प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने अवधि थप गरिएको छ। निर्वाचन आयोगले बुधबार विज्ञप्ति जारी गर्दै मंसिर १० गतेसम्मका लागि तोकिएको दल दर्ताको समय १४ गतेसम्मका लागि थप गरिएको बताएको छ।
‘निर्वाचन आयोगमा हालसम्म दर्ता कायम रहेका दलहरूको जम्मा संख्या १३७ पुगेको छ भने नयाँ दल दर्ताका लागि प्राप्त निवेदनहरू माथिको कारबाहीसमेत जारी रहेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप र विभिन्न राजनीतिक दल लगायतका सरोकारवालाबाट प्राप्त अनुरोधलाई मध्यनजर गर्दै आयोगको मिति २०८२ मंसिर १० गतेको बैठकबाट प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने अवधि २०८२ मंसिर १४ गतेसम्म थप गरिएको छ,’ आयोगले भनेको छ।
मंसिर १ गतेदेखि १० गतेसम्मका लागि दल दर्ताको समय तोकिएकोमा अहिलेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि १०६ ओटा दलबाट निवेदन प्राप्त भएको आयोगले जनाएको छ।
