श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले देश विकासको लागि श्रम संस्कृतिको विकास गर्नुपर्ने बताएका छन्।
विदेशबाट ऋण ल्याएर देशको विकास हुन नसक्ने भन्दै उनले कम्तीमा हप्ताको एकदिन श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए।
श्रम संस्कृति पार्टी रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक साम्पाङले भने, ‘विदेशबाट ऋण लिएर देश बन्दैन देशको विकासको लागि हप्तामा एकदिन श्रम गर्ने बानीको विकास गरौं, बाँकी ६ दिन आफ्नो लागि गरौँ, अनि मात्रै देशको विकास हुन्छ।’
साम्पाङले चीन जापान कोरिया श्रमबाट नै समृद्ध बनेको उल्लेख गर्दै देश समृद्ध बनाउन सबैले काम गर्नुपर्ने बताए।
एक जनाको कमाइले घर परिवार र देश कसैको विकास नहुने भन्दै गफ होइन काम गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए।
श्रमको सम्मान गर्दै देशको विकास गर्न भनेर नै श्रम संस्कृति पार्टीको स्थापना गरिएको बताए।
आफू धरान उपमहानगरपालिकाको प्रमुख भएदेखि साढे तीन वर्षको अवधिमा कुनै पनि अनियमितता नगरेको दाबी गर्दै ५ वर्षपछि मेयरबाट बाहिरिँदा पनि एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणति भए देश छाडेर शरणार्थी हुने बताए।