गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दिनेश प्रसाईंले आफूहरू निर्वाचित भए पनि नभए पनि आर्थिक रूपान्तरणको एजेन्डा बोक्ने बताएका छन्।
मंगलबार पोखरामा आयोजित एक कार्यक्रमबीच प्रसाईंले आफूहरूले उक्त एजेन्डालाई नछाड्ने बताएका हुन्।
'हामी निर्वाचित नभए पनि आर्थिक रूपान्तरणको यो एजेण्डालाई बोकिरहन्छौं। हामीले आफ्नो लागि यो राजनीतिक गर्न लागेका होइनौं। यस्तै अवस्थामा हामीले छोराछोरीलाई छाडेर जान्नौं। हामीलाई १० वर्ष लागे पनि १२ वर्ष लागे पनि यो योजना छाड्दैनौं,' उनले भने।
उनले पार्टीको घोषणा पत्र केही दिनमै सार्वजनिक गर्ने पनि बताएका छन्।
आफूहरूले २०८४ को लागि पार्टी खोल्ने तयारी गरे पनि जेनजी आन्दोलनले अगाडि नै खोलिएको उनले बताए।
'२०८४ को निर्वाचनमा भाग लिने भन्ने थियो। वैशाखमा पार्टी घोषणा गर्ने थियो। तर, जेनजी आन्दोलनपछि पुरानो तरिकाले चल्दैन भन्ने थियो। अहिलेसम्म १० वटा आन्दोलन भयो, तर हरेक आन्दोलन थप हिंस्रक बन्न थाल्यो,' उनले भने, 'हरेक १०-१२ वर्षमा आन्दोलन हुने, नयाँ सत्ता बन्ने त भयो। तर त्यस अनुसार नयाँले डेलिभर गर्न नसक्दा यस्ता आन्दोलन हुने गर्यो।'