नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियान र नेकपा (संयुक्त)बीच पार्टी एकता गर्ने सहमति भएको छ।
बिहीबार त्रिपुरेश्वरमा एक कार्यक्रमबीच अभियान संयोजक घनश्याम भूसाल र चन्द्रदेव जैशी नेतृत्वको नेकपा संयुक्तबीच एकता गर्ने सहमति भएको हो।
दुवै नेताले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। पार्टी एकताको घोषणा केही दिनभित्रै गरिने सहमतिपत्रमा उल्लेख छ।
एकतापश्चात बन्ने पार्टीको नाम नेकपा (संयुक्त)नै रहने छ। पार्टीको चुनाव चिह्न पनि नेकपा संयुक्तकै चुनाव चिह्न हँसिया हुनेछ।
पार्टीको झन्डा भने प्रचलित कम्युनिस्ट पार्टीको झन्डामा बौद्धिक श्रमको पनि प्रतिनिधित्व हुने संकेत प्रयोग गर्ने सहमति छ।
एकताको दुई महिनाभित्रै राष्ट्रिय सम्मेलन गर्ने सहमति छ। अन्य विषयहरू आवश्यक छलफका आधारमा निर्णय गरिने।
कार्यक्रममा एकीकृत समाजवादीका घनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठ, घनश्याम भूसाल लगायत सहभागी थिए।
नेकपा (संयुक्त)बाट उपाध्यक्ष मोहम्मद अब्बास, लक्ष्मी शाह र महासचिव केदार शर्मा सहभागी थिए।