पश्चिम अफ्रिकाको संकटग्रस्त देश गिनी-बिसाउ मा सेनाले सत्ता कब्जा गरेको घोषणा गरेको छ।
राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक हुने भनिएको अघिल्लो दिन बुधबार सेनाका एक समूहले कू गर्दै राष्ट्रपति उमरो सिसोको एम्बालोलाई पदच्युत गरिएको घोषणा गरेको हो।
राज्य टेलिभिजनमार्फत प्रवक्ता डिनिज एन’चामा ले पढेर सुनाएको वक्तव्यमा सेनाले एम्बालोलाई हटाइएको बताउँदै निर्वाचन प्रक्रिया निलम्बन गरी सीमा नाकाबन्दी गरिएको र कर्फ्यु लागू भएको घोषणा गरेको हो।
त्यसलगत्तै एम्बालोले फ्रान्स–२४ टेलिभिजनसँग भनेका छन्, 'मलाई हटाइएको छ।'
यद्यपि उनलाई औपचारिक रूपमा नियन्त्रणमा लिइएको वा नलिइएकोबारे सुरुवाती रूपमा स्पष्ट नभएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
दुई सुरक्षा स्रोतलाई हवाला दिँदै रोयटर्सले राष्ट्रपति निर्वाचित भएङ्का एम्बालोलाई सैनिक प्रमुखको कार्यालयमा नियन्त्रणमा राखिएको जनाएको छ।
सेनाले अर्को सूचना जारी नहुँदासम्म देशको जिम्मा लिएको घोषणा गरेको छ।
यसैबीच निर्वाचनका प्रमुख प्रतिस्पर्धी फर्नान्डो डायसले भने आफू सुरक्षित रहेको बताएका छन्।
उनले भिडियो सन्देश जारी गर्दै आफूलाई नियन्त्रणमा लिन खोजिएको तर आफू सुरक्षित स्थानमा रहेको बताएका छन्। तर सन् २०१९ को निर्वाचनमा एम्बालोसँग पराजित भएका पूर्वप्रधानमन्त्री डोमिङ्गोस सिमोएस पेरेइरा भने पक्राउ परेको डायसले बताएका छन्।
सेनाले सत्ता कब्जाको कारण ‘केही राष्ट्रिय राजनीतिज्ञ र चिनियाँ र विदेशी लागुऔषध तस्करहरूको मिलेमतोमा मुलुक अस्थिर बनाउने षड्यन्त्र र निर्वाचन परिणाम हेरफेर गर्ने प्रयास’ भएको दाबी गरेको छ।
कूको घोषणाअघि राजधानी बिसाउमा निर्वाचन आयोग, राष्ट्रपति भवन र गृह मन्त्रालय नजिक करिब एक घन्टा गोली चलेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
यस क्रममा हालसम्म मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन।
निर्वाचन आयोगले बिहीबार अस्थायी परिणाम सार्वजनिक गर्ने तयारी गरेको थियो। आइतबार भएको निर्वाचनमा एम्बालो र डायस दुवैले पहिलो चरणमै जित भएको दाबी गरेका थिए। एम्बालो लगातार दोस्रो कार्यकाल जित्ने तीन दशकयताकै पहिलो राष्ट्रपति बन्ने बन्दै थिए।
घटनाप्रति अफ्रिकन युनियन र इकोवासले संयुक्त वक्तव्य जारी गर्दै गम्भीर चासो व्यक्त गरेका छन्। दुवै संस्थाले कू घोषणासँगै पक्राउ परेका निर्वाचन अधिकारीहरूको तत्काल रिहाइ र संवैधानिक प्रक्रियामा फर्किन आग्रह गरेका छन्।
पूर्व उपनिवेश शक्ति पोर्चुगलले पनि सरकारी संस्थाहरू सामान्य अवस्थामा फर्काउन र मतगणना तथा नतिजा सार्वजनिक प्रक्रिया अघि बढाउन आह्वान गरेको छ।
गिनी–बिसाउ सन् १९७४ मा पोर्चुगलबाट स्वतन्त्र भएपछि हालसम्म कम्तीमा नौ पटक कू तथा कू प्रयास भोगिसकेको छ।
एम्बालो स्वयंले आफ्नो कार्यकालमा तीन पटक कू प्रयास भएको दाबी गर्दै आएका छन्।
सन् २०२३ डिसेम्बरमा पनि राजधानीमा लामो समय गोली चलेको थियो, जसलाई उसको सरकारले असफल कू प्रयास भनेको थियो। त्यसपछि संसद् विघटन गरिएकाले मुलुक हालसम्म पूर्ण रूपमा कार्यरत संसद्विहीन अवस्थामा छ।
लागुऔषध तस्करीको प्रमुख मार्गका रूपमा चिनिएको गिनी–बिसाउमा एम्बालोको शासनकालमा कोकिन कारोबार अझ फस्टाएको अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले देखाएका छन्।
गत वर्ष सेप्टेम्बरमा भेनेजुएलाबाट आएको एउटा विमानबाट २.६३ मेट्रिक टन कोकिन बरामद भएको थियो।
ताजा सैन्य हस्तक्षेपपछि करिब २० लाख जनसङ्ख्या भएको यो मुलुक पुनः गहिरो राजनीतिक अनिश्चिततामा फसेको छ। सेना देशभर पूर्ण नियन्त्रणमा छ कि छैन भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।