राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टी पुनःगठनको मुद्दा उठाउँदा सभापति रवि लामिछानेविरूद्ध षड्यन्त्र गरेको भाष्य बनाउन खोजिएको बताएकी छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै डा. कार्कीले रास्वपाले गर्नुपर्ने तीन कामको सूची पनि राखेकी छन्।
‘कृपया मिथ्या आरोपहरू लगाएर निरन्तर ममाथि प्रहार नगरिदिनुहोला। यो पार्टीलाई हुर्काउन, बढाउन र सबल बनाउन दुःख गरेको छु। गर्नेछु। तर पार्टीलाई थप लोकतान्त्रिक र समय सापेक्षिक रूपान्तरित बनाउने मेरो प्रयास तपाईंहरूको विचारभन्दा फरक भयो भन्दैमा सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट निरन्तर प्रहार गरेर यो मेरो धैर्यलाई च्यालेन्ज नगरिदिनुहोला,’ उनले भनेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई समय सापेक्ष रूपमा मध्यममार्गी मुलधारको मुख्य शक्तिको रूपमा विकास गर्नु आफ्नो लक्ष्य रहेको उनले बताएकी छन्। रास्वपालाई वैकल्पिक शक्ति, नागरीक समाज र जेनजी सबैलाई समेट्नका लागी पार्टीमा सांगठनिक र वैचारिक पुनःगठन पुनरवलोकन आवश्यक छ भन्ने आफ्नो मान्यता रहेको उनको भनाइ छ।
‘पार्टीलाई थप सबल सुदृढ बनाउन खोजिएको प्रयासलाई सभापति रवि लामिछाने विरुद्धको षड्यन्त्र जस्तो बनाएर भाष्य बनाउनुहुने तपाईंहरूको निरन्तर प्रहारले पूरा पार्टीलाई नै कमजोर बनाउने काम नगर्नुहोला,’ उनले भनेकी छन्।
सँगै उनले तीनवटा अनुरोध पनि गरेकी छन्।
पहिलो विस्तारित बैठकमा महत्त्वपूर्ण र सक्रिय सहभागिताको लागि पार्टीका नेताकार्यकर्ताहरूलाई उनले अनुरोध गरेकी छन्।
रास्वपाको विस्तातिर बैठक आगामी कात्तिक २१ र २१ गते हुँदैछ।
दोस्रो, उक्त बैठकमा प्रस्तुत हुने राजनैतिक र सांगठनिक प्रतिवेदनमाथि सहभागीहरूले राय राख्ने मात्र होइन, प्रतिवेदनहरूलाई स्वीकार्ने/अस्वीकार गर्ने/तोकिएका संशोधनसहित स्वीकार्न पाउने गरी मताधिकार दिइनुपर्ने उनको भनाइ छ।
तेस्रो, जेनजी आन्दोलनपछिको रास्वपालाई यथास्थितिमा रहेर वैकल्पिक शक्तिहरुलाई नसमेटी आसन्न चुनावमा एक्लै जाने छुट नभएको पनि उनले बताएकी छन्।
‘हामी उदार हुनुपर्छ। साझा प्लेटफर्म बन्नुपर्छ। अब यही कुरामा पटकपटक स्पष्टीकरण दिन बाध्य नपार्नुहोला। बरू आउनुस् एक कदम अघि बढेर रिफर्मेसनको मोडालिटीमा बसह गरौं,’ उनले भनेकी छन्।