अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुशी पार्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक खर्ब डलरको अमेरिकी हतियार किन्ने प्रस्ताव गरेका छन्।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकाको अलास्कामा शुक्रबार छलफल गरेपछि ट्रम्पले सोमबार ह्वाइट हाउसमा जेलेन्स्की र युरोपेली नेताहरूसँग कुरा गरे। सोही छलफलका क्रममा युरोपेली देशको आर्थिक सहायतामा युक्रेनले एक खर्ब डलरको अमेरिकी हतियार किन्ने वाचा गरेको फाइनान्सियल टाइम्सले लेखेको छ।
त्यस्तै युक्रेनी कम्पनीहरूसँगको सहकार्यमा ड्रोन उत्पादन गर्न अमेरिकासँग ५० अर्ब डलरको सम्झौता गर्ने पनि जेलेन्स्कीले प्रस्ताव गरेको भनेर सो बैठकबारेको एक दस्तावेज देखेको भन्दै फाइनान्सियल टाइम्सले जनाएको छ। रूससँगको युद्धका कारण युक्रेन अहिले ड्रोन प्रविधिको विकासमा विश्वमै उत्कृष्ट मानिन्छ। रूसले फेरि युक्रेनमा आक्रमण नगरोस् भनेर अमेरिकी सुरक्षा प्रत्याभूति दिन ट्रम्पलाई मनाउन जेलेन्स्कीले त्यस्तो प्रस्ताव गरेका हुन्।
सो दस्तावेजमा युक्रेनले कुन हतियारहरू खरिद गर्ने भन्ने कुरा भने उल्लेख छैन भनेर फाइनान्सियल टाइम्सले लेखेको छ। तर आफ्ना सहरहरू र महत्त्वपूर्ण पूर्वाधारहरूको सुरक्षाका लागि कम्तीमा १० वटा प्याट्रियट एअर डिफेन्स सिस्टम सहित अन्य मिसाइल र उपकरणहरू खरिद गर्ने चाहेको भनेर युक्रेनले यसअघि नै भनिसकेको छ।
त्यस्तै ड्रोन सम्झौतामा खरिद वा लगानीको हिस्सा कति हुनेछ भन्ने पनि दस्तावेजमा नखुलाइएको फाइनान्सियल टाइम्सले जनाएको छ।
अमेरिकी उद्योगलाई बलियो बनाउने अभियानमा लागेका ट्रम्पलाई फकाउन युक्रेनले यस्तो प्रस्ताव गरेको हो। युक्रेनलाई अमेरिकाले कुनै हतियार सित्तैमा दिने होइन, बेच्ने हो भनेर ट्रम्पले बारम्बार भन्दै आएका छन्।
ट्रम्पले जेलेन्स्की र सात युरोपेली नेतासँग ह्वाइट हाउसमा रसिया-युक्रेन युद्ध अन्त्य गर्नेबारे सोमबार छलफल गरेका छन्।
यो छलफललगत्तै उनले जेलेन्स्की र रसियाका राष्ट्रपति पुटिनबीच चाँडै नै द्विपक्षीय वार्ता हुने घोषणा गरेका छन्। त्यो वार्तापछि आफू संलग्न त्रिपक्षीय वार्ता हुने पनि उनले उल्लेख गरेको अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले जनाएको छ।
जेलेन्स्की र युरोपका नेताहरूसँगको भेटपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै आफूले पुटिन र जेलेन्स्कीबीच भेटको तयारी सुरू गरिसकेको बताएका छन्।
जेलेन्स्कीले पनि पत्रकार सम्मेलनमा रूसी राष्ट्रपतिसँग भेट्न तयार भएको बताए।
भविष्यमा युक्रेनलाई रसियाले फेरि आक्रमण नगरोस् भनेर युक्रेनले ‘सुरक्षा ग्यारेन्टी’ चाहेको छ। त्यसबारे पनि छलफल भएको र महत्त्वपूर्ण प्रगति भएको नेताहरूले बताएका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)