गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका लागि सरकारले राजनीतिक दल र सबै पक्षलाई विश्वास र सहमतिमै अघि लिएर चुनाव शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्नेतर्फ अघि बढिसकेको बताएका छन्।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बिहीबारको बैठकमा गृहमन्त्री अर्यालले समितिको समसामयिक विषयमा डाकिएको बैठकमा भाग लिँदै उक्त कुरा बताएका हुन्।
बैठकमा समिति सदस्यहरूको जिज्ञासामा मन्त्री अर्यालले भने, ‘अहिलेसम्मको अवस्थामा आइपुग्दा सरकारले स्थितिलाई सामान्यीकरण गर्दै देशभर हिंसा र द्वन्द्व अवस्थालाई रोक्न सफल भएको छ।’
यो गैर-दलीय सरकार भएकै कारण विधिको शासनलाई पूर्ण रूपले प्राथमिकता दिँदै चुनावबाटै अबको निकास दिन सरकार तत्पर रहेको मन्त्री अर्यालले बताए।
औपचारिक र अनौपचारिक रूपमा अहिलेको सरकारले राजनीतिक दलहरूसँग संवाद र सहमति गरी नै राखेकोले अब आफू पनि गृहमन्त्रीको हैसियतले राजनीतिक दल, नवपुस्ता, र सबै पक्षसँग वार्ता र संवादबाट नै चुनावको वातावरण सुनिश्चित गर्ने तर्फ लागि पर्ने बताए।
धेरैभन्दा धेरै लुटिएका हातहतियारहरू प्रहरी प्रशासनले जफत गरिसकेको हुनाले फरार कैदीबन्दी र लुटिएका हतियारले गर्दा नै चुनावप्रति विभिन्न शंका उपशंका राख्नुपर्ने स्थिति नरहेको मन्त्री अर्यालले धारणा थियो।
‘हिंसा हामी सबैका लागि वर्जित छ, यो हुनु हुन्थेन र अब पनि यो हुने कुरा हाम्रो सरकार सजक र संवेदनशील छ,’ उनले भने।
लुटिएका हातहतियार के कति बाहिर हो भन्ने विषयमा यो सरकारको सुरक्षा प्रोटोकल भित्र गोप्य रहन्नु पर्ने भएकोले, संख्या यति नै हो भन्न नमिल्ने मन्त्री अर्यालले बताए।
‘भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित अपराधमा संलग्नमध्ये कूल ५ सय ९५ जनालाई पक्राउ गरिएको तथा २ सय ८३ जनालाई विभिन्न कसुरमा मुद्दा दर्ता गरिएको अवस्था रहेको छ,' मन्त्री अर्यालले भने।
मन्त्री अर्यालले हालसम्म ७ सय २३ थान हतियार फिर्ता ल्याइसकेको जानकारी दिए।