नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब विशेष महाधिवेशनको विकल्प नभएको बताएका छन्।
आफूलाई आज बिहानदेखि धेरैले ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो?’ भन्ने प्रश्न सोधेको उल्लेख गर्दै महामन्त्री थापाले भनेका छन्- होइन।
आफूले होइन भनेपछि फेरि साथीहरूले कसरी भन्दै प्रश्न सोधेको उल्लेख गर्दै महामन्त्री थापाले सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रष्ट छ- अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ।’
उनले नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जाने पनि बताएका छन्।
‘नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ। यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन। कुरा स्पष्ट छ, अलमलमा नपरौं,’ महामन्त्री थापाले भने।
गत शनिबार बसेको केन्द्रीय समिति बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिने निर्णय गर्दै निर्वाचन आयोगमा दल दर्ता निवेदन दिने निर्णय गरेको थियो।
त्यसअनुसार मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंसिर ७ गते निर्वाचन आयोग पुगेर दल दर्ता निवेदन दिएका थिए। जसअनुसार टिकटमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहने उल्लेख थियो।