नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्ने निर्णय गरेपछि नेताहरू आन्तरिक तयारीमा जुट्न थालेका छन्।
सभापति को-कोबीच प्रतिस्पर्धा हुन्छ यकिन भइसकेको छैन। तर नेताहरूले आफूले आकांक्षा राखेको कुराहरू बिस्तारै खुलाउन थालेका छन्।
पूर्वमहामन्त्री शशांक कोइरालाले पनि सल्लाह गरेर सभापति उठ्ने विषयमा निर्णयमा पुग्ने बताए।
‘सभापतिका लागि लड्ने भनेको थिएँ। शेखर दाइ हुनुहुन्छ। उहाँ पनि इच्छुक हुनुहुन्छ, कुरा भइरहेको छ,’ चितवनमा आज पत्रकारहरूसँग उनले भने, ‘हामी दुई जनामध्ये एक जना लड्छौँ।’
उनले महाधिवेशन तयारीका लागि समय कम रहेको बताए।
महाधिवेशनका लागि कम्तीमा तीन महिना समय आवश्यक पर्ने उनको भनाइ थियो।
‘समय कम भयो। महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ,’ उनले भने।
पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो नभएको उनले बताए। सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनले बताए।
जेनजी पुस्तालाई पनि समेटेर लैजानुपर्ने उनले बताएका छन्।
यो पनि: ‘सभापति निर्विरोध बनाउनुपर्छ, प्रतिस्पर्धा गर्ने भए म पनि लड्छु’