इन्डोनेसियामा एक सातादेखि चर्किएको सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै गएको छ।
अगस्ट २५ मा संसद् भवनबाहिर थोरै सङ्ख्यामा मानिसहरू जम्मा भएर सुरु गरेको प्रदर्शन एक सातायता हिंसात्मक बन्दै गएको छ।
अहिलेसम्म कम्तीमा १० जनाको मृत्यु र सयौँ घाइते भएको बेलायतबाट प्रकाशन हुने अनलाइन पत्रिका द गार्डियनले जनाएको छ।
आक्रोशित आन्दोलनकारीहरूले सरकारी भवनहरूमा तोडफोड र आगजनी गरेका छन्। क्षतिको मूल्याङ्कन झन्डै ३३ लाख अमेरिकी डलर बराबर रहेको पनि गार्डियनले जनाएको छ।
राजधानी जकार्ताबाट सुरु भएको प्रदर्शन अन्य मुख्य सहरहरूमा पनि फैलिएको र देशव्यापी बन्दै गएको छ।
सुलावेसी टापुको गोरोन्तालो र मकास्सर, जाभा टापुको बान्डुङ र योग्यकार्ता, सुमात्रा टापुको पालेमबाङ र बोर्नेओ टापुको बन्जारमसिनलगायतका मुख्य सहरहरूमा हिंसात्मक झडप भएको छ।
जकार्तामा आन्दोलनकारीहरूले प्रहरीको मुख्यालय भएको भवनमै आगजनी गरेका थिए। उनीहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए।
राष्ट्रपति प्रबोवो सुबियान्तोले सत्ता सम्हालेको एक वर्ष नपुग्दै ठूलो राजनीतिक चुनौती खेप्नुपरेको बताएका छन्।
कसरी हिंसात्मक बन्यो प्रदर्शन?
गार्डियनका अनुसार अगस्ट २५ देखि प्रदर्शन सुरु भएको थियो।
त्यतिबेला सरकारले सांसदहरूलाई आवास भत्ताका रूपमा प्रतिव्यक्ति ३ हजार अमेरिकी डलर दिने निर्णय गरेको थियो।
तीन हजार डलर भनेको इन्डोनेसियामा एक जना सांसदले पाउने तलबभन्दा १० गुणा बढी हो।
त्यतिबेला सरकारले शिक्षा, स्वास्थ्यलगायत जनतालाई दिने आधारभूत सेवा–सुविधामा कटौती गरेर सांसदहरूको सेवा–सुविधा बढाएको भन्दै आक्रोश बढेको थियो।
त्यसको विरुद्ध ‘गेजायन मेमाङ्गिल’ जस्ता विद्यार्थी समूहहरूले जकार्तास्थित संसद् भवनअगाडि जम्मा भएर प्रदर्शन गरेका थिए। त्यतिबेला प्रदर्शन शान्तिपूर्ण नै थियो।
शान्तिपूर्ण प्रदर्शनका क्रममा गत बिहीबार राति प्रदर्शनकारीहरूको भीडमा विशेष अर्धसैनिक प्रहरी इकाइले बख्तरबन्द गाडी चलाएको थियो।
बख्तरबन्द गाडीले एक जना २१ वर्षीय युवकलाई किचेको थियो। ती युवक फुड डेलिभरीको काम गर्थे। बख्तरबन्दले ठक्कर दिएपछि ब्याक गरी–गरी ती युवकलाई किचेर मारेको भिडियो सार्वजनिक भएपछि शान्तिपूर्ण आन्दोलन हिंसात्मक बनेको थियो।
त्यसपछि आन्दोलनकारीहरूले देशभरका सरकारी भवन र प्रहरी मुख्यालयमा आगजनी गर्न थालेका थिए। प्रमुख सहरहरूमा हिंसात्मक झडपहरू भए।
मकास्सर सहरमा प्रदर्शनकारीले एक सरकारी भवनमा लगाएको आगोमा परेर तीन जनाको मृत्यु भयो। सोही सहरमा गुप्तचर अधिकारी भएको आशङ्कामा एक भीडले कुटपिट गर्दा अर्का एक व्यक्तिको ज्यान गएको थियो।
प्रयोगकर्तामा प्रहरी र प्रदर्शनकारीबीचको झडपमा एक विद्यार्थीको मृत्यु भयो।
सोलो सहरमा प्रहरीले प्रहार गरेको अश्रुग्यासका कारण एक जना दमका बिरामी एक ६० वर्षीय रिक्सा चालकको मृत्यु भएको थियो।
आन्दोलनका क्रममा अर्थमन्त्री श्री मुल्यानी इन्द्रावतीको घरमा लुटपाट भएको छ भने अन्य केही सांसदका घरमा पनि तोडफोड भएको गार्डियनले जनाएको छ।
अधिकारीका अनुसार जकार्तामा मात्रै पाँच दिनको प्रदर्शनपछि १ हजार २४० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो।
प्रदर्शन उग्र बन्दै गएपछि राष्ट्रपति प्रबोवोले सांसदलाई दिएको आवास सुविधाबापतको भत्ता फिर्ता लिने निर्णय गरेका थिए।
उनले चीन भ्रमण रद्द गर्दै सुरक्षा बललाई प्रदर्शनकारीविरुद्ध कडाभन्दा कडा कदम चाल्न आदेश दिएका छन्।
‘गैरकानुनी गतिविधिहरू भइरहेका छन्, जसले देशद्रोह र आतङ्कवादतर्फ डोर्याउन सक्छ। मैले प्रहरी र सेनालाई सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र लुटपाट गर्नेहरूविरुद्ध कानुनअनुसार कडा कारबाही गर्न निर्देशन दिएको छु,’ उनले भनेका थिए।
सेनाको गाडीले किचेर मृत्यु भएका चालकको घटनामा संलग्न सात प्रहरी अधिकारीमाथि छानबिन भइरहेको र पीडित परिवारलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
अन्तर्राष्ट्रिय समुदायले इन्डोनेसियाको घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ।
संयुक्त राष्ट्रसङ्घले प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको आरोपबारे छानबिन गर्न माग गरेको छ।
अमेरिका, अस्ट्रेलिया, फ्रान्स, क्यानडालगायतका देशहरूले आफ्ना नागरिकहरूका लागि यात्रा चेतावनी जारी गर्दै प्रदर्शन भइरहेका क्षेत्रहरूबाट टाढा रहन भनेका छन्।