नेकपा एमालेका सचिव योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङका उनीनिकट दुई नेतालाई पार्टी प्रदेश कमिटीले कारबाही गरेको छ।
पार्टी महाधिवेशनको मुखैमा प्रदेश सल्लाहकार परिषद् सदस्य तथा कोशीका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र कोशी प्रदेश पर्यटन विभाग सचिव मणिशंकर पोमुलाई प्रदेश कमिटीले कारबाहीको पत्र थमाएको हो।
‘उनीहरूलाई १५ दिनको स्पष्टीकरण सोधेर जिम्मेवारीबाट मुक्त गरिएको छ,’ कोशी प्रदेश कमिटीका एक पदाधिकारीले भने, ‘त्यतिन्जेलका लागि पार्टी सदस्यबाट पनि निलम्बन गरिएको छ।’
मंसिर ११ गतेको मितिमा उनीहरूलाई स्पष्टीकरण सोधेको र निलम्बनको पत्र पठाइएको ती पदाधिकारीले बताए।
महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन प्रक्रियाको क्रममा निर्वाचन कमिटी संयोजक राजकुमार चुडालमाथि सांघातिक हमला र निर्वाचन प्रकियामा अवरोध खडा गरेको अभियोगमा उनीहरूमाथि कारबाही भएको हो।
ताप्लेजुङमा महाधिवेशन प्रतिनिधिको चयन भने सर्वसम्मत भएको थियो।
प्रदेश अध्यक्ष घनश्याम खतिवडाले हस्ताक्षर गरेको कारबाही पत्रमा भने सोही व्यहोरा उल्लेख छ। जिल्ला कमिटीको सिफारिसको आधारमा कारबाही गरिएको पनि पत्रमा उल्लेख छ।
पार्टी सचिव भट्टराई पछिल्लो समय ईश्वर पोखरेल समूहमा छन्। पोखरेलले एमाले महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पदमै प्रतिष्पर्धा गर्ने घोषणा गरिसकेका छन्।