प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग राजावादी आन्दोलनकेन्द्रित कुराकानी गरेका छन्।
गृहमन्त्री रमेश लेखकलाई प्रतिनिधि सभा बैठकमा बोल्ने वातावरण बनाउन कुराकानी गर्ने क्रममा प्रधानमन्त्री र प्रचण्डबीच भोलिदेखि हुने राजावादी आन्दोलनका सन्दर्भमा पनि केहीबेर कुराकानी भएको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्यामकुमार घिमिरे बुधबार बिहान बालुवाटार पुगेका थिए।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र मुख्य सचेतक महेश बर्तौलासहितले कांग्रेस नेताहरूसँग छलफल गरेका थिए। उक्त छलफललगत्तै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेता प्रचण्डसँग फोनमा कुराकानी गरेका हुन्।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचको कुराकानीबारे जानकार माओवादी सांसद माधव सापकोटाका अनुसार प्रधानमन्त्रीले गृहमन्त्रीलाई सदनमा बोल्ने वातावरण बनाइदिन अनुरोध गरेका थिए।
तर अध्यक्ष प्रचण्डले माओवादीसहित प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा नै माग गरेको र उक्त अडानमा आफूहरू कायमै रहेको कुरा सुनाएका थिए।
जबाफमा प्रधानमन्त्री ओलीले कर्मचारी (खरदार-सुब्बा) तानिनेवित्तिकै मन्त्रीले राजीनामा दिनुपर्ने कुरा कहाँ लेखिएको छ भनेका थिए। भिजिट भिसाबारे समाचार आउँदैमा, कर्मचारी तानिँदैमा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने प्रधानमन्त्रीको भनाइ थियो।
यसपछि प्रधानमन्त्री ओलीले राजावादीहरूले आन्दोलन गर्ने भनिरहेका बेला सदन अवरोध गर्दा सन्देश राम्रो नजाने विषय प्रचण्डसँग राखेका थिए।
‘राजावादीहरूले भोलिदेखि आन्दोलन गर्ने भनिरहेका छन्, यस्तो बेलामा सदन अवरोध गर्दा राम्रो सन्देश जाँदैन,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘गृहमन्त्रीलाई बोल्न दिनुस्, त्यो वातावरण बनाउनुस्।’
जबाफमा प्रचण्डले गृहमन्त्रीको राजीनामा मागेर त्यसको जबाफ प्रधानमन्त्रीबाट सदनलाई जानकारी गराउँदा राम्रो हुने बताएका थिए।
साथै प्रचण्डले गणतन्त्रका पक्षमा माओवादी प्रतिबद्ध रहेको प्रधानमन्त्रीलाई सुनाए भने माओवादीले नै राजावादीको सामना गर्दा सरकारलाई सजिलो परेको कुरा पनि राखेका थिए।
बुधबार नै संघीय संसद भवन नयाँ बानेश्वरमा प्रचण्डको आह्वानमा विपक्षी दल बैठक बसेको थियो, जहाँ राजावादी राप्रपालाई बोलाइएको थिएन। राजावादीलाई ‘स्पेश’ नदिएको प्रचण्डको सन्देश थियो यो।
साथै प्रचण्डले भूमिसम्बन्धी विधेयक समितिमा पठाइदिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।
नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ ले जेठ १५ गते बिहीबारदेखि काठमाडौंकेन्द्रित ‘जनआन्दोलन’ गर्न लागेका छन्। राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीजस्ता मुद्दा बोकेर समितिले गर्न लागेको आन्दोलनलाई राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति नेपालसहित विभिन्न समूहहरूले समर्थन जनाएका छन्।
यद्यपि समितिले आन्दोलन गर्ने ठाउँबारे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अनुमति भने लिएको छैन। ‘जनआन्दोलन’ का लागि दुनियाँमा कहीँ पनि प्रशासनसँग अनुमति लिने प्रचलन नरहेको समिति संयोजक सुवेदीले बताउँदै आएका छन्।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले काठमाडौंको रत्नपार्कमा भोलिदेखि आन्दोलन हुने बताए।
‘जनआन्दोलन रत्नपार्कबाट सुरू हुन्छ। विभिन्न जिल्लाबाट अहिलेसम्म २५ हजार मानिस काठमाडौं आइसकेका छन्,’ प्रवक्ता श्रेष्ठले दाबी गर्दै भने।
यो पनि: रत्नपार्कमा आन्दोलन गर्ने तयारीमा 'संयुक्त जनआन्दोलन समिति', लिएन प्रशासनबाट अनुमति