सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप तथा प्रविधि र विस्तारित भूमिकालाई सम्बोधन गर्ने गरी ऐन निर्माण गर्न लागिएको बताएका छन्।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा चलचित्र विधेयक माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।
चलचित्रलाई मनोरञ्जनको साधनको रूपमा मात्र नभई कला, संस्कृति, भाषा प्रवर्द्धनका साथै आर्थिक विकासमा योगदान पुर्याउने उद्योगको रूपमा विकास गर्नुपर्नेमा उनको जोड छ।
मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रसँग सम्बन्धित संस्थाहरूको अवस्था बेहाल रहेको उल्लेख गर्दै संस्थागत सुधार र नेतृत्वको क्षमता विकासमा दिए।
उनले चलचित्रको क्षेत्रको विकासका लागि संस्थाको अध्यक्ष क्षमातावान हुनुपर्नेमा जोड दिँदै उनले सोहीअनुसार योग्यता तय गरिनुपर्ने समेत बताए।
चलचित्र क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच अधिकार र जिम्मेवारीको स्पष्ट बाँडफाँट हुनुपर्ने उनको भनाइ छ।
संघीयताअनुसार अधिकार बाँडफाँट गरेर मात्र प्रभावकारी काम हुन नसक्ने भन्दै उनले तीन तहको सरकार एकअर्काका परिपूरक हुनेगरी ऐन निर्माण गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘मैले सरकारको प्रतिनिधिको रूपमा आजसम्म आएर यहाँ हेर्दाखेरी सबै संस्थाहरू बेहाल अवस्थामा छन्। कुनै पनि संस्थाहरूमा इम्पावरमेन्ट नै छैन। संस्था प्रमुखहरुमा समेत क्यापेसिटी नै छैन। त्यसकारण संस्था मरेको हो कि बाँचेको हो जस्तो भएको छ। अब त्यो संस्थाको प्रमुखलाई चाहिँ कस्तो बनाउने भन्ने कुरा तपाईंहरूको हातमा आइपुगेको छ। यो अध्यक्षको योग्यताको विषयमा। अर्को, प्रदेश सरकारले चलचित्रसँग सम्बन्धित कति कुरा गर्न मिल्छ वा ऐनमा समावेश गर्न मिल्छ भन्ने कुरा एउटा कुरा भयो। हामीले चलचित्र सम्बन्धी काम गर्न प्रदेशलाई बन्देज गर्न मिल्छ कि मिल्दनै होला? प्रदेशले कति काम गर्ने भन्ने कुरामा प्रदेशले आफ्नै कानून बनाउने भन्ने कुरा पनि हो कि।’
उनले अगाडि भने, ‘संघको कानूनसँग नबाझिनेगरी कानून बनाउन पाओस्। हामीले प्रदेशको अधिकारमा अंकुश लगाउनु भएन। तर हामी संघीय व्यवस्थामा छौँ, केही न केही अधिकार त तल्लो तहमा दिनैपर्यो भनेर कानून बनाउन थाल्यौँ भने ठूलो दुर्घटनामा पर्नसक्छौँ। एकअर्काको परिपूरक हुनेगरी अधिकार बाँडफाँड गर्यौं भने यो प्रभावकारी हुँदो रहेछ। नत्र हुँदैन। हामीले समग्रमा गर्न खोजेको के हो भने देशको चलचित्र क्षेत्रको विकास गर्न खोजेको हो। यसमा संघ, प्रदेश र स्थानीय तीन तहको सरकारले योगदान गर्नुपर्यो।’
उनले संघीयताको मर्मअनुसार तल्लो तहमा समेत अधिकार दिनैपर्छ भनेर कानून निर्माण गर्न थालियो भने देश ठूलो दुर्घटनामा पर्ने उनको तर्क छ। –न्युज एजेन्सी नेपाल