प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदैछन्। कर्णाली कोरिडोरअन्तर्गत् खार्पुनाथ–५ स्थित चुवाखोलामा नेपाली सेनाले निर्माण गरेको बेली ब्रिज उद्घाटन गर्न जान लागेका हुन्। उनीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि हुम्ला जाँदैछन्।
बिहान १० बजे पुल उद्घाटनको कार्यतालिका छ।
हुम्ला जाँदै गर्दा प्रधानमन्त्री ओलीले उत्साह व्यक्त गरेका छन्।
‘हुम्ला जाने कुरा बताइरहनु पर्ने त होइन, तर आज विशेष उत्साह लिएर खार्पुनाथ हुम्ला जाँदै छु। किनभने आजबाट सञ्चालनमा आउने कर्णाली करिडोर सडकको चुवाखोला बेली ब्रिजले हाम्रो दक्षिणी छिमेकी मित्रराष्ट्र भारत र उत्तरी छिमेकी मित्रराष्ट्र चीनलाई सडक मार्गले जोड्ने छ,’ उनले भनेका छन्।
यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ हुन्छ र हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुंगिन्छ।
‘४१० किलोमीटर यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्छ र हाम्रो वैदेशिक व्यापारलाई सहयोग पुग्छ। अनि यसले सडक सञ्जालमा जोडिन बाँकी एकमात्र जिल्ला हुम्लालाई राष्ट्रिय राजमार्गमा पनि जोड्ने छ। कर्णाली करिडोर सडक जोडिएपछि एक युवाले एआई प्रयोग गरी बनाएर पठाएको यो भिडिओ र आजको हुम्ला यात्राले मलाई भावनात्मक र उत्साहित बनाएको छ,’ उनले सामाजिक सञ्जालमा भिडिओ राख्दै भनेका छन्।