केही डरलाग्दा प्रश्नहरूबाट सुरु गरौँ।
बा-आमा-गुरुको आज्ञामा प्रश्न उठाउन नहुने किन हो?
कार्यालयको प्रमुखको भन्दा धेरै राम्रो विचार सानो तहको कर्मचारीको हुन सक्दैन र कुनै विषयमा?
कुनै काम हाम्रा पुर्खाहरूले यो तरिकाले गरे भन्दैमा त्यो नै सही हो भन्न मिल्छ?
विवाहका वा मृत्यु पछिका विधिहरू कुनै समयमा लेखिएको कुनै पनि धर्मका पुस्तकका तरिकाले नै मात्र गर्नैपर्छ भन्ने किन हो?
अनेकौँ यस्ता प्रश्नहरू छन्, जुन यदि हाम्रो दिमागमा आइ नै हाले भने पनि सायदै तपाईँ-हामी कसैले सोच्ने वा सोध्ने गरेका हौँला। यी प्रश्नहरूमा यो सही वा त्यो गलत भन्न खोजेको होइन यहाँ। तर प्रश्न नै सोध्न नमिल्ने भन्ने चाहिँ पक्कै गलत हो।
किन हो त कतिपय विषयमा प्रश्न नै सोध्न नमिल्ने? कसको डरले? यसलाई बुझ्ने एउटा फरक दृष्टिकोण राख्दै छु। यो दृष्टिकोणको स्रोत डेभिड डोइचको ‘द बिगिनिङ अफ इन्फिनिटी’ भन्ने पुस्तक हो।
यसको लागि सुरुमा मिम भनेको बुझ्नुपर्छ। साधारणतया फेसबुक लगायत सामाजिक सञ्जालतिर आउने चित्रसहितको जोकलाई मिम भनेर बुझिन्छ। खासमा त्यति मात्र होइन मिम। मिम शब्द प्रसिद्ध बायोलजिस्ट रिचर्ड डकिन्सले ‘द सेल्फिस जिन’ किताबमा प्रस्तुत गरेका हुन्। जीनसँग राइम हुने गरी। जसरी जीन प्राणीको सबैभन्दा सानो इकाई हो, त्यसरी विचार वा आइडियाको एक इकाईलाई उनले मिम भनेका हुन्।
जीनको उद्देश्य आफ्नो धेरैभन्दा धेरै प्रतिलिपि बनाउने भएजस्तै उद्देश्य मिमको पनि हुन्छ। उदाहरणको लागि हास्यपूर्ण जोक वा सुन्दर गानालाई सफल मिम भन्न सकिन्छ। किनभने मलाई कुनै जोक मनपर्यो भने म त्यो अरूलाई सुनाउँछु र उनीहरूले अरूलाई अनि त्यस्तै गर्दै त्यो जोक भाइरल हुन्छ भनिन्छ। तर कुनै झ्याउलाग्दो कहानी छ वा क्लासमा पढेको लेक्चर छ भने त्यो कसैले कसैलाई भन्दैन अनि असफल मिम हुन्छ।
जोक वा कहानी मात्र होइन, जुनसुकै विचार वा आइडिया पनि मिम हुन्छ, चाहे त्यो कपालको शैली होस् वा भगवानप्रतिको आस्था वा डर, चाहे कुनै डान्स स्टेप होस् वा ‘हे राम’ जस्तो कुनै थेगो।
त्यो विचार पनि हुन सक्छ, जस्तै— ‘बच्चाबच्चीलाई ठीक बाटो लगाउन कहिलेकाहीँ दुई चार झापड नि लगाउनु पर्छ’ वा ‘पुरुष भएपछि सानो कुरामा रुँदै बस्ने होइन, अलि कडा हुनुपर्छ’। खुला बजार अर्थतन्त्र वा कम्युनिजम जस्ता सिद्धान्तहरू अनि हिन्दु वा मुस्लिम जस्ता धर्म पनि मिमका समूह हुन्।
मिम चाहे जेसुकै होस्, त्यसको एकमात्र उद्देश्य हुन्छ—आफ्नो स्वरूप जस्ताको तस्तै राखेर धेरैभन्दा धेरै मानिसको दिमागमा डेरा जमाउनु। अवश्य, मिमले यो सोचेर गर्दैन, मिमले सोच्नै सक्दैन, मिम कुनै सचेत प्राणी होइन सोच्नलाई। तर परिणाममा हेर्दा त्यस्ता मिम सफल हुन्छन्, जसले दिमागमा प्रवेश गरेपछि त्यो दिमाग भएको व्यक्तिमार्फत अरू दिमागहरूमा छिटोभन्दा छिटो प्रवेश गरी दह्रोसँग आफ्नो जकड कायम राख्छन्।
अब हेरौँ, कस्तो खालको मिमले यस्तो दिमाग कब्जामा सफलता हासिल गर्न सक्छन् त?
मेरो दिमागमा कुनै विचार आयो (ए भनौँ) कोहीमार्फत। अनि मैले त्यसबारे सोचेँ, मलाई यो विचार त्यति ठीक लागेन। अब म त्यो विचार अरूलाई सुनाउँदिनँ वा परिवर्तन गरेर सुनाउँछु। यस प्रक्रियामा त्यो ए विचारको मिम हार्यो।
अब अर्को बी भन्ने विचारको मिम। मानौँ, यो विचार मैले मेरो गुरूबाट सुनेँ। उहाँले भन्नुभयो—बी भनेको यस्तो सत्य हो, जसलाई तिमीले प्रश्न गर्ने होइन; यो तिमीले अहिले पूरै बुझ्न सक्दैनौ; पहिला यसलाई मनन गर, बुझ, दिनदिनै पाठ गर अनि बल्ल तिम्रो ज्ञान खुल्छ। म तृप्त भएँ, यो विचारलाई पूजा गरेँ, अरूलाई पनि सुनाएँ, उनीहरू पनि तृप्त। कसैलाई यो विचारमा केही खोट जस्तो लाग्यो भने पनि उसले भन्ने आँट गरेन वा भन्न खोज्दा गाली खायो। अनि यो विचारयुक्त मिम एकदमै सफल मिम भयो। किन? यसले आफूलाई हानि गर्ने सबैभन्दा बलियो तत्व, आलोचनात्मक चेतको हत्या गर्यो। यस्ता मिमलाई अबौद्धिक मिम भन्छन् डोइच।
यस लेखको सुरुमा राखिएका प्रश्नहरू असहज लाग्नुको कारण यही नै हो। ती प्रश्नहरूले अबौद्धिक मिमको हत्यारलाई सुचारु गर्छन्। सबैभन्दा पहिलो हत्यार—प्रश्नकर्ता स्वयंको दिमागमा असहजता, लोकलाज र डर पैदा हुन्छ। त्यस्ता मिमलाई चुनौती दिने प्रश्नहरू दिमागमा बीजारोपणसमेत हुन पाउँदैनन्। यदि भइहालेछ भने पनि आफैँप्रति लज्जाबोध महसुस गरी ती प्रश्नहरूको मनमै हत्या हुन्छ।
दोस्रो हत्यार—यदि कसैले मिमको जकडबाट निस्किएर प्रश्न गर्ने आँट गरिहाल्यो भने पनि अरू अबौद्धिक मिमको कब्जामा भएका व्यक्तिहरूबाट गाली बेइज्जतीको सिकार हुन्छ। सोह्रौँ शताब्दीमा ग्यालिलियोले पृथ्वीको वरिपरि तारामण्डल घुम्छ भन्ने झुटो तर निकै शक्तिशाली क्रिस्चियन अबौद्धिक मिमलाई चुनौती दिँदा सत्य भइकन पनि झन्डै आफ्नो ज्यान नै गुमाउनु परेको थियो।
तसर्थ, अबौद्धिक मिमको जकडबाट बाहिर निस्किन एउटा व्यक्तिलाई धेरै गाह्रो छ। तर त्यो जरुरी छ, किनभने यस्ता मिमले व्यक्तिको दिमाग र उसको क्षमतालाई कहिल्यै मुखरित हुन दिँदैनन् र यस्ता व्यक्तिहरूको समाजलाई पिछड्याइरहन्छन्।
डोइच भन्छन्, जबसम्म त्यस्ता अबौद्धिक मिम परास्त हुँदैनन् तबसम्म व्यक्ति र समाज सत्यको नजिक पुग्न सक्दैन र साँचो अर्थमा उन्नति सम्भव हुँदैन। हाम्रो समाज पछि पर्नुको एक प्रमुख कारण यसका बासिन्दा हामीहरूको दिमाग धेरै अबौद्धिक मिमहरूको कब्जामा हुनु हुन सक्छ।
अबौद्धिक मिम हानिकारक हो भनेर स्वीकारेपछि यसविरुद्ध कसरी लड्ने त भन्ने प्रश्न आउँछ। त्यो हो बौद्धिक मिममार्फत। बौद्धिक मिमको रणनीति अबौद्धिक मिमको भन्दा एकदम भिन्न छ। यसले आलोचनात्मक चेतलाई प्रयोग गर्छ आफ्नो उद्देश्यको लागि।
ग्यालिलियोकै उदाहरण लिनु पर्दा, पृथ्वीलगायतका ग्रहले सूर्यको परिक्रमा गर्छन् भन्ने कुरालाई कसैले प्रश्न गर्न नपाउने भएर यो सत्य स्थापित भएको होइन। ठीक विपरीत, यसलाई धेरै वैज्ञानिकहरूले प्रश्न गर्दै परीक्षण गर्दा समेत यो तथ्य अपरिवर्तनीय रहेको कारण सत्य ठहरेको हो।
सत्यको खास चरित्र नै यही हुन्छ कि यसलाई भेट्न प्रश्न र आलोचनाको सिँढीबाट चढेर मात्र सम्भव छ। त्यो सम्भव हुनुको कारण हो सत्य एक वा सीमित हुन्छ तर झुटहरू अनेक। त्यसैले आलोचना गर्दै जाँदा फरक मानिसहरू एकै सत्यको नजिक पुग्न सक्छन्। त्यही सत्यलाई बोक्ने मिम नै बौद्धिक मिम हो।
तसर्थ, बौद्धिक मिम त्यस्ता मिम हुन्, जुन धेरैभन्दा धेरै व्यक्तिहरूले खुलेर आलोचना गरेर अबौद्धिक मिमलाई र अरू झुटलाई परास्त गरेपछि बाँकी रहन्छन्। यो त्यस्तो समाजमा मात्र कायम रहन सक्छ, जसले आलोचनात्मक चेतलाई खुलेर स्वीकार्छ। त्यस्तो समाजमा यस आलेखको सुरुवातमा गरिएका लगायतका प्रश्नहरू धेरै मानिसले खुलेर गर्न सक्छन्। अनि ती र अन्य कैयौँ विषयमा सत्यको नजिक मानिस पुग्न सक्छन्।
यो कुनै कोरा सिद्धान्तको मात्र कुरा पनि होइन। लाखौँ वर्षको मानव इतिहासमै प्रथम पटक, पछिल्लो लगभग ४०० वर्षमा सामाजिक, राजनीतिक, आर्थिक रूपमा भएको अविश्वसनीय प्रगतिको मुख्य कारण आलोचनात्मक चेतयुक्त खुला समाज र बौद्धिक मिम प्रवर्द्धन गर्ने संस्थाहरू हुन्। वैज्ञानिक विधि, लोकतान्त्रिक राज्य प्रणाली, बजार अर्थतन्त्र, स्वतन्त्र प्रेस, व्यक्तिगत स्वतन्त्रतालाई सर्वोपरि मान्ने मान्यता लगायत त्यस्ता संस्थाका उदाहरण हुन्।
यी संस्था तथा मूल्य मान्यताहरूले हाम्रो व्यक्तिगत तथा सामूहिक ज्ञानमा रहेका त्रुटिहरूलाई सच्याउँदै सत्यको नजिक लान मद्दत गर्छन्। त्यसपश्चात् मात्र सर्वोपरि बहुआयामिक उन्नति सम्भव हुन्छ; राजनीतिक, प्राविधिक, आर्थिक, नैतिक लगायत हर आयाममा। यसरी ज्ञान, विकास, प्रगति, सत्य आपसमा सम्बन्धित छन्। तसर्थ, अबौद्धिक मिमदेखि बौद्धिक मिमसम्मको चुनौतीपूर्ण तर रोमाञ्चक यात्रा सम्भव छ र अति महत्त्वपूर्ण पनि।