अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपछि क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गरी लगाइएको डिजिटल सेवा कर रद्द गरेको छ।
क्यानडाले सोमबारदेखि लागु हुने गरी ठूला प्रविधि कम्पनीहरूले आम्दानीमा ३ प्रतिशत कर लगाउने घोषणा गरेको थियो। मेटा, अमेजन लगायत ठूला अमेरिकी प्रविधि कम्पनीहरूले क्यानडामा आर्जन गरेको आम्दानीमा पनि यो कर लाग्थ्यो।
यो करबाट करिब ५.३ अर्ब अमेरिकी डलर राजस्व उठ्ने क्यानडाले अनुमान गरेको थियो। त्यसको लगभग सबै हिस्सा ठूला अमेरिकी प्रविधि कम्पनीहरूबाट आउने अपेक्षा थियो।
ट्रम्पले यो करलाई आफ्नो देशमाथि 'ठाडो आक्रमण' भन्दै विरोधस्वरूप क्यानडासँग भइरहेको व्यापार वार्ता रोकेका थिए। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले कुनै पनि हालतमा यो कर लगाउने बताउँदै आएका थिए। तर, ट्रम्पले दुई देशबीचको व्यापार वार्ता नै रोकेपछि उनी पछि हटेका छन्।
सन् २०२० मा नै घोषणा भएको यो कर लागु हुनुभन्दा केही घण्टाअघि अन्ततः क्यानडाले ट्रम्पको दबाबका कारण फिर्ता लिएको हो।
ट्रम्पले 'स्वतन्त्रता दिवस' भन्दै अप्रिल २ मा आफ्ना सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धी देशहरूलाई उच्च 'रेसिप्रोकल' (पारस्परिक) भन्सार लगाउने घोषणा गरेका थिए। उनले जबाफी कदम चाले अझ उच्च भन्सार लगाउने र नचाले पुरस्कृत गर्ने धम्की पनि दिएका थिए। चीनबाहेक कसैले पनि अमेरिकाविरूद्ध जबाफी कदम चालेनन्।
यद्यपि, यही कारणले अमेरिकी अर्थतन्त्र नै धराशायी हुने खतरा भएपछि ट्रम्पले एक सातामै ७० वटाभन्दा बढी देशलाई लगाएको उच्च पारस्परिक दर ९० दिनका लागि फिर्ता लिए। त्यसपछि उनले सबैलाई १० प्रतिशत भन्सार लगाए।
जुलाईमा ९० दिनको समय सकिँदैछ। त्यसअघि नै व्यापार सम्झौता गर्न क्यानडासहितका देशहरूले अमेरिकासँग वार्ता गरिरहेका छन्। ट्रम्पले सोही वार्ता रोकेपछि क्यानडाले सोमबारदेखि लागु हुने डिजिटल सेवा कर रद्द गरेको हो।
ट्रम्पसँग नझुक्ने नारामा कार्नीले नयाँ कार्यकाल जितेका थिए। ट्रम्पसँग व्यापार युद्ध चलिरहेको बेलामा कार्नीले मार्च महिनामा प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए। अमेरिकासँग त्यतिबेला चर्किरहेको व्यापार युद्धले आफ्नो दललाई फाइदा हुने भएकाले शपथ लिएको एक सातामै उनले संसद विघटन गरेर चुनावको घोषणा गरेका थिए।
ट्रम्पले दोस्रो कार्यकाल सुरू नगरिकनै आफ्नो लोकप्रियता व्यापक खस्किएपछि जनवरीमा तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टी नेताबाट राजीनामा दिएका थिए। उनले राजीनामा दिएपछि पनि आम-निर्वाचनमा हार्ने लगभग निश्चित भइसकेको उनको लिबरल पार्टीले ट्रम्पकै कारण क्यानडामा निर्वाचन जितेको हो।
गत नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन जितेदेखि ट्रम्पले क्यानडाबाट आउने सबै सामानमा २५ प्रतिशत भन्सार लगाउने र क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने भनिरहेका छन्। विपक्षी कन्जरभेटिभ पार्टीका दक्षिणपन्थी नेता पियर पलिएभलाई ट्रम्पजस्तै भनेर तुलना गरेर चुनाव प्रचार गरेपछि लिबरल पार्टीको भाग्य चम्किएको हो।
ट्रम्पसँग निकट रहेका 'टेस्ला' कम्पनीका मालिक इलन मस्क, पडकास्टर जो रोगन लगायत ट्रम्प समर्थक अमेरिकीले पनि पलिएभको तारिफ गर्थे। ट्रम्पले क्यानडाका जनतालाई चिढ्याउनुअघिसम्म पलिएभले चुनाव प्रचार गर्दा पनि ट्रम्पकै शैली अपनाएका थिए। पहिलो पटक राष्ट्रपति चुनाव लडेको बेला ट्रम्पले 'अमेरिका बर्बाद भएको छ' भन्ने नारा दिएजस्तै पलिएभ पनि 'क्यानडा बर्बाद भएको छ' भनेर नारा लगाउँथे।
तर, ट्रम्प कार्यकालको एक महिनामै पलिएभका लागि ट्रम्पको समर्थन र उनीसँगको समानता घाँडो भएको थियो। उनले आफ्नो प्रचार शैली फेरेर 'क्यानडा फर्स्ट' को नारा लगाए पनि क्यानडेली जनताले उनको दलभन्दा लिबरल पार्टीले ट्रम्पको सामना बलियोसँग गर्नेछ भनेर लिबरललाई चुनाव जिताएका थिए। तर, यो मुद्दामा भने उनी पछि हटेका छन्।।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)