मिलन पाण्डे विवेकशील साझाका पूर्वअध्यक्ष मात्र होइनन्, विवेकशील अभियानका संस्थापक उज्ज्वल थापाको राजनीतिक 'स्कुलिङ' मा हुर्किएका र उज्ज्वलको विरासत धानेका नेता पनि हुन्।
उनी विवेकशील साझा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच आइतबार राष्ट्रिय सभागृहमा घोषणा भएको 'निसर्त' एकतामा सामेल भएनन्।
यसअघि विवेकशील साझाले पार्टी एकीकरणको निर्णयसहित सार्वजनिक गरेको केन्द्रीय समिति बैठकको तस्बिरमा पनि मिलन देखिएका थिएनन्। त्यसलगत्तै हामीले उनलाई 'यो एकता कस्तो लाग्यो' भनेर सोधेका थियौं।
उनको जबाफ थियो, 'परिवारको कुनै सदस्यलाई भेन्टिलेटरमा राखेर बचाइएको छ भने कस्तो लाग्छ? आधा दु:ख, आधा खुसी। मलाई पनि त्यस्तै लागिरहेको छ।'
'रिड बिट्वीन द लाइन्स', अर्थात् वाक्यहरूका बीचमा लुकेको भाव बुझ्नुपर्छ — यो अंग्रेजी भनाइ राजनीतिमा ठ्याक्कै लागू हुन्छ। यहाँ व्यक्तिको भनाइभन्दा त्यो भनाइभित्र लुकेको भावले बढी अर्थ राख्छ।
मिलनले त्यो भाव अझै प्रस्ट हुने गरी खुलाउँदै हामीसँग यो पनि भनेका थिए, 'गेम इज नट ओभर (खेल सकिएको छैन), राजनीतिक जीवनमा रहेसम्म विवेकशील अभियानलाई जीवित राख्ने प्रयास गरिरहनेछु।'
नभन्दै आइतबार एकता घोषणासभा सुरू हुनुभन्दा अगाडि मिलनले एकतामा सामेल सहकर्मीहरूलाई शुभकामना दिँदै सामाजिक सञ्जाल फेसबुकमा लेखे, 'म यो एकीकरणमा सामेल छैन। अब केही समय (केही दिन वा केही महिना) 'कुलिङ पिरियड' लिन्छु। त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरू गर्नेछु।'
सोमबार बिहान हामीले मिलनसँग उनको राजनीतिक 'कुलिङ पिरियड' को अर्थ र अबको राजनीतिक यात्रा के हुन सक्छ भन्नेबारे कुराकानी गरेका छौं।
कुराकानीको सुरूमै उनले भने, 'म र विवेकशील अब कुनै पनि निर्णय गर्न 'स्वतन्त्र' छौं।'
'अब म आफू र विवेकशीललाई कसरी अघि बढाउने भनेर तयारी गर्ने छु,' उनले भने, 'तर तत्काल केही गरिहाल्ने पक्षमा छैन।'
'पछिल्लो समय हाम्रो राजनीति कस्तो भयो भने को नेता कुन पार्टीमा छन् भनेर जनतालाई मात्र होइन, स्वयं नेतालाई पनि अलमल हुन थाल्यो। आफूले छोडिसकेको पार्टीलाई अत्यधिक बहुमतले चुनाव जिताऊँ भनेर आह्वान गर्ने दिन आयो। त्यसैले केही समय केही नगर्ने विचार छ। त्यसैलाई मैले 'कुलिङ पिरियड' भनेको हुँ।'
अनि त्यसपछि चाहिँ के गर्ने त?
हाम्रो यो प्रश्नमा मिलनले १३ वर्षअघि आफूले राजनीति सुरू गरेको विवेकशील अभियानलाई पुनर्गठन गर्ने योजना सुनाए। सँगसँगै यो पनि भने, 'कम्तिमा फागुन २१ को चुनाव अगाडिसम्म म आफ्नै सक्रियतामा विवेकशीललाई ब्युँताउने प्रयास गर्दिनँ। अरू साथीहरूले ब्युँताउन खोजे पनि म अहिलेलाई त्यसो नगर्नू नै भनेर सल्लाह दिन्छु।'
फागुन २१ पछि भने विवेकशील नेपालीका पुराना र नयाँ साथीहरूलाई जोडेर यो अभियान पुनर्गठन गर्दै 'नवीन सुरूआत' गर्ने उनले बताए।
'विवेकशील साझा र रास्वपाको एकतामा सामेल नहुनुको एउटा कारण के भने मैले आफ्नै हातबाट विवेकशील अभियानलाई अन्त लगेर बुझाउन चाहिनँ। त्यसैले यो एकतालाई बाहिरबाट समर्थन गरे पनि म व्यक्तिगत रूपले एकता प्रक्रियामा सामेल भइनँ,' उनले भने, 'फागुन २१ को चुनावसम्म कुलिङ पिरियडमा बसेर त्यसपछि विवेकशीलका पुराना साथीहरू र नयाँ साथीहरूलाई जोड्दै यो अभियान पुनर्गठन गर्ने र 'फ्रेस स्टार्ट' गर्ने योजना छ।'
फागुन २१ पछिको 'फ्रेस स्टार्ट' का लागि आवश्यक तयारीहरू भने यसबीच हुनेछन्।
यसका लागि पहिले विवेकशील नेपालीमै रहेर अहिले विभिन्न जेनजी समूहमा लागेका साथीहरूसँग संवाद अघि बढाउने र उनीहरूलाई आपसमा जोड्ने प्रयास गर्ने छन्।
सँगसँगै, जेनजी युवाहरूसँग नियमित संवाद गर्दै उनीहरूलाई राजनीतिक रूपले शिक्षित र अभिप्रेरित गर्ने पनि मिलनको उद्देश्य छ।
'उज्ज्वल थापा दाइले आफू राजनीतिमा अघि बढ्नेभन्दा हामीजस्ता नयाँ पुस्तालाई राजनीतिक रूपले शिक्षित तुल्याउने, अभिप्रेरित गर्ने काम गर्नुभयो। उहाँले जुन लाइन समात्नुभयो, आजको राजनीतिमा त्यो लाइन समात्ने मान्छेहरूको अभाव छ। त्यसैले हिजो उज्ज्वल दाइले हामीलाई जे गर्नुभयो, म पनि अब केही समय नयाँ पुस्ताका युवाहरूलाई त्यही गर्न चाहन्छु,' उनले भने।
उनले अगाडि भने, 'अहिलेसम्मको यात्राबाट जे सिकेँ, त्यो अनुभवका आधारमा विवेकशील अभियानलाई नयाँ ढंगले अगाडि बढाऊँ भन्ने नै मेरो उद्देश्य हो।'
यसबीच जेनजी युवाहरूसँगको समीकरण र अरू नयाँ शक्तिसँगको समीकरणमा फागुन २१ को चुनाव उठ्ने सम्भवना भने जीवित रहेको उनले बताए।
विवेकशील साझा र रास्वपाको एकतामा आफू सामेल नभए पनि उनले यसलाई 'जेनजी आन्दोलनपछि उत्पन्न समयको माग' भनेका छन्।
'जेनजी आन्दोलनपछि वैकल्पिक राजनीतिक शक्तिहरू एकठाउँ उभिनुपर्ने खाँचो समयले ल्याएको हो। आसन्न निर्वाचनमा देशको राजनीतिक अवस्था परिवर्तन गर्न सक्ने गरी परिणाम ल्याउन वैकल्पिक शक्तिहरू एकठाउँ उभिनुपर्नेछ। तर यसका लागि यी दुई राजनीतिक दलले चुनावी गठबन्धन बनाएर पनि जान सक्थे। एकताभन्दा चुनावी गठबन्धन राम्रो विकल्प हो कि भन्ने मेरो धारणा थियो,' उनले भने।
'जे भयो, त्यसलाई मैले वैकल्पिक राजनीति अगाडि बढाउने इमानदार प्रयासकै रूपमा लिएको छु।'
संक्षिप्त कुराकानीको आखिरीमा उनले भने, 'फागुन २१ सम्म हेर्दै जाऊँ, त्यसपछि नयाँ केही गरौं भन्ने पुराना साथीहरू र जेनजी आन्दोलनमा लागेका नयाँ साथीहरूलाई एकठाउँ ल्याएर विवेकशील अभियान पुनर्गठन गर्न सकिन्छ भन्ने लाग्छ। गेम इज नट ओभर!'
***