कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन्।
बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी यस्तो बताएका हुन्।
उनले केही उम्मेदवारविरूद्ध आचारसंहिता उल्लंघनको उजुरी आयोगमा परेको उल्लेख गर्दै उजुरीउपर आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको बताए।
उम्मेदवारहरूले स्पष्टीकरण बुझाउने कार्य जारी रहेको भन्दै उनले प्राप्त उजुरीको अध्ययनपछि आयोगले आवश्यक निर्णय लिने उनको भनाइ छ।
उनले भने, ‘आचारसंहिता हामीले कडाइका साथ लागू गरेका छौं। त्यसको पालना भयो कि भएन भनेर हामी अनुगमन पनि गरिरहेका छौं। केही उम्मेदवारहरूविरूद्ध उजुरी पनि आएको छ। हामीले उहाँहरूलाई स्पष्टीकरण समेत सोधेका छौं। केहीले स्पष्टीकरण पठाउनुभएको छ र केही आउने क्रममा छन्। स्पष्टीकरण आइसकेपछि त्यसको अध्ययनको आधारमा आवश्यक निर्णय गर्छौं। निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको छ। सञ्चार माध्यमहरूले समेत पक्ष र विपक्षभन्दा पनि निष्पक्ष सामग्री बनाइदिन आग्रह गर्न चाहन्छु। तोकिएको मिति र समयमै निर्वाचन हुन्छ।’
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य जारी छ।
हालसम्म ७२ लाख ६० हजार मतपत्र छपाइ भई ५ हजार ८ सय २५ बाकस प्याकिङ्ग भइसकेको आयोगले जानकारी दिएको छ। जम्मा २ करोड ३ लाख २३ हजार मतपत्र आवश्यक पर्ने बताइएको छ।
त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि आवश्यक २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ कार्य सम्पन्न ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ। –न्युज एजेन्सी नेपाल