नेकपा एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार विष्णु रिमाल पछि परेका छन्।
बिहीबार साढे १२ बजेसम्मको अपडेट अनुसार उनी चौथो स्थानमा छन्। एमालेमा ३ जना उपमहासचिव रहने व्यवस्था छ।
अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट रिमाल उपमहासचिव लडेका थिए। उनले ११३९ मत गणना गर्दा अहिलेसम्म ५४० मत पाएका छन्। रिमाल ओलीको विश्वासपात्र हुन्।
ओलीकै प्यानलबाट उठेका लेखराज भट्ट उपमहासचिव हुने देखिएका छन्। दोस्रोमा योगेश भट्टराई छन्। भट्टराई ईश्वर पोखरेल पक्षबाट उम्मेदवार भएका हुन्। उनले ७०९ मत प्राप्त गरेका छन्।
तेस्रोमा भने रघुवीर महासेठ छन्। उनले ६८९ मत प्राप्त गरेका हुन्। उनी पनि ओली पक्षकै हुन्।
ओलीले यसअघि भट्टलाई सचिव पदमा उम्मेदवार बनाउन खोजेका थिए। तर उनले मानेनन् र उपमहासचिव पदमा उम्मेदवार बने।
उपमहासचिव उम्मेदवार बनाउने तयारी गरिएका भानुभक्त ढाकललाई पछि सचिव पदमा उम्मदेवार बनाइएको थियो।