नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई पक्राउ गर्न आउने हो भने हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन्।
केन्द्रीय समिति बैठकमा मंगलबार बोल्दै थापाले सरकारमाथि प्रश्न गरेकै आधारमा पक्राउ गर्ने वा तर्साउने प्रयास स्वीकार्य नहुने बताए।
‘साथीहरूले पक्राउ गर्ला भन्नुहुन्छ, मैले ती साथीहरूलाई भनेको छु- खाली हात चाहिँ नआउनू, हतकडी लिएर आउनू। खाली हात चाहिँ जान्नँ, यत्ति कुरा हो,’ सभापति थापाले भने।
थापाले कांग्रेस कुनै पनि अनुसन्धानको विपक्षमा नरहेको उनले स्पष्ट पारे। आफ्नो वा अरू कसैको विषयमा अनुसन्धान गर्नुपर्ने भए कानुनअनुसार हुनुपर्ने उनले बताए तर राज्यका संयन्त्र दुरूपयोग भएको अवस्थामा कांग्रेसले प्रश्न उठाउने र जबाफ खोज्ने उनले बताए।
‘कांग्रेस कुनै पनि अनुसन्धानमा अवरोध गर्दैन। मेरो होला, अरूको होला, जोसुकैको होला। कानुनले जहाँ अनुसन्धान गर्नुपर्छ भन्छ, त्यहाँ अनुसन्धान हुन्छ तर राज्यका संयन्त्र दुरूपयोग भएका ठाउँमा हाम्रो प्रश्न रहन्छ, हामी जबाफ खोज्छौँ,’ उनले भने।
राज्यका संयन्त्रलाई निजी कम्पनीजस्तो सञ्चालन गर्न खोजिए कांग्रेसले त्यसको विरोध गर्ने उनले बताए।
सत्य, न्याय र कर्मको पक्षमा कांग्रेस उभिने भन्दै उनले सरकारलाई सरकारजस्तो र प्रतिपक्षलाई प्रतिपक्षजस्तो भएर चल्न सुझाव दिए। सरकारका राम्रा काममा कांग्रेसको सहयोग रहने पनि उनले स्पष्ट पारे।
सरकारको आलोचना गर्दा अप्ठ्यारो पर्न सक्ने भन्दै कतिपय नेताले चिन्ता व्यक्त गर्ने गरेको उल्लेख गर्दै सभापति थापाले विगतका राजनीतिक घटनाक्रम स्मरण गरेका थिए। राजाको शासनकालमा पनि प्रश्न उठाएकै कारण आफूले राजद्रोहको मुद्दा खेप्नुपरेको उनले बताए।
माओवादी द्वन्द्वकालमा लमजुङमा आयोजित कार्यक्रममा पनि आफूले तत्कालीन वाइसीएललाई प्रश्न गरेको उनले स्मरण गरे। त्यसबेला वाइसिएलले राप्रपा नेतामाथि बीच सडकमा कुटपिट प्रयास गरेका थिए। पछि केपी शर्मा ओली शक्तिशाली भएका बेला पनि आफूले प्रश्न उठाउँदै आएको उनको भनाइ थियो।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत तर्साउने र अलमल्याउने प्रयास भइरहेको भन्दै उनले आफू त्यसबाट विचलित नहुने बताए।
सभापति बनेपछि आफूले पाँच पटक नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेको जानकारी दिँदै उनले प्रदेश सरकार र मधेस प्रदेशको राजनीतिक अवस्थाबारे छलफल गरेको बताए।
मधेसमा दलहरूबीच सहकार्यको सम्भावनाबारे छलफल गर्न प्रचण्ड, केपी शर्मा ओली र उपेन्द्र यादवसँग समेत भेटवार्ता गरेको उनले जानकारी दिए।