जापानका लागि नेपालको राजदूतमा सिफारिस भएका जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्।
संसदीय सुनुवाइ समितिमा जारी सुनुवाइ प्रक्रियाकै क्रममा थापाले सोमबार आफ्नो नाम फिर्ता लिने निर्णय गरेका हुन्।
थापाले संसदीय सुनुवाइ समितिका सभापतिलाई सम्बोधन गर्दै नाम फिर्ता लिएको जानकारी गराएका छन्।
जापानसँग जोडिएका स्वार्थ बाझिन सक्ने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) विषयमा थप अध्ययन तथा स्पष्टताका लागि सुनुवाइ प्रक्रिया जारी रहेको अवस्थामा उनले नाम फिर्ता लिने निर्णय गरेका हुन्।
उनले लोकतान्त्रिक मूल्य, मान्यता, सुशासन, संसदीय गरिमा तथा नेपाल सरकारको मर्म र भावनालाई उच्च कदर गर्दै कुनै पनि पदभन्दा राष्ट्रिय हित, नैतिक निष्ठा र पारदर्शिता माथि हुने विश्वासका साथ नाम फिर्ता लिएको बताएका छन्।
‘देश र जनताका सेवाका लागि पद नै अन्तिम माध्यम होइन,’ उनले समितिलाई बुझाएको पत्रमा भनेका छन्, ‘आगामी दिनहरूमा पनि राष्ट्रिय हित, विकास र समृद्धिका लागि नेपाल सरकारले सुम्पिने जुनसुकै जिम्मेवारी निष्ठाका साथ बहन गर्न सदैव तत्पर रहनेछु।’
थापाले आफ्नो नाम सिफारिस गरी विश्वास व्यक्त गरेकोमा नेपाल सरकार तथा संसदीय सुनुवाइ प्रक्रियाका क्रममा सहयोग गर्ने समितिका सभापति र सदस्यहरूप्रति आभारसमेत व्यक्त गरेका छन्।