आफ्नो नवीकरण भइसकेको सदस्यता पार्टी नेतृत्वले रोकेको सम्झाउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका संगठित सदस्यहरूलाई सन्तुलित प्रतिनिधि चयनमा ध्यान पुर्याउन भनेकी छन्। बिहीबार बिहानै पार्टी सदस्यहरूलाई अपिल गर्दै उनले पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुने विश्वास व्यक्त गरेकी छन्।
मैले दुइवर्ष अघि नै विधानसम्मत ढंगले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईंहरूका साथ निरन्तर रहनेछु,’ उनले भनेकी छन्।
महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ सिङ्गो पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएकाले यो आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय रहेको उनको भनाइ छ।
‘विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, उर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पङ्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिनेनै छ,’ उनले आग्रह गरेकी छन्।