नेपाली कांग्रेसले कार्यकर्ताहरूबाट पैसा उठाएर सानेपास्थित केन्द्रीय कार्यालय भवन मर्मत गर्ने भएको छ।
भदौ २४ गते जेनजी पुस्ता आन्दोलनका क्रममा आगजनीबाट कांग्रेस कार्यालय क्षति पुगेको थियो।
पुस २६ गतेदेखि २८ गतेसम्म १५ औं महाधिवेशन, माघ ११ मा राष्ट्रिय सभा र फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुने भएकोले त्यसअघि नै कार्यकर्ताहरूबाट पैसा संकलन गरेर केन्द्रीय कार्यालय भवन मर्मत गर्न लागिएको हो।
कोषाध्यक्ष उमेश श्रेष्ठ र मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यालय मर्मत गर्न कार्यकर्ताहरूबाट आर्थिक सहयोग आह्वान गर्दै पार्टीका वडा तहसम्म परिपत्र गरेका छन्।
‘कार्यकर्ताहरूको आर्थिक सहयोगबाटै केन्द्रीय कार्यालय भवन मर्मत गर्न खोजिएको छ, त्यसका लागि पार्टीका तहगत ७ वटा निकाय र क्रियाशील सदस्यसम्मबाट आर्थिक सहयोग आह्वान गरिएको छ,’ मुख्यसचिव पौडेलले सेतोपाटीसँग भने।
जेनजी पुस्ता आन्दोलनका क्रममा कांग्रेसका केन्द्रीय कार्यालय र ४८ जिल्ला कार्यालयमा आगजनी भएको थियो। आगजनीले कार्यालयमा रहेको ६५ लाख खर्चेर बनाएको १५ हजार पुस्तकसहित पुस्तकालय, दस्ताबेज, डिजिटल सामग्री, फर्निचर लगायतमा क्षति पुगेको थियो। केही दस्ताबेज र क्रियाशील सदस्यताको सूचीजस्ता डेटा भने बचेको थियो।
कांग्रेसले अहिलेसम्म केन्द्रीय कार्यालयको भुइँतलाको एउटा कोठाका झ्यालढोका मर्मत गरेको अवस्था छ। त्यही कोठामा असोज २८ गतेदेखि मंसिर १५ गतेसम्म केन्द्रीय समिति बैठक चलेको थियो।
आगजनीबाट केन्द्रीय कार्यालयमा करिब १० करोड रुपैयाँको क्षति पुगेको कांग्रेसको भनाइ छ। इन्जिनियरहरूको टोलीले सानेपास्थित कार्यालय अध्ययन गरेका थिए। त्यसक्रममा पिलर र बिम आगोले क्षति नपुगेको पाइएको थियो।
क्षति अध्ययन गरेका नेता रञ्जित कर्णका अनुसार जेनजी आन्दोलनका क्रममा आगजनीबाट केन्द्रीय कार्यालयमा १० करोड क्षति भएको पाइएको थियो।
‘आगजनीबाट १० करोड रुपैयाँ बराबरको क्षति भएको अध्ययनबाट देखिएको थियो,’ उनले भने, ‘मर्मत गर्न पनि १० करोड रुपैयाँ हाराहारी नै खर्च लाग्छ होला।’
कांग्रेसले पार्टी केन्द्रीय कार्यालय भवन पुननिर्माणका गर्ने तयारी गरेको हो। त्यसका लागि प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, गाउँ/नगर, वडा र क्रियाशील सदस्य तथा २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा पार्टीबाट टिकट लिएर जितेका जनप्रतिनिधिहरूको एक महिनाको पारिश्रमिकसमेत मागेको छ।
कांग्रेसले आर्थिक सहयोग गरेका सबै कार्यकर्ताको अभिलेख राख्ने र सार्वजनिक गर्ने भनेको छ। साथै आर्थिक सहयोग संकलन अभियान चलाउन प्रत्येक तहमा ५ सदस्यीय समितिसमेत गठन गर्न सकिने कांग्रेसले जनाएको छ।
कसको भागमा कति रकम?
- प्रदेश कार्यसमिति- ५ लाख रुपैयाँका दरले।
- एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र मात्रै भएका जिल्लाबाट ३० हजार रूपैयाँका दरले।
- एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट ५० हजार रुपैयाँका दरले।
- प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिबाट ३० हजार रुपैयाँका दरले।
- प्रदेश सभा क्षेत्रीय कार्यसमितिबाट २० हजार रुपैयाँका दरले।
- महानगरबाट २० हजार रुपैयाँका दरले।
- उपमहानगर कार्यसमितिबाट १५ हजार रुपैयाँका दरले।
- नगरपालिका कार्यसमितिबाट १० हजार रुपैयाँका दरले।
- गाउँपालिका कार्यसमितिबाट ५ हजार रुपैयाँका दरले।
- वडा कार्यसमितिबाट २ हजार रुपैयाँका दरले।
साथै कांग्रेसले महाधिवेशन प्रतिनिधिहरू, क्रियाशील सदस्यहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुख र वडाध्यक्षलगायत जनप्रतिनिधिबाट पनि आर्थिक सहयोग उपलब्ध गराउन भनेको छ।
- केन्द्रीय महाधिवेशन प्रतिनिधिबाट ३ हजार रुपैयाँका दरले।
- प्रदेश महाधिवेशन प्रतिनिधिबाट एक हजार रुपैयाँका दरले।
- क्रियाशील सदस्यबाट १५० रुपैयाँका दरले।
- पार्टीबाट टिकट लिएर स्थानीय तहमा जितेकाहरूले एक महिनाको पारिश्रमिक।