अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिद्वन्द्वी हिलारी क्लिन्टन विरूद्ध हावादारी मुद्दा हालेको भनेर जिल्ला अदालतले लगाएको १० लाख डलर जरिवाना संघीय पुनरावेदन अदालतले सदर गरेको छ।
क्लिन्टन र पूर्व एफबीआई निर्देशक जेम्स कमी लगायतले २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले रूससँग साँठगाँठ गरेको झूटो भाष्य निर्माण गरेको भनेर ट्रम्पले २०२२ मा मुद्दा हालेका थिए।
त्यसमा सुनुवाइ गर्दै दक्षिणी फ्लोरिडाको जिल्ला अदालतका एक न्यायाधीशले सो मुद्दा हावादारी भएको घोषणा गरेका थिए।
सो मुद्दालाई २०० पृष्ठको राजनीतिक दस्तावेज भन्दै अदालतले दर्तै गर्नु हुँदैन थियो भनेका थिए। ती न्यायाधीशले पछि ट्रम्प र उनकी वकिल अलिना हब्बाले सो हावादारी मुद्दा हालेकोमा कानूनी खर्च वापत १० लाख डलर तिर्नुपर्ने आदेश दिएका थिए।
ट्रम्पले सो फैसलाका विरूद्ध जर्जिया राज्यको एटलान्टामा रहेको एक संघीय पुनरावेदन अदालत गएका थिए।
सो मुद्दामा बिहिबार फैसला गर्दै अदालतले जिल्ला अदालतको सो फैसलालाई सदर गरेको भनेर अमेरिकी अनलाइन पोलिटिकोले लेखेको छ।
ट्रम्प र उनकी वकिल हब्बाका केही कानूनी तर्क साँच्चै हावादारी थिए भनेर मुख्य न्यायाधीश विलियम प्रायर जुनियर नेतृत्वको तीन न्यायाधीशको इजलासले ठहर गरेका छन्।
न्यायाधीश प्रायरले जिल्ला अदालतका न्यायाधीशले अदालतको गलत प्रयोग गर्ने ट्रम्पको बानीलाई विचार गरेर नै जरिवाना लगाएको पनि उल्लेख गरेका छन्। प्रायरलाई ट्रम्पकै रिपब्लिकन पार्टीका पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुसले नियुक्त गरेका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)