जनकपुरका उज्वल रोय अमेरिका गएको १५ वर्ष भयो। अहिले उनी त्यहाँ आफ्नै कम्पनी 'स्केलबिल्ड एआई' चलाउँछन्।
स्केलबिल्ड एआईले विभिन्न कम्पनीलाई आफ्नो काममा एआई प्रविधि प्रयोग गर्न सघाउँछ। डिजिटल प्रविधि प्रयोग गरिरहेका कम्पनीको कामलाई अझ छिटो, सजिलो र प्रभावकारी बनाउन एआई जोड्ने काम गर्ने उज्वलले बताए।
'हाम्रो कम्पनीले डिजिटल प्रविधिमा आधारित व्यवसायलाई एआईमैत्री बनाउँदै तिनको काम गर्ने प्रक्रियालाई थप प्रभावकारी बनाउने काम गर्छ,' कम्पनीका संस्थापक तथा सिइओ उज्वलले भने।
यसले स्वास्थ्य सेवा, ऊर्जा, लजिस्टिक्स तथा यातायात, बैंकिङ तथा वित्तीय सेवा र सफ्टवेयर उद्योगमा काम गर्ने कम्पनीलाई सेवा दिँदै आएको छ।
उज्वलको पुर्ख्यौली घर जनकपुर हो। उनको बाल्यकाल भने परिवारसँगै काठमाडौंमा बित्यो। २०६४ सालमा भिएस निकेतनबाट एसएलसी दिएपछि उनले ह्वाइट हाउस कलेजमा फिजिक्स विषय लिएर कक्षा १२ को पढाइ पूरा गरे। त्यसपछि सेमिकन्डक्टर इन्जिनियरिङ पढ्न सन् २०११ मा अमेरिका पुगे।
'त्यति बेला नेपालमा सेमिकन्डक्टर इन्जिनियरिङ पढाइ हुँदैनथ्यो। त्यसैले अमेरिका गएको हुँ,' उनले भने।
अमेरिकामा उनले पढाइसँगै काम गर्न थाले। विश्वविद्यालयले उनलाई पूर्ण छात्रवृत्ति दिएकाले पढाइ शुल्क तिर्नुपर्थेन। अन्य खर्च जुटाउन विश्वविद्यालयमै सातामा २० घण्टा काम गर्थे। त्यहाँ मुख्यतः वेबसाइट डेभलपमेन्ट सम्बन्धी काम गरेको उनी बताउँछन्।
पाँचवर्षे ब्याचलर कोर्स पूरा गरेपछि उज्वलको व्यावसायिक यात्रा सुरू भयो। उनले माइक्रोन टेक्नोलोजीमा चिप डिजाइन इन्जिनियरका रूपमा काम पाए। त्यहाँ मेटा, गुगलजस्ता ठूला प्रविधि कम्पनीको आवश्यकता अनुसार कम्प्युटर चिप डिजाइन गरेर आपूर्ति गर्ने काम हुन्थ्यो।
माइक्रोनमा तीन वर्ष काम गर्दा उनले चिप डिजाइन सम्बन्धी अनुभव बटुले।
'त्यसपछि मेटाबाट कामको प्रस्ताव आयो। म इन्टरप्राइज क्लाउड आर्किटेक्टका रूपमा मेटामा आबद्ध भएँ। त्यहाँ डेढ वर्ष काम गरेपछि इन्टेल कर्पोरेसनमा सिनियर इन्टरप्राइज क्लाउड आर्किटेक्टका रूपमा काम गर्न थालेँ। इन्टेलमा पनि करिब डेढ वर्ष काम गरेँ,' उज्वलले सुनाए।
तीन ठूला प्रविधि कम्पनीमा काम गर्दा उनले प्रविधिसँगै ठूला परियोजनामा काम गर्ने अनुभव पनि बटुले। यही अनुभवले आफ्नै व्यवसाय सुरू गर्ने आँट दिएको उनी रोय बताउँछन्।
'आफूसँग सीप पनि भयो, काम गर्ने अनुभव र पुँजी पनि जुट्यो। त्यसपछि आफ्नै कम्पनी खोल्ने आँट आयो,' उनले भने।
सन् २०२१ मा उनले स्केलबिल्ड एआई कम्पनी स्थापना गरे। कम्पनी सुरू गरेको एक वर्षमा नेपालमा शाखा खोले। त्यसपछि क्रमशः बंगलादेश र भारतमा पनि व्यवसाय विस्तार गरे। चार देशका कार्यालयमा ६५ जनाभन्दा बढीले रोजगारी पाएका उनले बताए।
अमेरिकी कानुन र व्यावसायिक वातावरण अनुकूल भए पनि नेपाली नागरिक भएकाले त्यहाँका नागरिकलाई जस्तो सहज नभएको उनको अनुभव छ।
'यहाँको कानुन राम्रो छ। व्यावसायिक वातावरण पनि राम्रो छ। तर यहाँको मूल नागरिकलाई जस्तो हामीलाई सहज हुँदैन,' उनले भने।
चुनौतीहरू भए पनि हार नमानी आगामी दिनमा व्यवसाय विस्तार गर्दै अघि बढ्ने उनको सोच छ।