नेपाली कांग्रेसले अघिल्लो चुनावमा समानुपातिक तर्फबाट निर्वाचित भएकाहरूलाई यसपालि पुन समानुपातिक तर्फका उम्मेदवार नबनाउने भएको छ।
माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसले मापदण्ड नै बनाएर अघिल्लो पटक प्रदेश तथा प्रतिनिधि सभामा समानुपातिकबाट निर्वाचित व्यक्तिहरू यसपालि उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको हो।
आगामी निर्वाचनका लागि मुख्य सचिव कृष्णप्रसाद पौडेलले मापदण्ड सहितको परिपत्र जारी गरेका हुन्।
'२०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३(२) बमोजिम आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फको उम्मेदवार हुन पाउने छैनन्,' परिपत्रमा लेखिएको छ।
त्यस्तै प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समानुपातिकको बन्द सूचीमा समावेश भएका व्यक्तिहरुको नाम प्रतिनिधि सभा सदस्य २०८२ का लागि उम्मेदवार बन्न नपाइने पनि परिपत्रमा उल्लेख छ।
साथै २०७९ मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरू पनि आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने परिपत्रमा उल्लेख छ।
यस्ता छन् अन्य मापदण्ड
- जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुनेछन्।
- २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फको उम्मेदवार हुन पाउने छैनन्।
- प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समानुपातिकको बन्दसूचीमा समावेश भएका व्यक्तिहरूको नाम प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि उम्मेदवार सिफारिस गर्न पाइने छैन।
- तोकिएको उम्मेदवारको संख्याभन्दा बढी नाम सिफारिस गर्न पाइने छैन।
- प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्य पदमध्ये कुनै एक व्यक्ति एक पदका लागि मात्र सिफारिस गर्नुपर्नेछ।
- प्रतिनिधि सभा सदस्य पदको उम्मेवारको लागि नेपाली नागरिकताको प्रमाणपत्र र मतदाता परिचय पत्रको प्रतिलिपी पेस गर्नु पर्नेछ।
- प्रतिनिधि सभा समानुपातिक तर्फका सिफारिस भएका उम्मेदवारको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, मतदाता परिचय पत्रको प्रतिलिपी, मतदाता नामावली नाम समावेश भएको निस्सा, उम्मेदवार हुनका लागि पार्टी केन्द्रबाट तोकिएको प्रतिवद्धता पत्र र निर्वाचन आयोगले तोकेको स्वघोषणा पत्र, उम्मेदवारको वैयक्तिक विवरण र सो घोषणा गरिने सम्पत्ति विवरण फारममा हस्ताक्षर गरेको हुनु पर्नेछ।
- २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न पाइने छैन।
- पार्टी विधानको धारा ६९ बमोजिम पार्टीका क्रियाशील सदस्य, विभिन्न तह र जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरूले तोकिए बमोजिमको सहयोग रकम (लेवी) तोकिए बमोजिमको पार्टी निकायमा अनिवार्य बुझाउनु पर्नेछ। सहयोग रकम (लेवी) नबुझाउने त्यस्ता कुनै पनि व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन्।