प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयबाट बर्खास्तीमा परेका जेनजी प्रतिनिधिहरूले आफूहरूले नातावादविरूद्ध आवाज उठाउँदा प्रतिशोध साँधिएको बताएका छन्।
प्रधानमन्त्री कार्कीले सचिवालय आकार सानो बनाएकी थिइन्।
सचिवालयमा अब मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थय विज्ञ (अवैतनिक) गरी ६ जना मात्रै छन् जबकि यसअघि २० जना थिए।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले आफ्नी श्रीमती संगीता श्रेष्ठलाई सचिवालयमा नियुक्ति दिएको विषय बाहिर आएपछि विरोध भएको थियो।
जेनजी प्रतिनिधिको तर्फबाट सरकारमा युवा तथा सामाजिक विज्ञको रूपमा प्रदीप ज्ञवाली, सूचना तथा प्रविधि विज्ञ अरूण कटुवाल र शाखा अधिकृत आकृति घिमिरे सहभागी थिए। उनीहरू तीनै जना हटाइएका छन्।
ज्ञवालीले आफूहरूले नातावाद र कृपावादविरूद्ध आवाज उठाएपछि प्रतिशोध साँधेर बर्खास्त गरेको बताएका छन्।
‘हामी सचिवालयमा जागिर खोज्दै गएका थिएनौं, आवश्यकता पर्यो आउनुस् सघाउनुस् भनेपछि हुन्छ भनेर सरकारलाई सहयोग गर्छौं भनेर गएका थियौं,’ ज्ञवालीले भने, ‘जुन दिन प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठज्यूले आफ्नी श्रीमतीलाई नियुक्ति भन्ने खबर प्राप्त गर्यौं र त्यसदिन स्वकीय सचिवालयको लेटरहेडमा प्रकाशित भएको विज्ञप्ति पनि पढ्यौं। त्यो विज्ञप्तिमा हामीले घोर आपत्ति जनाएका थियौं।’
नातावाद र कृपावाद जस्ता भ्रष्टाचार र सुशासनविरूद्ध सुरू भएको जेनजी आन्दोलनकै मर्म विपरित हुने भनेर आवाज उठाएको उनले बताए।
‘जेनजी आन्दोलनको मर्म मार्ने गरी नातावाद र कृपावादको कुप्रवृत्ति हामीलाई असह्य भयो। यसरी विरोध गरेका कारण सम्माननीयज्यूले प्रतिशोध साँधेर आज हामी तीनै जनालाई सचिवालयबाट नियुक्ति खारेज गर्नुभएको छ,’ उनले भने।
उनले प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका छन्। त्यस्तै प्रेस संयोजक राम रावल पनि जबाफदेही हुनुपर्ने बताए।
शाखा अधिकृतको रूपमा रहेकी आकृति घिमिरेले सचिवालयमा श्रीमतीलाई नियुक्ति गरिएको विषयमा प्रष्टसँग असहमति जनाएको बताइन्।
‘पहिले म पनि स्वकीय सचिवको पदमा बसेर आएकी हुँ। प्रधानमन्त्रीज्यूको सचिवालयमा उदाहरणीय काम गर्नुहुनेहरू सदस्यहरू पनि हुनुहुन्छ। हामीले उहाँहरूको मार्ग निर्देशनमा काम गर्यौं,’ उनले भनिन्, ‘तर समाजमा सचिवालयको पदको गरिमा यत्तिकै पनि घटेको अवस्था छ। फेरि पनि पटक पटक त्यही पदको गरिमा घटाउने काम हुन्छ भने त्यसलाई हामीले स्वीकार्न सक्ने कुरा पनि भएन। पहिले पनि विरोध गरेका हौं, अहिले पनि गर्छौं।’
जेनजी आन्दोलनको जग नातावाद र कृपावादले नै बसेको उनले बताइन्।
‘आन्दोलन पूर्व नेपो बेबी ट्रेन्ड चलेको थियो। जेनजी आन्दोलनको जग नै नातावाद र कृपावादमार्फत हुने भ्रष्टाचार विरूद्धको आवाजले बसालेको हो। आज फेरि त्यही कुरा देख्दा हामीले कसरी विरोध नगर्ने?,’ उनले भनिन्।्
सचिवालयमा बसेर आफूहरूले राष्ट्रिय परिचयपत्रबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने व्यवस्थाको सहजीकरण भएको पनि बताइन्।
‘राष्ट्रिय परिचय पत्रको कुरा भयो, अन्तरजिल्ला मतदानको रोडम्याप बनाइसकेकी थिएँ। आउट अफ कन्ट्री मतदानको बारेमा सहजीकरण गर्दै थिएँ,’ उनले भनिन्, ‘सामाजिक सञ्जालमा साप्ताहिक रूपमा यो सरकारका काम कारबाहीकाबारे विभिन्न भाषामा अध्यावधिक गर्दै थियौं।’
सूचना प्रविधि विज्ञको रूपमा रहेका अरूण कटुवालले पनि आफूहरूले सरकारलाई प्रविधिसँग जोडेर सहजीकरण गर्ने काम भइरहेको बताए।
‘सम्पूर्ण टिम नै फेरेको देखाउनुभयो। तर सचिवालयमा अहिले रहेका ६ जना बाहेक अन्यलाई हामीले कहिल्यै काम गरेको देखेनौं। न उहाँहरूलाई बालुवाटारमा देख्यौं, न सिंहदरबारमा। तर हामी तीन जना हरेक दिन काममा नै तल्लीन थियौं।,’ उनले भने, ‘मतदाता परिचयपत्र नामावलीलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने काममा निकै सक्रिय भएर हामी लाग्यौं। यहाँ हामीले गरेको कामको घोर अवहेलना समेत भएको छ।’