नेकपा एमाले ओखलढुंगामा प्रतिनिधि चयनमा विवाद निम्तिएपछि संगठन विभागले पुनः मतदान गर्न निर्देशन पठाएको छ। अपानि-१३ को निर्देशनविपरीत प्रतिनिधि छानिएको भन्दै केन्द्रले पुनः प्रक्रिया अघि बढाउन भनेको संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले बताएका छन्।
‘आम सदस्यहरूको सहजताका लागि ८ मध्ये ६ वटा पालिका कमिटीहरूको माग, बहुसंख्यक उम्मेदवारहरूको असहमती, प्रदेश पार्टी कमिटी र केन्द्रीय संगठन विभागको निर्देशन समेत अवज्ञा गरी सदरमुकाममा सम्पन्न भनिएको त्यस जिल्लाको प्रतिनिधि निर्वाचन स्वीकार गर्न सकिएन। तसर्थ प्रभावकारी माध्यमबाट सबै सदस्यलाई सूचना सम्प्रेषण गरी पालिकास्तरमा नै मतदान केन्दको व्यवस्थापन गरी पाँच दिनभित्र पुनः निर्वाचनगर्न निर्देशन गरिन्छ,’ संगठन विभाग प्रमुख अधिकारीले तल परिपत्र गरेको निर्देशनमा भनिएको छ।
निर्वाचन प्रक्रियामा सहयोग र सहजीकरण गर्नका लागि प्रदेश इञ्चार्ज शेरधन राई, केन्द्रीय नेताहरू विशाल भट्टराई, यज्ञराज सुनुवार किशोर अधिकारीलाई तोकिएको परिपत्रमा उल्लेख छ,
गत १३ गते ओखलढुंगामा भएको प्रतिनिधि छनोटको निर्वाचनमा १ हजार ५१८ मत खसेको बताइएको थियो। प्रतिनिधि चयनमा न्यून मत खसेको थियो। ओखलढुंगामा ७ हजार १३५ पार्टी सदस्य रहेका छन्।
सदरमुकाममा मात्रै बुथ राखेर गराइएको निर्वाचनमा खुलातर्फ अम्बिरबाबु गुरूङ, ज्ञानबहादुर खड्का, कमलप्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत निर्वाचित भएका थिए। महिलातर्फ इच्छाकुमारी गुरूङ, जुना विक, पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ, युवातर्फ टिकाराम धमला र दलिततर्फ ज्यानु कालिकोटे प्रतिनिधि निर्वाचित भएका थिए।
ओखलढुंगामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले एकलौटी जितेको आरोप लगाइएको छ। ओखलढुंगाबाट १२ जना प्रतिनिधि छनोट हुनेमा ४१ जनाले उम्मेदवारी दिएका थिए। शनिबार भएको निर्वाचनमा अध्यक्ष केपी ओली समूहका एक जना पनि निर्वाचित भएका थिएनन्।