पार्टीभित्रको मोर्चामा सधैंजसो सफल तर संसदीय मोर्चामा विफल रहँदै आएका गुरूप्रसाद बराल यसपटक भने पार्टीकै चुनाव जित्न विफल बनेका छन्।
विराटनगरका बराल यसपटक उपाध्यक्ष पदमा पराजित भएका छन्।
२०८१ साउनमा मनोनित बनेर उपाध्यक्ष बनेका बराल ११औं महाधिवेशनबाट सोही पदमा निर्वाचित हुने दौडमा थिए। अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवार बनेर पराजित हुने थोरै पदाधिकारी उम्मेदवारमध्ये उनी पनि एक जना हुन्।
पाँच जना उपाध्यक्ष चुनिने एमालेमा बराल ११३७ मत पाएर छैठौं भए। पाँचौं नम्बरमा परेर उपाध्यक्ष जितेका रघुजी पन्तले १२५८ मत पाउँदा गुरू बराल उनीभन्दा १२१ मतले पछि परे।
११औं महाधिवेशनको चुनाव अघिसम्म पार्टीभित्रको मोर्चामा सफलतै सफलताले घेरिएका बरालको संसदीय मोर्चातर्फको 'पफर्मेन्स’ भने कहिल्यै फलदायी साबित भएन। जनताबाट चुनिन पटक पटक विफल भएकै कारण लामो समयदेखि पार्टीको सत्ताशक्ति नजिक भएर पनि शक्तिहीन' झैं बनिसकेका पात्र थिए बराल।
अध्यक्ष केपी शर्मा ओलीका पुराना समर्थक उनी ओलीका विश्वासपात्र हुन्। यद्यपि उनलाई शक्तिमा फर्काउन ओलीसँगको निकटताले मात्र सघाएन।
कुनै बेला तत्कालीन कोशी अञ्चलमा एमालेभित्रका सबभन्दा शक्तिशाली मानिने नेता बरालको शक्ति पचासको दशकको मध्यदेखि बिस्तारै खोसिँदै गएको थियो। २०५६ को आमनिर्वाचनमा पराजित भए पनि उनले संसदीय र संविधानसभा चुनावदेखि राष्ट्रियसभा निर्वाचनसम्म सधैंजसो टिकट पाइरहे तर चुनाव भने हारिरहे।
यसरी निरन्तर संसदीय मोर्चामा विफलता सहेर शक्तिहीन बनेका नेता बराल २०८१ साउनयता पार्टी सत्ताको उपल्लो तहमा उक्लिएका थिए। ओलीले उपाध्यक्षमा पदमा मनोनयन गरेसँगै पुराना नेता बराल पार्टी सत्तामा शीर्ष पदसहितको जिम्मेवारीमा पुर्याइएका थिए।
सुवास नेम्वाङको निधनपछि रिक्त रहेको पदमा स्थापित बनेका बराललाई ११औं महाधिवेशनका प्रतिनिधिले भने विश्वास जनाएनन्।
ओली पार्टीमा शक्तिशाली अध्यक्ष बनेयताका धेरैजसो समयमा पूर्वमा बरालबारे धेरैथरी चर्चा चले। २०७९ मंसिर ४ को निर्वाचनताका उनी प्रदेशमा चुनाव उठ्ने र भावी मुख्यमन्त्रीका रूपमा 'प्रोजेक्ट' गरिने चर्चा चल्यो। तर उनले प्रदेशमा टिकट पाएनन्। पछि हिक्मत कार्की मुख्यमन्त्री बने।
राष्ट्रपति निर्वाचनअघि पनि उनको नाममा चर्चा चलेकै थियो। अध्यक्ष ओलीका निकट मानिने बराललाई ओलीले राष्ट्रपतिको उम्मेदवार बनाउँदै छन् भन्ने हल्लाले विराटनगरको एमाले वृत्त त्यस बेला गर्माएको थियो। तर सुवास नेम्वाङ उम्मेदवार बनेर रामचन्द्र पौडेलसँग पराजित बनेका थिए। पछि नेम्वाङकै अनुपस्थितिले रिक्त पदमा बरालले अवसर पाएका थिए।
मोरङको इटहरा मूल घर भएका र पछिल्लो समय विराटनगरका स्थायी बासिन्दा बराल एमालेका पुरानामध्ये एक नेता हुन्। पार्टी भूमिगत अवस्थामा छँदै २०४४ सालमा नेकपा माले मोरङको सचिव भएका उनी त्यसपछि लगातारजसो पार्टीको कुनै न कुनै जिम्मेवारीमा छन्।
२०४६ सालको जनआन्दोलनपछि बराल पुनः मोरङको सचिव बने। २०५० सम्म एमाले मोरङको सचिव रहेका उनी २०४९ मा सम्पन्न एमालेको पाँचौं महाधिवेशनबाट पहिलो पटक केन्द्रीय सदस्य बनेका थिए।
२०४९ माघ १४ देखि २० गतेसम्म काठमाडौंमा सम्पन्न उक्त महाधिवेशनले मोरङका बराललाई केन्द्रीय कमिटीमा चुनेको थियो। छैठौं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्य बनेका थिए। २०५४ माघ १२ देखि १८ सम्म नेपालगन्जमा भएको महाधिवेशनबाट उनी केन्द्रीय सदस्य दोहोरिएका थिए।
जनकपुरमा २०५९ माघ १८–२२ सम्म सम्पन्न सातौं महाधिवेशनमा भने बराल सुनसरीका एमाले नेता भीम आचार्यसँग पराजित हुन पुगे।
तत्कालीन महासचिव माधव नेपालको जगजगी चलेका बेला ओली पक्षका बराल केन्द्रीय सदस्य बन्न सकेनन्। महाधिवेशनपछि ओलीले महासचिव नेपालसँग 'कलेक्टिभ बार्गेनिङ' गरे। परिणाम स्वरुप केन्द्रीय कमिटीमा ओली पक्षका तर्फबाट बराल पनि मनोनयनमा परे।
भीम आचार्यसँग सातौं महाधिवेशनमा हारेका बरालले आठौं महाधिवेशनमा त्यसको बदला लिए। २०६५ फागुन ५ देखि १४ सम्म बुटवलमा सम्पन्न महाधिवेशनमा बरालले जिते, आचार्य पराजित बने। २०७१ असार १९ देखि साउन १ सम्म काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनमा आचार्यले सचिवमा जिते।
२०७८ मंसिर १० देखि १४ सम्म चितवनको सौराहामा सम्पन्न दसौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदै स्थायी कमिटी सदस्यमा चुनिए।
यसरी उनको 'ट्रयाक रेकर्ड' ले नै देखाउँछ, बराल पार्टीभित्रको मोर्चामा प्रायः सधैं शक्तिमै रहे। संगठनात्मक जिम्मेवारीमा कुनै बेला जुन पदमा पराजित बने, त्यही पदमा मनोनित भएको इतिहाससमेत उनको नाममा देखिन्छ। यसले पनि आन्तरिक मोर्चामा उनी सधैं सफल बनेको देखाउँछ। यो सफलतामा यसपटक भने ब्रेक लागेको छ।
ओली सधैं दाहिना हुँदा पार्टीभित्र सफलता पाउन सजिलो बाटो हिँडेका बरालका लागि जनतामाझ दिइने चुनावी परीक्षा भने सधैंजसो असहज नै रह्यो। पछिल्ला २८ वर्षमा बरालले पाँच पटक चुनावको टिकट पाए। तीमध्ये एउटा चुनाव जितेका उनी अरू चार पटक भने पराजित हुन बाध्य भए।
कृषि र प्राविधिक विषयमा विशेष रुचि भएका नेता बराल विराटनगरमा एक रोचक पात्रका रूपमा चर्चित छन्। हरेक विषयलाई 'मार्क्सवादी दृष्टि' बाट व्याख्या गर्ने उनलाई परम्परागत वामपन्थी मान्नेहरू विराटनगरमा धेरै छन्।