सहकारीको रकम ठगी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ बिहीबार स्थगित गरिएको छ।
बिहीबारका लागि अदालतको तीन नम्बर इजलासका न्यायाधीशद्वय मिलनकुमार राई र सानुमाया डंगोलको इजलासमा तोकिएको मुद्दाको सुनुवाइ रविका कानुन व्यवसायी महेन्द्र पाण्डेको निवेदनमा स्थगित गरिएका उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुवरले जानकारी दिए।
‘रवि लामिछानेका कानुन व्यवसायी महेन्द्र पाण्डेले आफ्नो अस्वस्थताको कारण देखाउँदै मुद्दाको सुनुवाइ स्थगितको निवेदन दिनुभएको थियो अदालतले सोही निवेदनको आधारमा मुद्दाको सुनुवाइ स्थगित गरेको हो,’ कुँवरले भने।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको भन्दै रवि लामिछाने सहितका चार जना व्यक्तिहरूलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर जिल्ला अदालत रूपन्देहीमा अभियोग पत्र दायर गरिएकोमा लामिछानेले उक्त बिगोमध्ये आफ्नो भागको एक भाग बराबर बिगो बुझाएर रिहा हुन पाउनुपर्ने माग राख्दै अदालतमा निवेदन दिएका थिए।
लामिछानेले बिगोमध्ये आफ्नो भागकोे २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत समेत अदालतमा पेस गरे पनि जिल्ला अदालतले अस्वीकार गरेको थियो। गत साउन २६ गते जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेको भागको बिगो यकिन नभएको भन्दै रिहा गर्न अस्वीकार गरेपछि लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।
लामिछानेले जस्तै जोशीले पनि आफ्नो भागमा पर्ने बिगोबापतको रकम बुझाएर रिहा गर्न माग गर्दै अदालतमा निवेदन दिएका थिए। अदालतले लामिछाने र जोशी दुवैको निवेदन एकैसाथ राखेर सुनुवाइ गरिरहेको छ। तर लामिछाने र जोशीका कानुन व्यवसायीले भने पटक पटक सुनुवाइ स्थगित गर्दै आएका छन्।
यसअघि गत बिहीबारको लागि तोकिएको सुनुवाइ पनि लामिछानेकै कानुन व्यवसायीको निवेदनमा स्थगित गरिएको थियो। गत बिहीबार पनि अदालतको ३ नम्बर इजलासका न्यायाधीशद्वय मिलनकुमार राई र सानुमाया डङ्गोलको इजलासमा लामिछाने र जोशीको मुद्दाको सुनुवाइ तोकिएको थियो।
त्यसअघि पहिलो पटक कात्तिक १३ गतेका लागि तोकिएको सुनुवाइ जोशीका कानुन व्यवसायीले निवेदन दिएर सुनुवाइ स्थगित गरेका थिए।
अदालतका सूचना अधिकारी कुवरका अनुसार कुनै पनि मुद्दामा एउटा पक्षले निवेदन दिएर दुई पटकसम्म सुनुवाइ स्थगित गराउन सक्छ।
लामिछाने र जोशीको मुद्दा एकै ठाउँ राखेर सुनुवाइ भइरहे पनि लामिछाने र जोशीका कानुन व्यवसायीले अलगअलग निवेदन दिएर तिन पटकसम्म स्थगित भइसकेका छन्।
‘लामिछाने र जोशीको मुद्दा एकै ठाउँ राखेर सुनुवाइ भइरहे पनि दुवै जनाका कानुन व्यवसायीले अलग अलग निवेदन दिएर सुनुवाइ स्थगित गराउन सक्नुहुन्छ। लामिछानेका कानुन व्यवसायीले निवेदन दिएर दुई पटक सुनुवाइ स्थगित भए पनि जोशीका तर्फबाट भने एक पटक मात्र स्थगित गरिएको छ,’ कुँवरले भने।
लामिछाने र जोशीको मुद्दाको गत कात्तिक २० गते भएको सुनुवाइमा उच्च अदालतले जिल्ला अदालतको सुरू मिसिल मगाउने आदेश दिएको थियो। जिल्ला अदालतबाट सुरूको मिसिल प्राप्त भएपछि कात्तिक २७ गते भएको सुनुवाइमा सर्वोच्चबाट मूल अभियोगको सक्कल मिसिल मगाउने आदेश भएको थियो।
सर्वोच्चबाट मूल अभियोगको सक्कल मिसिल आए पनि त्यसपछिका दुईवटै पेशी भने स्थगित गरिएपछि सुनुवाइ हुन सकेको छैन। सहकारीको रकम ठगी गरेको अभियोगमा लामिछाने नख्खु कारागारमा रहेका छन् भने जोशी भैरहवा कारागारमा रहेका छन्।