाहिरको प्राकृतिक उज्यालो एकाएक कृत्रिम बत्तीमा बदलियो। झ्यालमा आफ्नै अनुहार देखिन थाल्यो। सुरुङबाट बाहिर निस्कँदा पारिलो घामले अनुहार छोयो। एकछिन लाग्यो, अँध्यारोबाट उज्यालोमा निस्कनु पनि कति मीठो हुँदो रहेछ।
सायद त्यस दिन मेरो मन पनि कुनै सुरुङभित्र प्रवेश गर्दै थियो, जसको अर्को छेउमा के थियो, मलाई थाहा थिएन।
केही घण्टापछि मलेखु हुँदै गल्छीको बाटोमा बस अघि बढिरहेको थियो। त्रिशूली नदी आफ्नो गतिमा बगिरहेको थियो। दसैँको बाटोमा यात्रुहरू घरका कुरा गर्दै थिए। बसमा दोहोर्याई-तेहर्याई बजिरहेको थियो अहिलेको भाइरल गीत 'बाहुन बाजे'। कोही गीतमा मस्त हुँदै निदाइरहेका थिए, कोही गफमा व्यस्त।
म भने बेलाबेला त्रिशूलीको बगाईमा लीन हुन्थेँ।
मेरो छेउमा बसेकी युवती भने प्रायः मौन थिइन्। कहिलेकाहीँ फोन हेर्थिन्, फेरि झ्यालतिर फर्किन्थिन्।
मलेखु नजिक खाना खान बस रोकियो। मैले चिया लिएँ। उनी पनि पसलको कुनामा चिया लिएर उभिएकी थिइन्।
उनको नजिकै गएँ र सामान्य स्वरमा सोधेँ, ‘घर कहाँ हो नि?’
‘गुल्मी,’ उनले भनिन्।
‘ए, म अर्घाखाँची। गुल्मी कुन ठाउँ?’
उनले ठाउँ बताइन्। त्यसपछि उनले पनि सोधिन्, ‘तपाईं काठमाडौँमै पढ्नुहुन्छ?’
‘उम, मास्टर्स। तपाईं?’
‘ब्याचलर दोस्रो वर्ष।’
त्यति नै कुराकानी भयो। तर बसमा फर्किएपछि हाम्रो मौनता पहिलेको जस्तो रहेन। अपरिचित दुई जनाबीच परिचयको एउटा सानो धागो गाँसिएको थियो।
दिउँसो बित्दै जाँदा हामीबीच कुराकानी बढ्यो। मैले उनको नाम सोधेँ।
‘अनु,’ उनले भनिन्।
नामजस्तै शान्त थियो उनको स्वर।
उनले आफ्नो पढाइ, घर र परिवारका कुरा गरिन्। कुरा गर्दै जाँदा थाहा भयो, उनका बुबाको स्वास्थ्य राम्रो थिएन। गाउँमै बसेर घरमा आमालाई सघाउँदै पढाइलाई निरन्तरता दिने ठूलो इच्छा भए पनि गाउँमा राम्रो कलेज नभएकाले जिम्मेवारी निभाउन नपाएको कुरा सुनाइन्।
‘कहिलेकाहीँ पढाइ छोडेर घरमै बसूँ जस्तो लाग्छ,’ उनले झ्यालबाहिर हेर्दै भनिन्, ‘तर बुबाले मेरो पढाइ पूरा भएको देख्न चाहनुहुन्छ।’
उनको त्यो वाक्यपछि म केही बेर चुप लागें।
मैले पनि आफ्नो कुरा सुनाएँ। पढाइ पूरा भएपछि के गर्ने, कस्तो जागिर पाउने, परिवारको अपेक्षा कसरी पूरा गर्ने—यी प्रश्नहरू मेरो मनमा दिनहुँ घुमिरहन्थे।
‘सबै कुरा मिलाएर अघि बढ्न सकिन्छ होला नि भन्ने आशामा म पनि चलिरहेको छु,’ मैले भनेँ।
उनी हल्का मुस्कुराइन्।
‘जीवनमा केही कुरा नमिले पनि अहिले हामीले जे गर्नुपर्ने छ त्यसलाई निरन्तरता दिनुपर्छ।’
त्यो सामान्य वाक्य थियो। तर कहिलेकाहीँ हामीलाई जीवनका ठूला उत्तरहरू कुनै पुस्तकले होइन, अपरिचित व्यक्तिको साधारण शब्दले दिन्छन्।
दिन तानिँदै थियो। बस कृष्णभीर नजिक पुग्दा लामो जाममा रोकियो। आधा घण्टा बित्यो, एक घण्टा बित्यो, तर बस अघि बढेन। चालक र सहचालकबाट बाटोमा समस्या भएको खबर आयो। रसुवा तथा आसपासका क्षेत्रमा परेको बाढीपहिरोको प्रभावले सडक यातायातमा समस्या भइरहेको चर्चा यात्रुहरूबीच चलिरहेको थियो।
झ्यालबाट हेर्दा कतै सडकछेउ केही परिवार पाल टाँगेर बसेका देखिए। कतै भत्किएका संरचना थिए, कतै थुप्रिएको माटो र ढुङ्गा। केही मानिसहरू भत्किएका घरका सामान मिलाउँदै थिए। घर फर्किने हाम्रो हतारभन्दा धेरै ठूलो थियो उनीहरूको जीवन सम्हाल्ने सङ्घर्ष।
अनुले झ्यालबाट बाहिर हेरिरहिन्। उनको अनुहारमा पहिलेभन्दा गम्भीरता थपियो।
हामी दुवै केही बेर मौन रह्यौँ। त्यो मौनतामा शब्दभन्दा धेरै कुरा थिए। सायद बाहिरको दृश्यले उनलाई आफ्नै परिवारको असुरक्षा सम्झाएको थियो।
डेढ घण्टापछि जाम खुल्यो। बस फेरि गुड्न थाल्यो। दिन बिस्तारै पहाडका काँधबाट झर्दै थियो। हामीले काठमाडौँको बसाइँ, गाउँ र जीवनका साना खुसीहरूबारे कुरा गर्यौँ। कहिले हाँस्यौँ, कहिले चुप लाग्यौँ। न कुनै प्रेम प्रस्ताव थियो, न अनावश्यक नजिकिने प्रयास। तैपनि, दिनभरि सँगै यात्रा गर्दा उनीसँग एउटा अनौठो आत्मीयता बढ्दै गएको थियो।
मलाई उनको अनुहारभन्दा बढी उनको सोच मन पर्न थालेको थियो। उनको हाँसोभन्दा बढी दुःख लुकाएर सामान्य देखिन सक्ने बानी। उनको आवाजभन्दा बढी अरूको पीडा देखेर गम्भीर बन्ने मन।
सायद प्रेम सधैँ कसैलाई आफ्नो बनाउन चाहनु मात्र होइन। कहिलेकाहीँ कसैलाई केही घण्टा भेटेर पनि उसको जीवनप्रति सम्मान जाग्नु प्रेमको सुरुवात हुन सक्छ।
नारायणघाट कटेपछि भने बाटो केही सिधा र सहज हुँदै गयो। काठमाडौँदेखि नारायणघाटसम्मको लामो यात्रा, घुम्तीहरू, जाम र थकानले होला, बसको हल्का हल्लाइसँगै मेरा आँखा पनि बिस्तारै बन्द हुन थाले। बाहिर सडक आफ्नै गतिमा पछाडि दौडिरहेको थियो, भित्र यात्रुहरू कोही मोबाइलमा व्यस्त थिए, कोही निदाइसकेका थिए। म पनि कहिले निदाएँछु, पत्तै पाइनँ।
दाउन्ने आउनै लाग्दा अचानक मेरो निद्रा खुल्यो। आँखा खोलेर यताउता हेर्दा अनु मेरो काँधमा टाउको अड्याएर मस्त निदाइरहेकी रहिछिन्। उनको अनुहारमा दिनभरको थकान प्रस्ट देखिन्थ्यो। आँखाका परेलाहरू शान्त थिए, कपालका केही रेसा गालामा आएर अडिएका थिए। बसको हल्लासँगै उनको टाउको हल्का चल्थ्यो, अनि फेरि मेरो काँधमा आएर अडिन्थ्यो।
म केही बेर निश्चल भएर बसिरहेँ। उनलाई ब्युँझाउन मन लागेन। दिनभरको यात्राले गर्दा उनले लुकाउन खोजेको थकान सायद निद्राले बाहिर ल्याएको थियो। कम्तीमा त्यो क्षण त उनी कुनै चिन्ताबाट मुक्त भएर निदाउन पाएकी थिइन्।
मनमा अनौठो अनुभूति भइरहेको थियो। बिहानसम्म नामसमेत थाहा नभएकी एउटी अपरिचित युवती, जससँग केही घण्टाअघि मात्र परिचय भएको थियो, अहिले मेरो काँधमा यति निश्चिन्त भएर निदाइरहेकी थिइन्। त्यो निकटतामा कुनै वाचा थिएन, कुनै सम्बन्धको नाम थिएन। केवल यात्राको थकान थियो र सायद, एकअर्कासँग सहज हुँदै गएको एउटा सानो विश्वास।
त्यही बेला अनुको फोन बज्यो। फोनको आवाजले उनी झसङ्ग ब्युँझिइन्। आफ्नो टाउको मेरो काँधमा अडिएको थाहा पाएपछि उनी हतारहतार सिधा बसिन् र फोन उठाइन्।
‘हेलो, आमा!’ उनले फोनमा भनिन्।
उनको स्वर एकाएक नरम भयो। उताबाट के भनियो, मैले सुनिनँ। तर उनी ध्यान दिएर आमाको कुरा सुनिरहेकी थिइन्।
‘हस् आमा, चिन्ता नगर्नु। आज दिदी भिनाजुकोमा बस्छु, भोलि दिउँसो तम्घासको गाडी चढ्छु,’ उनले भनिन्।
फोन राखेपछि उनी केही बेर चुप लागिन्। अनुको अनुहारमा घर पुग्ने उत्सुकता झल्किएको थियो।
‘म त कस्तो भुसुक्कै निदाएछु!’ उनी मतिर फर्किएर हल्का लजाउँदै भनिन्।
‘मिठो निद्रा देखेर उठाउन नि मन लागेन,’ मैले सहज बन्न खोज्दै भनेँ।
उनले केही भनिनन्, केवल मुसुक्क हाँसिन्। तर त्यो मुस्कानमा लाज थियो कि अप्ठ्यारो, अथवा अलिकति आत्मीयता पनि मिसिएको थियो—म छुट्याउन सकिनँ।
त्यतिकैमा सहचालकको आवाज आयो, ‘दाउन्नेमा एकछिन रोकिन्छ है, खाजा खाने, फ्रेश हुने गर्नुस्!’
दाउन्नेमा बस रोकियो। हामी खाजा खान ओर्लियौँ। चिसो हावा चलिरहेको थियो। तातो चियाको बाफसँगै दिनभरिका थकानहरू पनि बिस्तारै हराउँदै गएजस्ता लागे। हामीले सामान्य खाजा खायौँ, बाटो र घर पुग्ने समयबारे कुरा गर्यौँ, अनि फेरि बसमा चढ्यौँ।
साँझ पर्दै थियो। बर्दघाटको सीधा सडकमा बसले आफ्नो गति बढायो। झ्यालबाहिरका दृश्यहरू धमिला हुँदै थिए। कतै पसलका बत्ती बल्न थालेका थिए, कतै घर फर्किने मानिसहरू सडकछेउ देखिन्थे। बुटवल अब धेरै टाढा थिएन।
दिनभरि गफिँदागफिँदै नजिकिएको हाम्रो मौनता फेरि फर्कियो। अनु झ्यालबाहिर हेर्दै थिइन्। केही बेरपछि उनको टाउको बिस्तारै मतिर ढल्किन थाल्यो। मैले सोचेँ, सायद फेरि निदाउन लागिन्। केही क्षणमै उनको टाउको पहिलेझैँ मेरो काँधमा आएर अडियो।
यसपटक भने म निदाएको थिइनँ।
मनभित्र कस्तो कस्तो भइरहेको थियो। अलिकति लाज, अलिकति काउकुती, अनि शब्दमा भन्न नसकिने मीठो अनुभूति। काँधमा उनको टाउकोको हल्का भार थियो, तर मनमा भने त्योभन्दा धेरै कुरा थपिँदै थिए। उनलाई सहज होस् भनेर म आफ्नो शरीर नचलाइकन बसिरहेँ। मनले भनिरहेको थियो, यस्तो क्षण पनि कति छोटो हुँदो रहेछ!
उनी निदाइरहेकी थिइन्। म भने झ्यालबाहिर दौडिरहेका बत्तीहरू हेर्दै अनेक कुरा सोचिरहेको थिएँ। यो यात्रा सकिएपछि के हामी फेरि यसरी भेटौँला? काठमाडौँ फर्किँदा उनको सम्झना आउला? उनले पनि मलाई सम्झिन्छिन् होला? कि उनका लागि म बसमा भेटिएको एउटा सामान्य सहयात्री मात्र हुनेछु?
यस्तै सोच्दासोच्दै मेरो आँखा पनि भारी हुन थालेछ। बसको एकनासको आवाज, सडकको सहज गति र काँधमा अडिएको उनको न्यानोपनले होला, म पनि निदाएछु।
बुटवल चौराहाको चहलपहल र बसको गति कम भएको महसुस भएपछि बल्ल मेरो निद्रा खुल्यो। आँखा खोल्दा बाहिर परिचित सडक र बत्तीहरू देखिए। बुटवल आइपुगेको अनुभूति भयो। तर त्यसै बेला एउटा अनौठो कुरा महसुस गरेँ—अनु त अझै जागै थिइन्, र मेरो टाउको उनको काँधमा अडिएको थियो।
म झसङ्ग भएर सिधा बसेँ।
‘ओहो, म पनि निदाएछु!’ भन्दै अप्ठ्यारो लुकाउन हाँस्ने प्रयास गरेँ।
मनमा भने एउटै कुरा खेलिरहेको थियो—भर्खरै बसमा भेटेको एउटा अपरिचित केटो उनको काँधमा निदाउँदा उनले के सोचिन् होला? उनलाई असहज त भएन?
मैले उनको अनुहारतिर हेरेँ।
उनी केही भनिनन्। केवल मतिर हेरेर मुसुक्क मुस्कुराइन्।
त्यो मुस्कानमा कुनै गुनासो थिएन। न त मलाई अप्ठ्यारो पार्ने कुनै प्रश्न नै। बरु, दिनभरि हामीबीच बनेको त्यो सानो आत्मीयतालाई चुपचाप स्वीकार गरेजस्तो लाग्यो।
म पनि मुस्कुराएँ, तर मनभित्र भने केही अनौठो भइरहेको थियो। कहिलेकाहीँ एउटा मुस्कानले हजार शब्दभन्दा धेरै कुरा भनिदिन्छ। त्यो मुस्कानको अर्थ के थियो, मैले कहिल्यै सोधिनँ। तर त्यस दिनदेखि जबजब काठमाडौँ–बुटवलको बाटो सम्झिन्छु, मेरो मनमा उनको त्यही मुस्कान आइपुग्छ— जसमा एउटा लामो यात्राको थकान थियो, अलिकति लाज थियो, र नचाहँदा नचाहँदै मनमा बस्न पुगेको कसैको न्यानो सम्झना पनि।
साँझ पर्दै गर्दा बुटवल आइपुगियो। झन्डै ८ महिनापछि बुटवल आएको बजारको रूपरङ्ग अलि फेरिएको जस्तो लाग्यो। बाहिर निस्कने समय भएको थियो। बिहानदेखि एउटै सिटमा बसेर नजिकिएको त्यो परिचय अब केही मिनेटमै छुट्दै थियो।
मलाई अचानक समय यति छिटो बितेकोमा गुनासो लाग्यो।
अनुले आफ्नो झोला मिलाइन्। म पनि सामान झार्न तयार भएँ। भन्नुपर्ने धेरै कुरा थिए, तर कुनै कुरा ठीक लागिरहेको थिएन।
‘फेसबुक, इन्स्टाग्राम केही चलाउनुहुन्छ?’ अन्ततः मैले सोधेँ।
उनी केही क्षण रोकिइन्।
‘म साँझ रिक्वेस्ट पठाउँछु एसेप्ट गर्नुहोला है त,’ मुसुक्क गर्दै उनले भनिन्।
उनले यति सहजताले भनेकी थिइन् कि मैले थप केही सोध्नै सकिनँ। उनको रिक्वेस्ट साँच्चै आउँछ कि आउँदैन भन्ने कुरा मनमा थियो, तर त्यो सोधेर त्यही क्षणलाई अप्ठ्यारो बनाउन चाहिनँ।
‘घर पुगेपछि खबर गर्नुहोला,’ मैले भनेँ।
‘तपाईं पनि।’
उनी बसपार्कबाट अघि बढिन्। एकपटक पछाडि फर्केर हेरिन् कि जस्तो लाग्यो, तर म निश्चित हुन सकिनँ। केही क्षणमै उनी बस र मानिसहरूको भीडमा हराइन्।
म त्यहीँ उभिएर उनलाई ओझेल परेको दिशातिर हेरिरहेँ।
त्यसपछि हाम्रो कुरा कति अघि बढ्यो, त्यो अर्कै कथा हो। तर त्यस दिनको यात्रालाई म आजसम्म बिर्सन सक्दिनँ।
कुनै लामो यात्रामा झ्यालछेउ बसेकी युवती देख्दा मलाई अनुको सम्झना आउँछ। नागढुङ्गा सुरुङबाट बाहिर निस्किएको त्यो घाम, कृष्णभीरको जाममा सँगै बिताएको मौनता, दाउन्नेमा उनको लजाएको मुस्कान र बुटवल चौराहामा उनको काँधमा निदाएको त्यो क्षण—सबै कुरा मनमा ताजै छन्।
मलाई थाहा छैन, अनुले पनि त्यो यात्रालाई कहिल्यै सम्झिन्छिन् कि सम्झिँदिनन्। सायद उनका लागि त्यो दसैँको एउटा सामान्य यात्रा मात्र थियो। तर मेरा लागि भने त्यो यात्राले एउटा अपरिचित मान्छेलाई सम्झनाको आफ्नै मान्छे बनाइदिएको थियो।
त्यस दिन म घर फर्किएको थिएँ। तर बुटवल आइपुग्दासम्म मेरो मनको एउटा सानो हिस्सा भने त्यही बसको सिटमा, अनुको छेउमै छुटेको थियो। बुटवलसम्मको साथ!