युक्रेनको राजधानीमा किभसहित विभिन्न जिल्लामा रूसले भीषण हमला गरेको छ।
गए रातिदेखि बिहान किभका २० भन्दा बढी ठाउँमा रूसले मिसाइल र ड्रोन हमला गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन्।
आक्रमणमा परी चार जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
दिउँसोसम्म १२ जनाको मृत्यु भएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनको समाचारमा उल्लेख छ। तीमध्ये २ वर्षका बालक, १४ र १७ वर्षका बालबालिका छन्।
रातभरिमा रूसबाट ५९८ वटा ड्रोन र ३१ वटा मिसाइल प्रहार भएको युक्रेनी वायुसेनालाई उद्धृत गरेर सिएनएनले लेखेको छ।
तीमध्ये ५६३ ड्रोन र २६ वटा मिसाइल युक्रेनले खसालेको छ।
रूसी मिसाइल र ड्रोनहरूले रातको समयमा हमला गर्दा किभका सहरहरू विस्फोटका ज्वालाहरूले उज्यालो भएको थियो। ड्रोनहरू माथिबाट गुन्जिरहेका बेला आकाश धुवाँले ढाकिएको थियो।
किभका सात जिल्लाभरि कम्तीमा २० स्थानमा प्रहार भएको युक्रेनी वायुसेनाले जनाएको छ
आक्रमणबाट करिब १०० भवनमा क्षति पुगेको छ।
राजधानीको केन्द्र भागमा रहेको एउटा ठूलो सपिङ मलमा ठूलो क्षति भएको छ भने झ्यालहरू फुटेका छन्। दर्नित्स्की जिल्ला स्थित पाँचतले आवासीय भवनमा क्षति पुगेको छ।
क्षतिग्रस्त भवनहरूमा मानिसहरू फसेको हुन सक्ने बताइएको छ।
खोजी र उद्धारका लागि पाँच सयदेखि १ हजार सुरक्षाकर्मी र उद्धारकर्मी खटाइएको रोयटर्सले जनाएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविरामका लागि विश्वले प्रयत्न गरिरहँदा रूसले जानी-जानी भयानक हत्या गरिरहेको बताएका छन्।
यस आक्रमणपछि युद्धविरामका लागि रूस कति गम्भीर छ भन्ने प्रष्ट हुने पनि उनले बताए।
१५ अगस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा युद्धविरामका लागि छलफल गरेका थिए।
अलास्कामा भएको उक्त वार्तापछि ट्रम्पले पुटिन र जेलेन्स्कीबीच चाँडै वार्ता हुने तय भएको बताएका थिए। तर रूसले पुटिन र जेलेन्स्कीबीच भेटवार्ता तय नै नभएको बताउँदै आएको छ।