कफीगफ
नढाँटी भन्दा, म गाउँ फर्किनुको एउटा लोभ नितान्त निजी थियो।
आफू हुर्किँदाको कोठामा सुत्ने रोमाञ्चकता!
उत्तरपट्टिको झ्यालबाट सुटुक्क आइपुग्ने निष्पट्ट अँध्यारोसँग अँगालो हाल्दै निदाएका रातहरू फर्काउने कल्पनाले म आन्तरिक रूपमा गदगद थिएँ।
मलाई अँध्यारोको त्यस्तो विशेष प्रभाव हुन्छ भन्ने थाहा थिएन।
हाम्रा लागि अँध्यारो खासमा कति उज्यालो हो भन्नेमा म अनभिज्ञ थिएँ। अँध्यारो भनेको खराब, बेकारको, महत्वहीन भन्ने लाग्थ्यो। उज्यालोको कति महिमागान थियो भने अँध्यारोको पक्ष लिनु नराम्रो भन्ने परेको थियो।
काठमाडौंका रातहरूमा मैले कृत्रिम प्रकाशको दबदबा बढेको चाल पाउँदै गएँ, जब जति बाक्लो पर्दा ताने पनि बाहिरको उज्यालो हामीलाई चियाउन भित्र टुप्लुकिन्थ्यो।
गाउँको घरको अँध्यारोको सम्झना बढ्न थालेको मैले प्रकारान्तरले महसुस गर्न थालेको थिएँ।
अँध्यारोको अभावले म सके निस्सासिएको थिएँ!
बाल्यकाल र किशोरवयका ग्रामीण रातहरूको चकमन्नताको अमिट छाप नपरेको भए मलाई त्यति साह्रो गाउँको सुत्ने कोठाको ख्याल आउने थिएन होला।
अँध्यारो एक किसिमको भयको अनुभव थियो, जससँग भूतको कथाले हाम्रो कल्पनाशक्ति बढाउँथ्यो। मैले दिउँसोभन्दा राति, र त्यो पनि औंसीको अँध्यारोमा, बढी कथाहरू गाढा अनुभव गरेको कारण त्यही हुनुपर्थ्यो।
म गाउँबाट सहर जाँदा किचकन्नीहरूका कथा बढी चल्तीमा थिए। उज्यालो थपिँदै जाँदा काठमाडौंका गल्लीहरूबाट पाइताला उल्टा भएका कल्पनाका आकारहरू विस्मृतिमा जान थाले।
गाउँमा मैले प्रायः सम्झिने राँके भूत हिँडेको र एउटा डाँडाबाट अर्को डाँडासम्म मशाल बाल्दै तर्साएको सुनाउनेहरू आफै डाँडा काट्दै गए।
सत्तरी वर्ष पुरानो ढुंगा, माटो र काठको घर मर्मतपछि मैले आफ्नो पुरानै कोठामा नयाँ खाट हालेँ।
झ्याल त्यही थियो। तर बाहिर राँके भूत दौडिने दिशामा सडक तन्किसकेको थियो।
हाम्रो खेतको पेट चिरेर जुन सडक गएको थियो, अहिले थप चिरेर सडक दोब्बर विस्तार आयोजनाको काम धमाधम भइरहेको छ।
धन्य, विश्व बैंक!
सडकसँगै तानिएका बिजुलीका लट्ठा, पोल र अनेक किसिमका सम्पर्क सञ्जालका तन्द्र्याङतुन्द्रुङ तारहरूले मेरो झ्यालबाहिरको निष्पट्टतामाथि निर्मम शासन गरिसकेका छन्।
सडक राति उज्यालो पार्नुपर्छ भन्ने मान्यताले देशभरि राज गरेकै छ।
हाम्रो नजिकै ठडिएको वडा कार्यालयबाट कार्यालय समय सकिएपछि राष्ट्रिय झन्डा झिकिन्छ, तर राति पनि कार्यालय जागा रहेको भान पार्न बत्ती चम्किलो पारिन्छ।
जताततैको चम्किलो रातमा पशुपन्छी कसरी ट्वाल्ल पर्छन्, मैले देख्दै आएको छु।
एक साँझ मुसा लखेट्दै आएको लाटोकोसेरो हाम्रो भान्सामा छिर्यो। बत्तीको कारण लठ्ठ पर्यो। च्याप्प समाउन सजिलै सकियो।
बत्ती निभाएर छाडिदिएपछि बल्ल भुरूर्र उड्यो।
जूनकिरी हराए, लाटोकोसेरो पनि देखिन छाड्यो भनेर कृत्रिम प्रकाशलाई दोष दिँदा गाउँघरमा भर्खर आउँदै गरेको 'विकास' लाई गिज्याएजस्तो हुन्छ। जूनकिरी र लाटोकोसेरो हाम्रा अभिन्न मित्र हुन् भन्ने बुझाउन पनि कठिन हुँदै गएको छ।
कृषि त्यसै त्याज्य हुँदैछ भने किसानका 'असल साथीहरू' हराऊन् कि उदाऊन्, बिजुलीको उज्यालोमा कसलाई केको खसखस?
अँध्यारोप्रति हाम्रो आधुनिक भनिएको चेत नकारात्मक हुँदै जाँदा अँध्यारो पनि जीवनको आधारभूत वातावरणीय अवस्था हो भन्ने बुझाउन जटिल भइसकेको छ।
घर उसै पनि थपिएका छन्, र आधुनिक घर भनेका टहटह बत्ती!
२०७२ को भुइँचालोपछि पुराना घर हेपिए, सिमेन्ट ढलान गरिएका घरहरूले जताततै गाउँबस्ती चेपे।
कमेरो लिप्ने घरका भित्ता केमिकलका स्थायी चम्किला रङले सजिए, जसमाथि बिजुलीको बल्ब बल्दा गाउँ नै धपक्क!
जब म पहिलो प्रहरमै निद्रादेवी कतिखेर आऊलिन् भनेर ओल्टोकोल्टो फेर्छु, काठको झ्याललाई बेस्करी धकेल्दै, सानो छिद्रलाई ठूलो भ्वाङ पार्दै, कहाँकहाँबाट कुन घर वा कुन चोक चम्काउन झुन्ड्याइएको बत्ती आँखै खान आइपुग्छ।
अँध्यारो हाम्रा रातहरूबाट क्रमशः पातलो हुँदै गएको छ। हामी अँध्यारोको पूर्ण लाभ लिनबाट वञ्चित हुँदै गएका छौं। अँध्यारोका कथाहरू एकादेशमा जाँदैछन् र मिथहरू मासिँदैछन्!
हालसालै मलाई अँध्यारोको यतिविधि मर्म परेको त्यो ऊटीको एउटा रातको अन्तिम प्रहरले हो।
हाम्रो सामूहिक यात्राको साइत छोप्न मैले होटलको कोठाको पर्दा खोलेँ। अँध्यारोले क्षितिजसँग मधुरो मितेरी लगाएको मिठास पाएँ।
मोबाइलको बत्ती बालेर हिँड्दाको आनन्दको अतिरेकको रहस्य के रहेछ भन्नेमा गौर गरेँ।
के कारणले त्यो अँध्यारोसँग म त्यति साखुल्ले पल्टिन पुगेको थिएँ? पक्कै मेरो बाल्यकाल र किशोरवयको प्रभाव फर्केको थियो।
'साइन्स' र 'नेचर' मा प्रकाशित विज्ञान लेखका लिंक खोलेँ।
पृथ्वीमा अँध्यारोको अभाव र कृत्रिम बत्तीको अत्यधिक प्रयोगका असरबारेका वैज्ञानिक लेखले मलाई थप छ्याङ्ग पारिदिए।
पृथ्वीका रात्रिकालीन प्रकाश उत्सर्जनमा हालैका वर्षमा १६ प्रतिशत वृद्धि भेटिएछ। दिन र रातको प्राकृतिक लय खल्बलिँदा धेरै असर पर्न थालिसकेका छन्। सडक र भवनका झिलिमिली, विज्ञापन बोर्ड, कारखाना र रातभर बलिरहने घरका बत्तीले रातलाई अप्राकृतिक बनाइरहेका छन्।
आज पृथ्वी यति साह्रो उज्यालो हुँदैछ कि हामी रातको खास अनुभवको अभावबाट गुज्रिन थालिसकेका छौं। आकाशको चमक प्रतिवर्ष बढ्दै जाँदा मानिसको नांगो आँखाले देख्न सक्ने ताराहरूको संख्या घटिरहेको छ।
हामीले सानोमा देख्ने तारा आकाशबाट हराउँदै गएका त होइनन्, हामीले देख्न सक्ने क्षमता गुमाइरहेका हौं।
अँध्यारो नहुनु ताराहरू नदेखिनु मात्र होइन। प्रकृति र मानव स्वास्थ्यसँगको सम्बन्ध खल्बलिनु पनि हो।
तारा नदेखिनु, कीराफट्यांग्रा हराउँदै जानु, चराचुरूंगीको दिनचर्या बदलिनु र मानिसको निद्रा प्रभावित हुनुलाई एउटै व्यापक वातावरणीय समस्यासँग जोड्दै प्रकाश प्रदूषण भन्न थालिएको छ।
कृत्रिम प्रकाशले मानिसका इन्द्रियदेखि कीरा, चराचुरूंगी, वनस्पति र सम्पूर्ण पारिस्थितिक प्रणालीसम्म असर पारिरहेको छ।
हाम्रो शरीरमा दिन र रात अनुसार चल्ने 'जैविक घडी' हुन्छ। रातमा प्रकाश पर्नुले मेलाटोनिनजस्ता निद्रा र जैविक लयसँग सम्बन्धित हर्मोनको उत्पादन तथा समयलाई असर गर्न सक्छ। विशेष गरी साँझ र राति आँखामा पर्ने उज्यालो, प्रकाशको रङ र त्यसको अवधि महत्त्वपूर्ण हुन्छन्।
५१ वटा महामारी–विज्ञान सम्बन्धी अध्ययनबाट बाहिरी कृत्रिम प्रकाश र विभिन्न मानव स्वास्थ्य अवस्थाबीचका सम्बन्धहरू फेला परे। निद्रा र जैविक लयका समस्या, मोटोपन, मुटु सम्बन्धी रोग तथा केही क्यान्सरसँग समेत सम्बन्ध पाइए।
रातको कृत्रिम उज्यालोले चराचुरूंगीको खाना खोज्ने, आराम गर्ने, ऊर्जा सञ्चित गर्ने प्रक्रिया, उड्ने दिशा र दुरी नै खल्बल्याइदिँदो रहेछ।
वनस्पतिलाई पनि त्यसै गरी प्रभावित गर्छ। रातको प्रकाशले केही वनस्पतिमा दिनको लम्बाइ र ऋतुको संकेत बुझ्ने प्रक्रियामा दखल पुर्याउने मात्र होइन, रातमा सक्रिय परागवाहक र वनस्पतिबीचको सम्बन्धमा समेत अवरोध आउने रहेछ।
बढ्दो उज्यालोबीच वैज्ञानिकहरू अँध्यारोको आवश्यकतामाथि प्रकाश पार्न खोज्दैछन्। हामीलाई तारा, आकाशगंगा र अन्य खगोलीय वस्तु अवलोकन गर्न अँध्यारो आकाश आवश्यक हुन्छ भन्दैछन्।
वैज्ञानिक अध्ययन, सांस्कृतिक परम्परा र मानिसको ब्रह्माण्डसँगको सम्बन्ध जोगाउन मात्र होइन, जीवहरूको प्राकृतिक रात सुरक्षित राख्न पनि यो जरूरी छ।
अँध्यारो आकाशको संरक्षण गर्न अभियान पनि चलेका छन्। मैले तारा र तारामण्डलसँग सम्बन्धित मिथक, किम्बदन्ती, लोककथा तथा सांस्कृतिक परम्पराकी अध्येता र अमेरिकी अभियन्ता मेरी स्टेवार्ट आडम्सको अन्तर्वार्ता पनि पढेँ।
तारामय आकाशको पौराणिक वैभव पुनः खोज्न जरूरी ठान्ने मेरीले उल्टै प्रश्न गरेकी छन्, 'हामीले रातको आकाशबाट ताराहरू मात्र गुमाइरहेका छौं, कि संसारलाई विस्मय, कल्पना र अर्थका साथ हेर्ने एउटा पुरानो मानवीय क्षमता पनि गुमाइरहेका छौँ?'
'कथावाचकका रातका आकाश' भन्ने अर्थ लाग्ने नामको पोडकास्ट पनि चलाउने मेरीका लागि खगोलशास्त्र र कथावाचन आकाशलाई बुझ्ने दुई भिन्न तर परिपूरक मानवीय तरिका हुन्।
दास गोएथेअनममा प्रकाशित अन्तर्वार्तामा उनले अमेरिकामा अँध्यारो आकाश संरक्षण गर्ने एउटा पार्क स्थापनाका लागि टोलीको नेतृत्व गरेको विशेष उल्लेख छ।
उनको तर्कमा, अँध्यारोलाई असुविधा, असुरक्षा र पछौटेपनको संकेत मान्ने सोचाइबाट उज्यालो 'विकासको प्रतीक' बन्न पुग्यो। जबकि, प्राकृतिक संसारमा रातको अस्तित्व पृथ्वीको जीवनचक्रको अभिन्न अवस्था हो।
सबै कुरा सधैं देखिनुपर्छ भन्ने कहाँ छ?
दिनमा आँखाले टाढासम्मका वस्तु छुट्ट्याउँछ। रातमा भने दृष्टि सीमित हुन्छ, तर आकाशतिर हेर्दा असंख्य ताराहरू देखिन थाल्छन्। हामी आफूलाई वरिपरिको संसारको केन्द्र ठान्ने बानीबाट केही क्षण बाहिर निस्कन सक्छौं।
मधुरा ताराहरूलाई कृत्रिम प्रकाशले ओझेल पार्दा हामीले ब्रह्माण्डको दृश्यवैभवको ठूलो अंश देख्न पाउँदैनौं भन्ने उनको जिकिर छ।
प्राकृतिक अँध्यारो जोगाउनु प्रकाशको विरोध गर्नु होइन।
मेरी लगायतले गरेको अँध्यारो आकाश संरक्षण पार्क रातको प्राकृतिक अँध्यारो र ताराहरू हेर्न सकिने अवस्थाको संरक्षणलाई महत्त्व दिने क्षेत्र हो। यसको उद्देश्य पर्यटकलाई ताराहरू देखाउनु मात्र होइन। रातको आकाशलाई साझा प्राकृतिक सम्पदा मानेर त्यसलाई भविष्यका पुस्ताका लागि पनि सुरक्षित राख्नु हो।
आवश्यक ठाउँमा आवश्यक मात्रामा प्रकाश प्रयोग गर्दै रातलाई पनि आफ्नो प्राकृतिक स्वरूपमा रहन दिनुपर्छ भन्नेमा मेरी र उनीजस्ता अध्येताहरूको जोड छ।
ताराहरू नदेखिने गरी आकाशतिर फैलिने प्रकाश नियन्त्रण गर्ने, अनावश्यक चम्किला सडक, भवन र विज्ञापनका बत्ती रोक्ने, घर वा प्राकृतिक वासस्थानमा पस्ने अनावश्यक प्रकाश छेक्ने, रातको प्राकृतिक उज्यालो–अँध्यारो चक्र बिगार्ने निरन्तर प्रकाश बन्देज गर्ने जस्ता उपाय गर्न सकिन्छ।
खेतबारीमै समेत अँध्यारो आवश्यक हुन्छ भनेर बुझ्ने हो भने कृषि क्षेत्रमा रातको जगेर्ना जरूरी भइसकेको छ।
कृषि अनुसन्धान परिषदका अध्येताहरूले नै नेपालमा कृत्रिम प्रकाशबाट बालीनाली प्रभावित हुन थालिसकेको तथ्य संकलन गरेका छन् र भरसक त्यस्ता बत्ती कम गर्न सुझाएका छन्।
म आफै पनि आफूले हेरचाह गरिरहेको खेतबारी र पशुपन्छीलाई पूर्ण अँध्यारोको अधिकार कसरी दिलाउन सकिएला भन्नेमा चिन्तित छु। मैले बाल्यकालमा अनुभव गरेको अँध्यारो अहिले आफ्नै खेतबारीमा छैन!
त्यसभन्दा पनि बढी सरोकार हाम्रा बालबालिकाले कस्तो आकाश हेर्दै हुर्केलान् भन्ने छ।
मेरीजस्ता अध्येताको प्रश्न छ— बालबालिकाले आफ्नो जीवनमा कहिल्यै आकाशगंगा देखेनन् भने उनीहरूले के गुमाउँछन्? केवल एउटा खगोलीय दृश्य? अथवा आकाशको विशालतासँग प्रत्यक्ष भेटेर आफूभन्दा धेरै ठूलो संसारको अनुभूति गर्ने अवसर पनि?
पुर्खाहरूले ताराहरूका आधारमा ऋतुका संकेत बुझ्थे, खेतीपातीको समय पहिल्याउँथे, यात्रामा दिशा पत्ता लगाउँथे र आकाशका आकृतिमा कथा बुन्थे। आज हामीसँग एआईले तत्काल उपलब्ध गराउन सक्ने क्यालेन्डर, मौसम पूर्वानुमान र डिजिटल नक्सा छन्।
तर प्रश्न छ— के हामी प्रत्यक्ष प्रकृति–अवलोकनको अनुभव गुमाउन चाहन्छौं? आकाशगंगाको तस्बिर आफ्नो मोबाइलमा हेर्नु र रातको चकमन्नतामा आफ्नै आँखाले आकाशगंगा देख्नु एउटै होला त?
अध्येताहरूको जिकिर छ, तारा हेर्ने परम्परा पुनर्जीवित गर्नु भनेको पुराना कथामा फर्कनु मात्र होइन; प्रकृतिलाई फेरि कथा सुनाउन सक्ने संसारका रूपमा हेर्नु पनि हो।
आकाशसँगको सम्बन्धले वैज्ञानिक जिज्ञासा र साहित्यिक कल्पना दुवैलाई पोषण दिन सक्छ भन्ने ठानिन्छ। ताराहरू कवितामा प्रायः सुदूर लक्ष्य, एक्लोपन, स्वतन्त्रता र अनन्तताका प्रतीक बनेका छन्।
वैज्ञानिक खोजी जारी छ। अँध्याराका बारेमा भने कविहरूले धेरै प्रकाश पारेका छन्।
जस्तो, आजका जल्दाबल्दा कवि विनोदविक्रम केसी छुस्स लेख्छन्—
हाम्रो जुनी
के रैछ र, जूनकिरी!
बस्, एक बाकस अन्धकार!
***
(नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @narayanwagl