नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीलाई एकताबद्ध बनाएर यथाशीघ्र निर्वाचनमा होमिने वातावरण निर्माण भइरहेको र भोलिको केन्द्रीय समिति बैठकसम्ममा पार्टीका सबै समस्या समाधान हुने बताएका छन्।
स्ववियु परिषद् नेपालको राष्ट्रिय अधिवेशन–२०८२ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै शिक्षा विभाग प्रमुखसमेत रहेका महरले विधान र संविधानको सीमाभित्रै रहेर देश र कांग्रेस भित्रका सबै समस्याको निकास सम्भव रहेको बताए।
शीर्ष नेतृत्व तहमा र अन्य समूहका बीमा फरक फरक ढंगले गहन छलफल चलिरहेको उनले बताए।
‘पार्टी एकताबद्ध हुन्छ र यथाशीघ्र निर्वाचनमा होमिने वातावरण बन्दैछ। अहिलेकै केन्द्रीय समितिमार्फत निकास निकाल्न हामी सबै प्रयासरत छौं,’ उनले भने।
महरले पार्टी नेतृत्वले विगतका अभ्यासहरूको समीक्षा गर्दै स्पष्ट मार्गचित्र (रोडम्याप) दिनुपर्नेमा जोड दिए।
‘हिजोदेखि गरी आएका वा अवलम्बन गरेका के–केलाई निरन्तरता दिने, के–केलाई परिमार्जन गर्ने र के–केलाई पूर्णतः निषेध गर्ने त्यसको रोडम्याप नेतृत्वले दिन सक्नुपर्छ। भोलिका कर्णधार पुस्ताले स्पष्टता खोजेको छ,’ उनले भने।
उनले ‘जेनजी’ पुस्ताको प्रतिनिधिका रूपमा रहेका स्ववियु परिषद्का प्रतिनिधिहरूले समाजमा फैलिँदै गरेको राजनीतिक चेतनालाई सही दिशा र गति दिनुपर्ने बताए।