नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन प्रस्तावलाई नियमित महाधिवेशनको सीमाभित्र जोडेर बृहत एकताका साथ पार्टी अघि बढ्ने बताएका छन्।
नेपाल तरूण दलको स्थापना दिवसमा केन्द्रीय कार्यालय सानेपामा आज भएको कार्यक्रममा बोल्दै कार्यवाहक सभापति खड्काले भने, ‘पार्टीका महाधिवेशन प्रतिनिधिहरूले प्रस्तुत गर्नुभएको विशेष महाधिवेशन प्रस्तावलाई पनि नियमित महाधिवेशनको सीमाभित्र जोडेर हामी सम्पूर्ण एकताका साथ अघि बढ्छौं।’
कांग्रेसको २०७८ सालमा भएको १४ औं महाधिवेशनमा रहेका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये २४८८ जनाले गत असोज २९ गते विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए। त्यसतर्फ लक्ष्य गर्दै खड्काले विशेष महाधिवेशन माग भएका विषयलाई पनि नियमित महाधिवेशनमै समेट्ने बताएका हुन्।
कांग्रेसमा विशेष महाधिवेशन माग गरेकाहरूले पनि मंसिरभित्रै नियमित १५ औं महाधिवेशन गर्नुपर्ने बताइरहेका छन्।
कार्यवाहक सभापति खड्काले केन्द्रीय समिति बैठक जारी रहेकोले महाधिवेशनलगायत सबै विषयमा निर्णय गरेर जाने बताए।
‘त्यही एकता र समीक्षाको जगबाट निकालिएको निष्कर्षका आधारमा चालु केन्द्रीय समिति बैठकबाट हामी निर्णयहरू गर्नेछौं, जति पनि विषयहरू हामीले अघि सारेका छौं, ती सबै विषयमा हामी छलफल व्यापक चलिरहेको छ। सबै नेताहरूले आफूलाई लागेका कुरा खुलस्त भन्नुभएको छ। भन्ने क्रम जारी छ। फरक कोण र जोडलाई एकत्रित गरेर निर्वाचन, हाम्रो पार्टीको नियमित अधिवेशनलगायत विषयमा एकताका साथ अघि बढ्छौं,’ उनले भने।
मुलुकको अहिलेको परिस्थितिलाई समाधान गर्दै राष्ट्रिय एकता, संविधान रक्षा, सबै दल र नागरिक समाज लगायतलाई एक ठाउँ उभिने दृढतासहित केन्द्रीय समितिबाट निर्णयहरू गरिने पनि उनले बताए।
‘केन्द्रीय समितिबाट विशेष कार्यक्रम र प्रष्ट मार्गचित्रसहित अघि बढ्नेछौं,’ उनले भने।