सर्वोच्च अदालतले मधेस प्रदेश सरकार गठनको विरूद्धमा परेका तीनै वटा छुट्टाछुट्टै रिटको सुनुवाइ एकसाथ गर्ने भएको छ।
बिहीबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको पूर्ण इजलासले तीन वटा रिटको सुनुवाइ गर्ने भएको हो।
यसअघि मंसिर २ गते सर्वच्च अदालतले मंसिर ९ गतेभित्र विपक्षीहरूबाट लिखित जबाफ पेस गर्न भनेको आदेश दिएको थियो। त्यस्तै मंसिर ११ गतेदेखि अन्तिम सुनुवाइ गर्ने भनिएको छ।
मधेस प्रदेश सभाका ७४ सांसदहरू संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय विरूद्ध सर्वोच्च गएका थिए।
सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई मुद्दा किनारा नभएसम्म नीतिगत र दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कात्तिक २४ गते झिसमिसेमै होटलमा मुख्यमन्त्री यादवलाई शथप गराएकी थिइन्।
उनले यसरी शपथ गराएपछि मधेसमा विरोध प्रदर्शन सुरू भएको थियो। त्यसपछि संघीय सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख भण्डारीलाई पनि पदमुक्त गरेका थिए।